२०७९ को मंसिरमा पहिलो पटक इलामको माङ्सेबुङ टेकियो । झापाको दमक हुँदै कच्चिबाटो भएर पुग्दा निकै कष्टकर लाग्यो । उद्देश्य थियो– किराँत धर्म गुरु आत्मनन्द लिङ्देनको दर्शन गर्ने र एउटा धार्मिक कार्यक्रमसहित स्वास्थ्य सम्बन्धी शिविर चलाउने । मेरो भानिज दाजु विजय कार्की धार्मिक तथा सामाजिक व्यक्तित्व (जो हरिद्धार चतरामा आद्य जगत्गुरु शंकराचार्य महाराजको आश्रमस्थलमा बस्ने गर्नुहुन्थ्यो । नेपाल दशनामी सन्यासी आद्य जगत्गुरु शंकराचार्य मठले मठाधिसको जन्मजयन्ती अवसरमा मलाई निम्त्याए पछि त्यो समूहसँग भेटघाट हुन पुग्यो ।) ले विराटनगरस्थित उहाँको निवासमा बोलाएर विराटनगर टिचिङको व्यवस्थापन र डाक्टरसहितको छलफलबाट निस्केको निस्कर्ष बोकेर धर्मगुरु आत्मनन्दको शरणमा कार्ययोजना सुनाउन आङसेबुङ पुगेको थिए । सो बखतमा धर्मगुरु लिङ्देनको नजिक मानिएका र त्यहाँको धार्मिक संरचना संरक्षण गर्न बनेको समितिका अध्यक्ष, विभिन्न जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने अवसर पनि जुरेको थियो ।
त्यसबेला हामी माङ्सेबुङ पुग्दा धर्मगुरु लिङदेनको ६९ औं जन्मजयन्ती मंसिर १८ मनाइएको २ हप्ता भइसकेको रहेछ । हाम्रो टिम दुखी यसअर्थमा भयो कि २ हप्ता अगाडि आउन पाएको भए धर्मगुरुको जन्मोत्सवमा सरिक हुन र सहजै कुराकानी गर्ने अवसर मिल्ने रहेछ तर त्यो बेला नत धर्मगुरुङ लिङ्देनलाई भेट्ने मौका पाइयो नत जन्मोत्सव मनाउने नै । केहेरसिंह योङहाङलगायत धर्मगुरुको टिमसँग कुराकानी गरेर पछि आउने गरी त्यस ठाउँका विशेषताहरुको संगालो बोकेर फर्कियौ । २ दिन उही बास बसियो । पहिलो बास बसेका दिन पुग्ने वित्तिकै दुधको कफि बनाएर खाने भन्ने सोच बनाएका थियौ र बेलुका बस्दा लोकल कुखुरा पकाउन लगाएर मजाले सुप बनाएर खाने किनकी त्यसबेला त्यहाँ निकै चिसो थियो । त्यो चिसो कटाउने उपाय हामी रचिरहेका थियौ तर त्यहाँको परिस्थिति फरक भेटियो नत दुध नै पाइयो माछामासु र जाँडरक्सी, धुमपान त त्यो क्षेत्रमा पुरै निषेध गरिएको रहेछ ।
बुझ्दै जाँदा मुमाको दूध नपिएका बालकलाई गाईको दूध खुवाएर बचाइएको, आमा दोस्रो पोइला गएकीले विमाता र बजु जोगमायाबाट पालनपोषण भई लिङ्देन हुर्केको जन्मसिद्ध मासुमंस, जाँडरक्सी सेवन नगरेका शिशुको ज्योतिषी नाम सोमबहादुर रहेको पाइयो । उनी मात्र नभएर उनी अगाडिका गुरुआमाहरु सबै साकाहारी रहेको पनि सुनियो । जन्मसिद्धै आमाको दुध पनि नदिएका र साकाहारी वातावरणमा हुर्के कै कारणले त्यहाँको धार्मिक कानुन छुट्टै देखियो ।
धार्मिक कानुन
लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने त्यो वर्जित गरिएको रहेछ । विशेष उत्सव मात्र होइन प्रायः आन्तरिक र बाह्य पर्यटकले भरिरहने त्यो ठाउँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।
करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ । गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताए । उनका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उनको जिकिर छ ।
किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर) ले छानेको ठाउँ भन्ने विश्वास रहेको पनि खुलाए । किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाई छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ । माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो । धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।
गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताए ।