दमक/ मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाअनुसार अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । ‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने, ‘अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’
उनका अनुसार अहिलेसम्मको तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा कम फैलिएको छ । तर अबका चार महिना (असार, साउन, भदौं, असोज) डेंगु फैलिने अति जोखिम महिना हुन् ।
२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए ।
डेंगु नियन्त्रणमा ८० करोड खर्च, तर रणनीति कमजोर
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन रहेको बताउँछन् ।
उनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन स्थल हुन् ।
जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको उनी बताउँछन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको यो रोग अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ । सरुवा रोग विशेषज्ञ पुन पनि बढ्दो शहरीकरणलाई पनि डेंगु फैलनुको कारण मान्छन् ।

Author

You may also like