समाचार

प्याज प्रतिकेजी २०० पुग्याे, किन्नै छाडे उपभाेक्ताले

दमक/ स्थानीय बजारमा प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० देखि दुई सय रुपैयाँ पुगेको छ।
झापामा आइतबारसम्म १ सय ५० रुपैयाँ प्रति केजी पाइने प्याजको भाउ बढेर १ सय ९० पुगेको छ । यस प्रकारले बजारमा प्याजको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्।
काठमाडौंस्थिति कालीमाटी फलफूल तथा तरकारी बजारमै अहिले प्याजको होलसेल मूल्य एक सय ७० रुपैयाँ छ। भने खुद्रा मूल्य दुई सयसम्म पुग्नु सामान्य हो। जसले गर्दा उपभोक्ताको भान्छामा प्याज पुग्न सकेको छैन । कालीमाटी फलफूल तथा तरकारी बजारका व्यावसायी केशव श्रेष्ठले भारतबाट सामानहरू ल्याउनमा रोक लागेपछि प्याजको भाउ बढेको बताए । ‘भारतबाट नेपालमा प्याज नै आउन सकेको छैन,’ उनले भने,‘प्याज धेरै आयो भने मूल्य घट्छ। आएन भने बढ्छ। नेपालको प्याज छैन। सबै बाहिरबाट ल्याउनुपर्छ। उनका अनुसार चाइनिज प्याज ठूलो क्वालिटी गरी एक सय ७० देखि एक सय ४० रुपैयाँसम्ममा बेच्दै आएका छन् । इण्डियन प्याज एक सय ७० देखि एक सय ७५ रुपैयाँ सम्ममा बेच्दै आएका छन्। कालीमाटी बजारमा नेपालको प्याज चैत र वैशाख महिनामा मात्रै आउने गरेको उनले बताए । उनले भारतबाट प्याज निर्यात हुन नसके अझै मूल्य बढ्न सक्ने बताए । उक्त बजारका अर्का व्यावशायी विमल बस्नेतका अनु्सार इण्डियन प्याज धेरै बिक्री वितरण हुन सकेको छैन।
अहिले चाइनिज प्याजको मात्रै बढी माग भइरहेको छ। न्यूनस्तरका व्यक्तिहरूले प्याज लानै छोडेको समेत उनले बताए। नेपालमा धेरै प्याजको उत्पादन गरे मात्रै यसको समस्या हट्ने उनको भनाइ छ।
किन्नै छाडे प्याज
प्याजको भाउ महँगिएर उपभोक्ता मारमा परेसँगै प्याज खरिद गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन्। इच्छुमती सामुदायिक कृषि बजार, टुकुचाका व्यवसायी उर्मिला पाण्डेले राज्यले अनुगमन वा कूटनीतिक पहल गरे मात्रै प्याजको भाउ घट्न सक्ने बताइन्। उनले भनिन्,‘भारतबाट नेपालमा प्याज भित्रिन नसक्दा यसको मूल्य वृद्धि भएको छ। प्याजको मूल्य बढेपछि उपभोक्ताले किन्नै छोडेका छन्। बढी उपभोक्ता मारमा पर्दे गएकाले राज्यले पहल गरेर यसको भाउ घटाउनुपर्छ ।’

Author

You may also like