इरान र इजरायल बीच चलिरहेको युद्ध जतिजति लम्बिँदै छ सम्पूर्ण मध्यपूर्व पश्चिम एसिया लगायत विश्वका धेरैजसो भूभागमा युद्धले निम्त्याउन सक्ने संकटहरू घनिभूत रुपमा फैलिँदै गइरहेको छ। युद्धमा अमेरिका र हुतु विद्रोहीको इन्ट्री भएपछि युद्ध भयानक रूप लिँदै छन्। एकातिर युद्धको कालो विनाशकारी बादल मडारिदो छ भने अर्कोतिर सम्पूर्ण विश्वको अर्थव्यवस्थालाई नराम्रो तरिकाले झस्काउन थालिसकेको छ। युद्धको कारणले थेग्नै नसक्ने गरी ऊर्जा संकट र विश्वव्यापी आर्थिक संकटहरू उत्पन्न हुने परिस्थितिहरू निर्माण हुन लागेको छ। विश्वमा बढ्दै गई रहेको आर्थिक विकासको गतिलाई अगाडि बढाई रहनका लागि ऊर्जा एउटा अति नै महत्वपूर्ण तरल साधनको रूपमा कार्य गर्दछ। पेट्रोल, मट्टितेल, डिजल, खाना पकाउने ग्याँस,लगायतका प्रज्वलनशील इन्धनहरुको प्रयोग बाट विकाशशील र विकसित देशहरूमा भान्सा कोठा देखि देशका महत्वपुर्ण उत्पादन संयन्त्रहरू देखि हवाई यातायातको सञ्चालनको लागि समेत तरल ऊर्जा र इन्धनको ठूलो माग भै रहेको पाइन्छ। पश्चिमी एशियाबाट आयात गरिने विश्वको कुल प्रज्वलनशील ऊर्जा को ८० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थको आयात इरानको हरमुज स्ट्रेट अन्तर्राष्ट्रिय समुद्री मार्गबाट हुने गर्दछ। सम्पूर्ण खाडी मुलुकहरूले इरानकै बाटो हरमुज स्ट्रेट भएर जाने अन्तर्राष्ट्रिय मार्गको प्रयोग गरी पेट्रोलियम पदार्थहरू विश्वका अन्य अन्य देशहरूमा बिक्री गर्ने गर्दछन्।
इजरायल र इरान बीचको युद्धमा अमेरिकाले पनि इरान विरुद्ध ठूलाठूला बमवर्षक विमानहरूबाट विनाशकारी मिसाइल प्रहारहरू गर्न थालेपछि युद्ध अझ चड्किने र लम्बिने सम्भावना बढ्दै गइरहेको छ। इरान र इजरायल परम्परागत रूपमै एकअर्काको शत्रु राष्ट्रको रूपमा रहँदै आएकोले सम्पूर्ण मध्यपूर्वमा इजरायल र इरान बीचको युद्धले निर्णायक भूमिका खेल्न नसकेपछि अमेरिकी सैन्य सञ्चालनबाट युद्धलाई समाप्त पार्ने र अरबमा शान्ति स्थापना गराउने प्रयासले अमेरिकालाई पनि झन् अप्ठ्यारोमा पार्दै लगिरहेको छ। इरानसँग एकैचोटि अमेरिका इजरायल र विश्वका अन्य देशहरूसँग लड्ने मारक क्षमता भएका अस्त्रशस्त्रहरूको विशाल भण्डार सुरक्षित नै रहेकोले इरानले अमेरिका इजरायल र अमेरिकाली सैन्य अखाडा भएका खाडी मुलुकका इस्लामिक राष्ट्रहरूमा पनि विध्वंसकारी प्रहारहरू गर्न थालेको छ। कतार, ओमान, दुबई, साउदी अरब लगायतका देशहरु पनि इरान विरुद्ध लागि परेका छन्।
मध्यपूर्वमा लामो समयदेखि चल्दै आइरहेको धार्मिक युद्ध रोकिने कुनै सम्भावना देखिँदैन। परमाणु हतियारको प्रयोग गरेर भएपनि इरानले अमेरिकालाई पाठ सिकाउने कुराहरू इरानका सरकारी मिडियाहरुले पटकपटक प्रसारण गरिरहेको सुनिन्छ। इजरायल र इरान बीचको युद्ध धार्मिक युद्धमा रूपान्तरण भइसकेको छ। फिलिस्तीनी आतंकवादी संगठन हमासलाई इरानले र अन्य इस्लामिक मुलुकहरूले समर्थन गरिरहन्जेलसम्म इरान र इजरायल बीचको युद्ध रोकिने कुनै सम्भावना छैन। यहुदी इसाई र इस्लाम यी तीनवटा धर्महरू परस्पर बाझाबाझ भएर आत्मघाती रूपमा एकअर्काको अन्त्य गर्न खोजिएको जस्तो देखिएको छ। युद्धको विकरालताले अझ भयानक रूप लिँदै गयो भने इजरायलको अस्तित्व पनि संकटमा पर्न सक्छ। इरानको अस्तित्वमाथि पनि प्रश्न चिन्ह खडा हुन सक्दछ। इरानका धर्मगुरु मारिएका छन्। उनका उत्तराधिकारीहरू मारिएका छन्। इरान सरकारका मन्त्रीहरू आत्मघाती आक्रमणमा परि मारिएका छन् ।सेनाका प्रमुख कमाण्डरहरू पनि मारिएका छन् ,तर पनि इरान कमजोर भइसकेको चाहिँ छैन ।इरानमा बहाल रहेको इस्लामिक कानुनहरूको इरानमै पनि ठूलो विरोधहरू भइरहेको छ।
हजारौं जनता सरकारी सेनाहरूको गोलीको सिकार बन्नु परिरहेको छ। विश्वको सबैभन्दा ठूलो प्राकृतिक तेल भण्डारहरू अरब मुलुकतिर नै रहेको हुनाले तेल भण्डार र तेलमार्ग सुरक्षित नरहुन्जेलसम्म दुनियाका अनेकौं देशहरूको अर्थव्यवस्था समेत तहसनहस हुन सक्ने आकलनहरू गर्न थालिएको छ।। विश्व बजारमा तेलको ठूलो अभाव देखिन थालिएको छ। इन्धनको मूल्य आकाशिदो छ। इन्धनको मूल्यमा बढोत्तरी सँगै अन्य वस्तुहरूको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। पेट्रोलियम पदार्थहरूको मागअनुसारको आपूर्ति हुन नसकेको अवस्थामा आम उपभोक्ता वर्गमा ठूलो त्रास र निराशाको वातावरण बढ्न थालेको छ। इन्धनको कमीले मात्र अर्थव्यवस्थालाई भताभुङ्ग पार्दैन। खाडी मुलुकहरूमा एसियाका अन्य मुलुकहरूबाट काम गर्न गएका र रोजगारीको लागि गएका करोडौं मानिस हरु रोजगारी गुमाउने अवस्थाहरू सिर्जना हुन थालेको छ। अपेक्षित रूपमा शान्तिपूर्ण मानिएको अरब मुलुकतिरको अर्थ राजनीति अब बारुदको विस्फोट र छेप्यास्त्र प्रहारको निशाना बन्न थालेको छ। नेपालका लाखौं लाख युवाहरू खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका छन् उनीहरूलाई अहिले ज्यान जोगाउन धौधौ परिरहेको छ। उनीहरूलाई सुरक्षा प्रदान गर्ने लगायतका कुनै पनि किसिमको आश्वासनहरू सरकारले दिन सकिरहेका छैनन्। संसारमा नै अमेरिकाको दादागिरी र दबदबा बढ्दै गइरहेकोले अमेरिकाको विरोधमा अमेरिकालाई दबाब दिने शक्तिहरू अब कमजोर बन्न थालेको छ। खाडी मुलुकमा काम गर्न गएका युवाहरू मारिएका छन्। घाइते भएका छन् र त्यहाँबाट जसरी भएपनि आफ्नो देशमा आउने उपायहरूको खोजीमा लागिरहेका छन्।
अरब देश अब आफै अमेरिका र इजरायलबाट असुरक्षित रहेको कारणले गर्दा अरब क्षेत्रहरूमा शान्तिपूर्वक बाँच्ने र रेमिट्यान्स मनी घर पठाउने सपना नेपालीहरूको अधुरो देखिन थालिएको छ। नेपालमा पेट्रोलियम पदार्थको ठूलो अभाव छ। नेपाल सरकारसँग पेट्रोलियम पदार्थहरू उत्पादन गर्ने आफ्नो कुनै भरपर्दो संयन्त्र छैन। नेपाली बजारमा पेट्रोलियम पदार्थहरूको ठूलो माग रहिरहेको देखिन्छ। तर सरकारसँग एक महिना पनि पेट्रोलियम पदार्थको माग धान्न सक्ने स्टक र क्षमता छैन। पूर्णरूपमा पेट्रोलियम पदार्थ हरूको आयात भारत सरकार र भारतीय बजार माथि नै निर्भर रहेकोले भारतमा पेट्रोल पदार्थको कमी ले गर्दा नेपाली बजारमा थप चिन्ता र चासो बढ्दै गइरहेको छ। नेपाली अर्थतन्त्र आफैमा परनिर्भर अर्थतन्त्र रहेकोले विदेशी बजारहरूमाथि नेपालको निर्भरता अत्याधिक बढी छ। अन्तर्राष्ट्रिय बजारबाट नेपालले पेट्रोलियम पदार्थ लगायतका प्रज्वलनशील ऊर्जाहरू खरिद गर्नुपर्दा भारत मात्र नेपालको विकल्पको रुपमा रहेको देखिन्छ। भारतमा प्राकृतिक खनिज पदार्थहरूको पनि उत्पादन गरिन्छ। घरेलु आवश्यकताका लागि केही मात्रामा इन्धनहरू भारतमा पनि उत्पादन हुने गर्दछ त्यसको सँगसँगै भारतले रुसबाट पनि ठूलो मात्रामा प्राकृतिक इन्धन आयात गर्ने गर्दछ र भारतले आफ्नो आवश्यकताको करिब ८० प्रतिशत जति प्राकृतिक ऊर्जा अरबतिरका खाडी मुलुकहरुबाट आयात गरी आफ्नो आवश्यकतालाई परिपूर्ति गर्ने गर्दछ। भारतले पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारबाट पनि खरिद गर्दछ र भारतले आफ्ना छिमेकी मित्रराष्ट्रहरू नेपाल, भुटान श्रीलंका बांगलादेश लाई आवश्यकता अनुसार बिक्री पनि गर्ने गर्दछ।
भारतमा पेट्रोलियम पदार्थको ठूलो उत्पादन र ठूलो खपत हुने भएकोले भारतलाई अहिले इरानको बाटो हुँदै भारततिर आउने पेट्रोलियम पदार्थहरूको निर्वाध आयातमाथि अंकुश लाग्न पुगेको छ। इरानले शत्रु राष्ट्रमा जाने पेट्रोलियम पदार्थहरूको निकासी लाई पूर्णरुपमा नियन्त्रण गरेको हुनाले इरानी फौजले शत्रु राष्ट्रको ध्वजवाहक जहाज देख्ने बित्तिकै मिसाइल हानेर ध्वस्त पार्दिने जस्ता घटना हरु बारम्बार भइरहेको कारणले गर्दा इरानको हर्मोज स्ट्रेट माथि अहिले सारा संसारको ध्यान आकृष्ट हुन थालेको छ। हर्मोज स्ट्रेटमाथि इरानी सेनाको पूर्ण नियन्त्रण रहेको कारणले गर्दा ईरानी सेनाको आँखा छलेर कुनै पनि पेट्रोलियम पदार्थ बोकेका जहाजहरू त्यहाँबाट बाहिर आउन ठूलो संकट बेहोर्नु परिरहेको छ। हिजो अस्ति मात्र एउटा खाडी मुलुकै पेट्रोलियम पदार्थ बोकेको जहाज लाई खाडी मुलुकमै काम गर्ने नेपालका एकजना चालक इन्जिनियर टोलीलाई इरानी सेनाले नियन्त्रणमा लिएर जाँचबुझ गरिरहेको छ। खाडी मुलुकमा काम गर्न गएका नेपालीहरू पनि खतराको ठूलो जोखिममा रहेका छन्। इरान लगायतका अन्य कुनै पनि खाडी मुलुकहरू अहिले ठूलो युद्धको आगोमा जलिरहेकोले त्यहाँ मानव अधिकार र मानवीय पक्षका कुराहरु लाई सम्मान गर्ने विचारहरुले कुनै महत्व पाइरहेको छैनन्। इरानमा पक्राउ परेका नेपाली नागरिकहरू लाई सुरक्षित नेपालमा फिर्ता ल्याउनको लागि सरकारले ठूलो पहल गर्नुपर्ने र संवेदनशील भएर उपायहरूको खोजी गर्नुपर्ने आवश्यकता रहेको छ। नेपालको अर्थतन्त्र रेमिट्यान्सबाट नै चलिरहेको अवस्थामा खाडी मुलुकमा उत्पन्न भएको विवादले गर्दा नेपालको भरपर्दो विदेशी आम्दानीको स्रोत माथि पनि ठूलो धक्का पुग्ने अवस्था सृजना भइरहेको छ।
पेट्रोलियम पदार्थको उपलब्धिको लागि सरकारले अवि लम्ब प्रयास गर्नुपर्दछ।
भारतमा भर्खर भारतीय संसदको राज्यसभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरान र इजरायल अमेरिकाबीच चलिरहेको युद्ध र त्यसले निम्त्याउन सक्ने पेट्रोलियम पदार्थहरूको अभाव जनित संकटलाई कोरोना महामारी भन्दा पनि खतरनाक भनी चिन्ता व्यक्त गरेका छन्। अनेकौं कोसिसको बावजुद पनि पेट्रोलियम पदार्थहरूको आपूर्ति सहज रुपमा हुन सकेन भने स्वतस्फुर्त रुपमा देशको अर्थव्यवस्था अघोषित लकडाउनमा जान सक्नेछ तथा देशभित्रका उद्योगधन्दा कलकारखाना व्यापार लगायतका सबै क्षेत्रहरू ठप्प हुन सक्नेछन् भन्ने कुरामा सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ।