देश–समाज राजनीति लेख स्थानीय

यो वर्तमान–को कस्तो इतिहास बन्ला ?

नकुलकाजी
हुन त रुमानियामा २४ वर्ष एकाधिपत्य कायम गरी राष्ट्रपति रहेका निकोलाई चाउचेस्कुले पनि उनकी ऐय्यासी पत्नी र शासनसत्तामा दाइँ गरिरहेका निगुरमुन्टे पाउभक्तहरूबाट आफ्नो नम्बरी इतिहास लेखिने भाषण बास्ने गरेका थिए भनिन्छ । निकोलाइ र उनकी पत्नी एलेनालाई जन–अदालतमा फाँसी दिइएपछि ती भाषणहरू बालुवामा खसेका शीतका थोपा सरह नै भएर गएका थिए । एकताका युगाण्डाका राष्ट्रपति दादा ईदी अमिन पनि विश्व–समाजमै विस्तीर्ण चर्चामा उकासिएका हुन् , जसले प्रतिशोषवश छ जना सैनिकका टाउका काटेर डाइनिङ टेबल अघिल्तिर फ्रिजमा ती गिँडिएका टाउकाका अनुहार आफूतिर फर्काएर राखेका र खाना खाने समयमा फ्रिजको ढोका खोलेर स्वाद फर्माउँदै गाँस हाल्थे भन्ने अतुल ’क्रूरता’–को चर्चा समेत गन्हाएर विश्व–समाजको आङ नजुर्केको होइन । उनको नामै ’नलिनी दलको सपना’ भने झैं त्यतिकै फास्सफुस्स भएर गयो । उनको अनुहारको प्रतिकृति पनि सभ्य इतिहासमा कहीँ भेटिंदैन । व्यापकरूपमा चर्चित इण्डियन चलचित्र ’शोले’–को राक्षसी मुखपात्र ’गब्बरसिंह’ (अमजद खान)–ले पनि चरम ’नकारात्मक मान्छे’–को इतिहास रचेकै हुन्, जो एकताका झन्नै पूर्वी गोलाद्र्धकै जन–चर्चाको मलिलो भूइँमा बेस्सरी मौलाएको थियो । अहिले पनि कसैले कसैलाई अरबख्रे स्वर उरालेर हकारेको सुन्नेले ’गब्बर’–को नाम लिन्छन् र भन्छन् – ’कस्तो गब्बरे झ्वाँक !’ संसारका कतिपय राष्ट्रलाई थर्कमान तुल्याउँदै धनी र शक्तिशाली राष्ट्र अमेरिकामा डरलाग्दो घटना गराउन समर्थवान आतङ्ककारी सङ्गठन ’अल काइदा’–का जनक र सर्बाेच्च नेता ओसामा बिन लादेन मारिएको १३ वर्षमै उसको अस्तित्वको चर्चा त के, नाम समेत नामेटप्रायः भइसकेको छ । त्यति टाढा किन, नेपालकै जंगबहादुर राणाको नाम काठमाडौंको धरहरानेर पुग्दा मात्र होइन, नेपाली इतिहासको कखरा पढेकाहरूले मात्र होइन, ’साउँअक्षर’ नै नचिनेकाहरूले पनि मानवीय सम्वेदनाहीन कठोर शासकीय घटनाहरू हुँदाका सन्दर्भहरूमा लिने गरिराखेका छन् । त्यसो त पुल बनाउनेको नाम जति चर्चामा आउँछ, पुल भत्काउनेहरू त्योभन्दा कता हो कता बढ्ता जन–जनका चर्चामा मात्र होइन इतिहासले, आफ्ना पन्नामा नाक खुम्च्याउँदै, निफनिरहेको हुन्छ नै  ।
वर्तमान ’संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’–का वर्षहरूभरिमा आलोपालो ’राज्यसत्ता एकाधिपति’ मात्र होइन, ’लोकतान्त्रिक गणतन्त्र नेपाल’–का सामन्त जिमिदार बन्दै, अकुत सम्पतिले धन्य हुँदै र आफ्ना नातेदार–आफन्तदेढखि निगुरमुन्टे भक्तजनलाई समेत अनूर्बर भूइँबाट टिप्तै महलमा बसाइँ सार्ने अभ्यास गर्दै आएका तीन ठूला पार्टीका मुखिया–डफेदारहरूको पनि समसामयिक इतिहासका ’आलेख–परिवेश’ त्यस्तै–त्यस्तैभन्दा सुग्घर देखिने अनुमान हुँदै छैन  ।
नागरिक जीवनको सिङ्गो जिजीविषाकै सर्वस्व हो जीवन निर्वाह, जो क्रमिकरूपमा अत्यन्त अक्करिलो, कष्टप्रद र दुसाध्य बन्दै गएको छ ! अझ, ’नागरिक समाज’ नै रित्तिंदै गएको छ र विदेशीहरूको रगरगी बढ्दै जाँदो छ । नागरिकवृत्तमा मूल–जातीय स्वाभिमानको दुब्लाउँदो अवस्था, जो मनोवैज्ञानिक विवशतावश सहनैपर्ने स्थितिमा, भिमलाउँदै गइरहेको छ । हरेक शिशुले टाउकोमा लगभग रु. ८७ हजार ऋणको भारी बोकेर पृथ्वीको उज्यालो देख्ने दुर्भाग्यले गाँजेको छ । कुल जनसंख्याको लगभग एक–तृतियांश ऊर्जावान नागरिकहरू जीवन निर्वाहका लागि विदेशिएका छन् । तिनीहरूबाट आउने रिमिट्यान्स र ऋणबाट अख्तियारशाली तथा पहुँच भएकाहरूलाई पौलो छ । नीतिगत र व्यक्तिगत भ्रष्टाचारले केन्द्रीय शासन–परिधिभित्रदेखि पालिकाहरूका वडा–वडासम्मै रोब जमाएर ’देश’–लाई केवल भूगोलभित्रको माटोमा सीमित हुने स्थितितिर घिसारिंदैछ । दोषका प्रति आक्रामक र मुखरहरूलाई ‘ऐन–कानूनका नौ सिङ’ तिखारेर कँज्याउने र सत्ताधिकारका अधिपतिहरू स्वयम् जोगिने अनि तिनका बुख्याचाहरूलाई जोगाउने गलत उपाय निःसंकोच प्रयोग गरिनेसम्मको निर्लज्ज प्रस्तुति सरेआम देखिइरहेको छ । अतः राज्यको परम दायित्व र परम कत्र्तव्यमा पर्ने नागरिकका नितान्त सरोकारका उम्दा र महत्वपूर्ण विषयको साङ्गोपाङ्गो नै राज्य हाँकिरहेका डफेदारहरूका दम्भी चकचकी प्रदर्शनका लागि बनेका नवाबी महल, आकाशचुम्भी बुर्जा (टाओर)–हरू, ऐय्यासी सभाभवनहरू, अनेकका बेकामे आयोग र समितिहरूमा ‘आफ्ना भजक’–हरूलाई पोष्ने आदि–इत्यादिका ओझेलमा पार्दै स्वनाम–धन्य बनी रमाउने दुष्कर्महरू भइरहेका छन् ।
भ्रष्टाचारको विरोध फलाक्तै र सुशासन– समृद्धिका रेसमी भाषण बास्तै विपक्षी विरुद्ध निचो आलोचना गर्नु नै शासक शिविरे उपल्ला–तल्ला नायक–नेताहरू तथा ’राज्य’ हाँकिरहेकाहरू प्रायः सबैको मुख्य ’उत्तरदायित्व–दैनिकी’ देख्नु–सुन्नु धरातलीय नेपालीको दुर्दम्य नियति नै बनेको छ ! आर्थिक–पादार्थिक उपार्जन र मोजमस्तीको घोडा चढेर विकास र समृद्धिको गीत गाउने अहमत्याइँले देश र देशवासीको भविष्यलाई अतुल घातको ओइरो हालिंदैछ । बहुसंख्यक नागरिक कृषि पेशामा सम्पृक्त यस देशमा अहिले कृषकले उब्जाएको साग–सब्जी शहर–बजारिया र राजमार्गे उपभोक्ताका चूलामा आइपुग्दा पाँचथरि विचौलिया–कमिशनखोरहरूको लुटचक्र पार गरिसकेर किसानले बेच्ताको मूल्यभन्दा पाँच गुणा बढी बनिरहे जस्तै अवांञ्छित चालामाला छ देशका हरेक कित्तामा ! ‘आकाशको तारो’ भने झैं रेल र पानी जहाज सञ्चालनको प्रयोजनका लागि भन्दै ‘खैय्यामी कल्पना’–मा खोलिएका कार्यालयहरूमा नियुक्त सरकारी पार्टीका भजनजीवी जस्ताहरूको ताली पिटाइ र सयौ किलो फूलका मालामा रमाएर लल्कारिने भाषणहरूले कति दिन यस्ता चालामालाहरूलाई छोप्ला त ? दिपक खँड्का, धनराज , गोकुल बाँस्कोटा, टेकबहादुर, मोहनबहादुर, ज्ञानेन्द्रबहादुर, दिपक खँडका आदि–इत्यादि जस्ताहरूको सिकसिको लाग्ने गतिविधिलाई ‘कानूनी राज्य’–को अवधारणा प्रयोगकोे सट्टा व्यवधानरहित राखिएका दृश्यहरू असरल्ल हुँदा हुने ’लाज’–लाई समेत सत्ता–शक्तिको ह्याकुलाले किच्याउँदा भएकै देखिन्छ । त्यसमाथि ‘गणतन्त्र नेपाल’–का तिनै तीनजना आ–आफ्ना अख्तियारको परिधिमा ’माथिल्ला राजनीतिक सेलेब्रिटि’ बनिरहेकाहरूको ’शक्ति–सवार हल्लाबोल’ सशक्त बन्दै गएको छ र ‘लोकतन्त्र’ उनीहरूको अघोषित बपौति बनेको छ । ४६ किसिमका ‘कर–तिरो’–का थिचोमिचोले ‘रैती–रैतान’ बनाइएका बहुसंख्यक नेपालीले २ करोड ८८ लाख ९१ हजार ७०० रुपैयाँको हाते घडीधारी सर्बहारा वर्गमार्गी (?) कमरेडका उखान–तुक्के भाषण सुनेर कति दिन मौनब्रत बस्लान् ? देशमा क्रमशः ‘प्रजातान्त्रिक’–‘लोकतान्त्रिक’– ‘गणतान्त्रिक’ व्यवस्थाको नाममा शासन चलेको यतिका वर्ष बितिसक्ता पनि नुवाकोटका १५ सय परिवार र रसुवाका ७ सय परिवार किसानहरूले २८० वर्ष अघिका पुर्खादेखि भोग्दै आएका बिर्तावालहरूको दलन आज पनि भोगिरहेकै छन् ! यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । यसैबीचमा ‘जनवादी’ बिल्ला भिरेर शासनकवृत्तमा छिरेकाहरू ’भूइँ मनुष्य’ अवस्थाबाट धनधान्य र पौलै आधुनिक संसाधनयुक्त महलमा नव–नवाबी जीवन बनाएर अनेकका रङ्गीचङ्गी भाषण भुक्ने बनिसकेका छन्  । तर, ‘जनवादी’– मा सम्पृत ‘जन’–मध्ये नुवाकोट र रसुवाका २२ सय पसिनाजीवी किसान (नागरिक)–को हालत वि.सं. १८०१ कै सामन्तयुगीन निरन्तरतामा गुज्रिरहेको छ । ३४ वर्ष भोगिसकेको प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्रलाई योभन्दा चोटिलो व्यावहारिक व्यंग्य थप के होला !?! हुन त उहिलेकालको सोभियत रुसमा भ्दादिमिर लेनिनले पनि कालाबाजार र घुसखोरीका पीडाले विदग्ध भएर माफिया र लुटाहाहरू विरुद्ध आवाज उठाउने १३ हजार किसान मारेर सो आवाज दमन गरेको ईतिहास छ ।
यहाँ के गतिवान छैन ? जनाधारको प्राप्तिले वैकल्पिक शक्ति बन्छ भन्ने संत्रास उत्पन्न गर्नेलाई जसरी–तसरी समन–दमनको गुरुयोजना अन्तर्गत फँसाउने ताउर माउर सर्वाेपरि बनिरहेको छ ! राजनीतिक अभ्यासकालकै ’नयाँ’ पालुवा र मञ्जरीहरू निर्ममतापूर्वक निमोठेर आफ्नो ‘एकाधिपत्य’ लक्षित स्वार्थरक्षा गर्ने गरिंदैछ ! ‘आफ्ना’–को सूचीमा अफताब आलम, रेशम चौधरी, लक्ष्मी कोइरी, रिगल (योगराज ढकाल) आदि बदमास–बतुकीहरूलाई सूचीकृत गर्न संविधानमाथि थिचोमिचो गर्ने अससामान्य ‘राष्ट्रिय अपराध’ (?)–को श्रृङखला चल्दै छ । अर्थात् यस्ता अगणित नकामहरू परावृत्तिको सम्भावना अझ सबल बन्दै जाने लक्षण पनि जीवन्त छ । सायद यिनै बिडम्बनापूर्ण राज्य–निश्रित चलखेलका प्रति प्रतिरोधी आभासप्रद दृश्यहरूका प्रदर्शन खातिर नै निर्धा–निर्बलिया नागरिक तप्काले, विभिन्न घटनाको वैशाखी टेकेर, ‘बलियो राज्य’ सामू स्वर उराल्न थालेका हुनन् ! ….
नेपालका ’त्रिरत्न’–मध्येका बालकृष्ण समले उहिले नै, सायद यो वर्तमानकै प्रयोजनीय ठानेर, लेखेका थिए – “नेपालीहरू ’मृत्यु’–सँग त्यति डराउँदैनन् जति ’परतन्त्रता’–सँग डराउँछन् । सायद, त्यसै बमोजिम २०४६ र २०६२–०६३ मा नेपालीजन प्रस्तुत भएका पनि हुन् र पुनः हिजोआज पनि । तर, उनै समको अर्काे भनाइ –“वीर गान्धर्व भाग्दैन, लुक्छ !“ चाहिँ आजको बाध्यात्मक र अक्करिलो परिस्थितिको धरातलीय यथार्थ सादृश्य छ  । अतः यो बिद्रुप अवस्थाबाट नेपाल कसरी चाहिँ मुक्त होला ? यो एउटा सर्वाधिक अहम् प्रश्नको अभ्युदय भएको छ । र, यो देशको समसामयिक वर्तमानले इतिहासमा श्रपित पन्ना पाउला कि सौष्ठवपूर्ण र सौरभि ? भन्ने प्रश्नले नै अहिले देशभक्तहरूको अभ्यन्तर अधिक मडरिइरहेको छ ! …

Author

You may also like