मुख्य

उपभोग्य सामानकाे मूल्य आकाशियो

दमक/ नेपालको बजारमा अहिले खाद्यान्नका बस्तुका साथै खाने तेलको मूल्यमा समेत वृद्धि भएपछि उपभोक्ता मर्कामा परेका छन्  । तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपालमा पनि यसको असर परेको हो  । झापा, मोरङ, सुनसरी मात्र होइन, देशभरिनै यस्तो अवस्था आएको हो । रुस र युक्रेनबिचको युद्धका कारण कारण त्यसको असर अन्तर्राष्ट्रिय बजारमा बढ्दा उपभोक्ता मर्कामा परेका हुन् ।
युक्रेनमा भइरहेको युद्धकै कारण केही दिनअघि देखि मात्र सवारी साधन संचालनका लागि चाहिने पेट्रोल र डिजेलको मूल्यमा समेत भारी मात्रामा बढोत्तरी भइसकेको छ  । यो अवस्थामा यातायातको भाडा दर मात्र बढेको छैन । आम्दानी नबढ्ने तर दैनिक चाहिने उपभोग्य बस्तुहरुको मूल्य बढ्दा उपभोक्ताको क्रय शक्ति अनुरुप नभएकाले उनीहरु निराश बनेको पाइएको छ ।
रूस र युक्रेनबीचको युद्धले नेपालमा खाने तेलको मूल्य बढेको हो । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा एक्कासी बढेको हो । अन्तरर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेकाले तेल उद्योगीले मूल्य बढाएका हुन् । झापाको दमक नगरपालिका–७ स्थित पशुहाट नजिकको विष्णु होलसेल तथा खुद्रा किराना पसलका संचालक विष्णु साहले खानेतेलको मूल्य बढेको कुरामा सत्यता रहेको प्रष्ट पारे । उनले हाल घैला छाप तोरीको तेलमा प्रति लिटर पहिले २९० रुपैयाँ रहेकोमा हाल बढेर ३१० रुपैयाँ बढेको बताए । सोयाविन तेल पहिले २३० रहेकोमा हाल २६० देखि २७० रुपैयाँ सम्ममा विक्री भइरहेको जानकारी गराए । तर पाम र रिफाइन तेलमा भने पहिले २२० देखि २३० रहेकोमा हाल प्रति लिटर ४० रुपैयाँ बढेर २६० देखि २७० रुपैयाँ सम्म मूल्य वृद्धि भएको व्यापारी साहले बताए ।
उनका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आउन छोडेकाले तेल अभावका कारण मूल्य बढेको बताए । अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकाले मूल्य बढेको हो । मूल्य बढे पनि सरकारी निकायले मूल्य नियन्त्रण गर्ने कुरामा खासै चासो देखाएको पाइएको छैन । रूसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवृद्धि भइसकेको थियो  । किराना व्यापारी साहले भने अहिले तीन दिनअघि देखि गहुँको आँटा र मैदामा प्रति किलो ५ रुपैयाँ मूल्य बढेको जानकारी गराएका छन्  । आँटा प्रति किलो ४८ देखि ५० बाट बढेर ५५ र मैदा ५२ देखि ५५ बाट बढेर ५७ देखि ५९ रुपैयाँ सम्म पुगेको साहले प्रकाश पारे । तर आँटा र मैदाको भाउ भने गहँु उत्पादनको सिजन आएपछि सामान्य अवस्थामा आउने उनले बताए । उता मन्सुली, जिरा र मोटा चामलको भाउ नबढेको तर लङ ग्रेडको चामलमा भने किलोमा ५ रुपैयाँ भाउ बढेको उनको भनाई छ । दालको भाउ केही बढेको तर चना र मटरको भाउ भने नबढेको पाइएको छ ।
यतिबेला दमकमा रहेका कतिपय प्याकेजिङ र खाद्य उद्योगहरु बन्द भएको र त्यसपछाडिको कारण भनेको व्यापार नबढेको भएको व्यापारीहरुको भनाई छ । यो मूल्य अझै बढ्दै जाने संभावना रहेको पनि व्यापारीहरुको अनुमान छ । रूसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको कतिपय उपभोक्ताको आरोप छ । नेपालले युक्रेन, रूस र अर्जेन्टिनाबाट कच्चा तेल आयात  गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ । यस्तै रूसबाट २ अर्ब ५८ करोड ७५ लाख र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

Author

You may also like