नेपालको भूराजनीति र अर्थतन्त्र अहिले एउटै नदीको दुईटा कहिल्यै पनि नमिल्ने पाटो झैँ हुन हुन खोजेको जस्तो देखिँदैछ। फरक फरक विचारधारा र एक अर्काको विपरीत ूुवमा उभिएको देशको राजनीतिले उकालो लाग्न त के कुरा ओरालो नै झर्न थालेको छाटकाट देखाउन थालेको अवस्थामा देशको अर्थतन्त्र जहिले पनि छल छाम तन्त्रको पैताला मुनि पर्न सक्ने खतरा र चुनौती हरू दिनप्रतिदिन बढ्दै गई रहेको छ। साउन महिनामा अन्धो भएको गोरुले चारैतिर हरियो घाँस नै उम्रि रहेको देखे झैँ राजनीतिक दलहरूले सत्ता र स्वार्थ मात्र देखेको हुनाले देशका सत्ताधारी दलहरूले देशलाई कहिले समृद्ध नेपाल त कहिले युरोप र सिङ्गापुर बनाइदिने सपना देखाउँदा देखाउँदै आफै राजनीतिको चक्रव्यूह भित्र फस्ने र देश जहिले पनि धरापमा पर्दै जाने खतरा बढ्दै गइरहेको छ।
नेपालमा प्रशस्त अन्न बाली उत्पादन हुन सक्ने भूमि ,नदीनाला र वनजङ्गल लगायत देशभित्र तेल खानी, पेटूोल खानी, सुन खानी, कोईला खानी लगायतका खनिज पदार्थहरूको कहिले पनि नसिद्धिने भण्डार हुन सक्ने प्रशस्त सम्भावना रहेको छ, र त्यसबाट पूर्वाधार निर्माण र विकास संरचनाहरू तयार गरी देशको रूपान्तरण गर्नुको साथै देशलाई विकसित देशको श्रेणीमा उभ्याउनु सजिलै छ । तर देशले पहिला पहिलाको भन्दा अहिले झन् जटिल र चुनौती पूर्ण अवस्था व्यहोर्नु परिरहेको छ । छिटोछिटो सरकार बन्ने र छिटोछिटो नै सरकार ढल्ने जस्ता उदाहरणहरू नेपालमा मात्र हामीले पाइरहेको अवस्थामा मुटुमाथि ढुङ्ग्रो राखेर बस्ने स्थिति निर्माण भई रहेको छ। देशमा फागु पूर्णिमा सँगै आउन आउन लागेको चुनावी तयारीमा राजनीतिक दल हरू खुल्ला रूपमा होमिसकेको अवस्था नभए पनि त्यसको लागि पूर्व तयारी सम्बन्धी सबै खाले अभ्यासहरु प्रारम्भ भइसकेको जस्तो छ।
भेडा भेडा एक ठाउँ बाख्रा बाख्रा एक ठाउँ गरेर राजनीतिक दलहरूले गठबन्धनहरू बनाएर चुनावमा जाने र चुनाव जित्ने सपना जनतालाई देखाउनुको पछाडि दलहरूबीच धेरै राजनीतिक चेत र समझदारी आइसकेको छ कि जस्तो आभास हुन थालेको छ। कुनै पनि देशमा देशका असल राजनीतिक शक्तिहरूले देशको भलो गर्ने असल विचारहरूको प्रतिपादन गरेको हुनुपर्दछ। देशको भलाई र देशको विकासलाई सर्वोपरि ठानेर दलका नेता तथा कार्यकर्ताहरूले आफ्नो आफ्नो पहिचान लाई जनताको अगाडि निष्पक्ष रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ। देशको बदलिँदो घटना क्रमले देशमा बाङ्गलादेशमा भएको सत्ता परिवर्तन को आँधी बेरी र विद्रोहलाई पछ्याउँदै जेनजी विद्रोही युवा समूहहरूले बहालमा रहेका सरकारलाई पदबाट हट्न र संसदलाई भङ्ग गर्न समेत बाध्य पार्न लगाएको थियो। सिंहदरबार जल्दा देशको मुटु मानिने अर्थतन्त्र धुरुधुरु रोएको देखियो। ५८४ मिलियन डलर भन्दा बढी सम्पत्तिको आर्थिक नोक्सानी देशले व्यहोर्नु पर्यो। देशको पर्यटन विकासका सम्भाव्यता हरु र पर्यटकहरूको आगमन अपेक्षाहरू पनि समाप्त भएर गयो। रेमिट्यान्सबाट चल्ने नेपालको आर्थिक प्रणालीमाथि नै ठूलो बज्रपात भए जस्तो जनताले अनुभव गरे। सेना प्रहरी लगायत सरकारका सम्पूर्ण सुरक्षातन्त्र को विश्वसनीयतामाथि ठूलो सवालहरू खडा हुन थाल्यो।
सरकारको प्रशासन संयन्त्र मुकदर्शक मात्र भइदिँदा देशले ठूलो बर्बादी व्यहोर्नु पर्यो। देशको राजनीतिक स्थिरतामाथि गहिरो सवाल उठाउन थालियो ।सत्ता र कुर्सीको तिकडमबाजी खेलमा नेपाल सरकारले हासिल गरेको विश्वसनीयता र अन्तर्राष्टिूय उपलब्धिहरू पनि समाप्त भयो। यस्ता अविश्वसनीय र अपत्यारिलो विध्वंशको पिछाडी कसैले डिप स्टेटलाई भने, भने कसैले चिन,त कसैले भारत, कसैले अमेरिका र कसैले आन्तरिक राजनीतिका कुराहरु लाई प्रमुखताका साथ दोष देखाउँदै अगाडि सारे। यस्ता खाले पङ्गु राजनीतिक विचार र व्यवहारले न त हिजो का दिनमा देशलाई उभो लाग्न दियो,न त आज नै देशलाई उभो लाग्न सक्ने वातावरण बनाउन सकेको छ, र न त भोलिका दिनहरुमा नै यसले देशको राम्रो भविष्यको बारेमा केही अनुमान, अड्कल र भविष्यवाणी गर्न सक्छ। भ्रष्टाचारमा चुर्लुम्म डुबेका हिजो अस्तिका राजनीतिक शक्तिहरू अहिले पनि उफ्रिदै छन्।
फाट्टफुट्ट रूपमा भ्रष्टाचारको आरोप खेपिरहेका राजनीतिक दलका ठुलाबडा नेता र कार्यकर्ताहरू समेत आआफ्नो पाराले चुनाव जित्ने आफ्नो दाबी भने छाडेका छैनन्। सिङ्गै दलले सरकार बनाउन नसक्ने अवस्थामा दुईटा दल मिल्ने, दुईटा दलले पनि सरकार बनाउने अवस्था नहुँदा तीनटा दल मिल्ने, अथवा तीनटै पार्टी र तिनटै दलले पनि सरकार बनाउने र बहुमत ल्याउन नसकेमा अरु पनि दलहरुलाई सरकारमा सामेल गराएर देशको राजनीतिलाई भविष्य उन्मुख बनाउने भन्ने जस्ता सोचहरू पनि देशलाई आउने दिनहरूमा काम नलाग्ला कि भन्ने सम्भावनाहरू पनि बढ्दैछ। देशका सबै कम्युनिस्टहरू एक ठाउँमा जुट्नुपर्छ। देशका सबै गैर कम्युनिस्टहरु एक ढिक्का हुनुपर्दछ भन्ने जस्ता परम्परावादी सोच र अवैज्ञानिक विचारहरूले राजनीतिको नयाँ नयाँ मुकुण्डोहरू लगाएर जनतामाझ जान खोज्दा पनि जनतालाई सबै कुरो दिन सक्ने त के कुरो जनतालाई न्यूनतम रुपमा शान्तिपूर्वक बाँच्ने र चाहिने कुराहरू पनि दुर्लभ होला कि जस्तो अनुमान अहिलेदेखि नै हुन थालेको छ। अहिले जेन जी विद्रोह पछि सन २०२५ पछिको नेपाली मतदाता वर्गहरू धेरै नै स्पष्टवादी र बुझक्कड बनिसकेको हुनुपर्दछ। सेना र प्रहरीहरूले सडकमा गएका आन्दोलनकारीहरू माथि भुटुटु भुटुटु गोली वर्षाएको र दर्जनौंभन्दा बढी जेनजी युवाहरूलाई अनाहकमा ज्यान लिएको कुराहरु सोच्दा देशमा कानुनी राज्यको सर्वोच्चता कहिले आउला भन्ने कुरामा जनता निरन्तर ससंकित हुँदै गइरहेका छन्। देशको अर्थतन्त्र न त पूर्णरूपमा बामपन्थ तन्त्रमा रूपान्तरण हुन सकेको छ, न त पुँजीपति तन्त्रमा नै रूपान्तरण हुन सकेको छ। प्रजा मोटो भए राजा बलिया हुन्छन भन्ने पृथ्वीनारायण शाहले दिएका उपदेशहरु पनि नेपाली धर्तीमा काम लागेन भन्ने कुरा जनतालाई चेत भइसकेको छ। देशको अर्थतन्त्र भारततिर फर्केको छ।तर विदेश नीति हावादारीको समदुरी सिद्धान्तमा आधारित छ।
विश्वमा जहां पनि विदेश नीति स्वार्थमा आधारित हुन्छ। समदुरी को सिद्धान्तमा आधारित विदेश नीति नेपालमा अझै प्रचलनमा रहेको देखिन्छ । तर यो नेपाल जस्तो भूपरिवेष्ठित वातावरणमा सम्भव देखिँदैन। निजीकरण, उदारीकरण, विश्वव्यापीकरण जस्ता आर्थिक नीतिहरुले संसारलाई समुन्नतिको नयाँ विकसित युगमा आउन आह्वान गरिरहेको छ। यस्तो अवस्थामा नेपालको विदेश नीति नेपाललाई नै घाडो नबनोस् भन्ने कुरामा जनताले चासो राख्नु जरुरी छ। भारत नेपालबीच भएको विद्युत सम्झौताबाट दुवै देशलाई लाभहरू आउन थालेको छ। नेपालबाट पनि विद्युत अभाव घट्दैछ। विद्युत आपूर्ति सन्तुलित हुँदैछ। भारत र बांगलादेशमा समेत नेपालले बिजुली बेच्न सफलता प्राप्त गरिरहेको अवस्था छ। ऊर्जाको क्षेत्रमा नेपाल आत्मनिर्भर बन्नु ठूलै सफलता मान्न सकिन्छ। नेपाल र भारत बीचको परस्पर निर्भरता बढ्दै नेपालमा पर्यटन क्षेत्रलाई पनि यसरी नै भारतीय आगन्तुक पर्यटकहरूको लागि पर्यटकहरू पुग्ने पहिलो गन्तव्य स्थलको रुपमा नेपाललाई विकसित गराउन सकिन्छ। सवा सय करोड भारतीय सनातन हिन्दु धर्मावलम्बीहरू नेपालको तीर्थस्थलहरूको एकचोटि मात्र पनि दर्शन अवलोकन र पर्यटन गर्दा नेपाललाई कायाकल्प हुने गरी आम्दानी गराउन सक्दछ त्यस कुरालाई विवेकशील भएर विचार गर्नु जरुरी छ ।
विश्वका ठूला आर्थिक र राजनीतिक संगठनहरुमा उदार मानवतावादी दृष्टिकोणहरू र समझदारीहरूको विकास हुन थालेको छ। यी कुराहरुबाट नेपालका राजनीतिक नेतृत्वहरूले देशलाई नयाँ उचाइमा पुर्याउने हौसला बनाउनु पर्दछ ।चीन र भारत नेपालको लागि महत्वपूर्ण र अति घनिष्ठ मित्र राष्टूको रूपमा रहेका छन्। तर नेपाललाई भारतबाट जति लाभ छ त्यति चीन बांगलादेश र पाकिस्तानबाट कुनै पनि हालतमा सम्भव छैन। देश हितलाई नेपालले विचारमा राखेर नै समदुरीको वैदेशिक सिद्धान्तलाई पुनर्मूल्यांकन गर्नु जरुरी छ। भारत र नेपालबीच हजारौं वर्षदेखिको सांस्कृतिक र आर्थिक सम्बन्धहरू निरन्तर रुपमा चल्दै आइरहेको छ। ती सम्बन्धहरुलाई घनिभूत रुपमा देशको स्थिरता, विकास र शान्तिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ठूलो मगज लगाउनु पर्ने आवश्यकता छ । देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सकेन भने देशको राजनीति पनि धर्मर हुन सक्ने प्रशस्त ठाउँहरू रहेको छ। तसर्थ देशभित्रको अन्योल र अस्थिरतालाई हटाउँदै देशभित्रका राजनीतिक शक्तिहरूलाई इमान्दारीपूर्वक समायोजन गर्नुपर्दछ। देशले अब आउने दिनहरूमा तोडफोड विध्वंस र बर्बादी होइन,सृजना शान्ति र समृद्धिको नेपाल हेर्न चाहेको छ। यस पालिको निर्वाचन सुनमा सुगन्ध छर्ने र माटोलाई सुनमा रुपान्तरण गर्न सक्ने खालको हुनुपर्दछ।