देश–समाज समाचार स्थानीय

शिक्षक आन्दोलनमा झडप : पत्रकारसहित ६३ जना घाइते

दमक । अनुशासित ढंगले भद्र र शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकमाथि २६ औं दिनमा प्रहरी हस्तक्षेप बढ्यो । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते समेत भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरूबिच झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिटल र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शान्तिपूर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्ध शिक्षाकर्मीमाथि लाठी प्रहार गरेको उनको भनाइ छ । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथि बन्दुक उपहार प्रदान गरेको बताए ।
आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।
त्यस्तै, उक्त शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की समेत गम्भीर घाइते भएकी छिन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार संकलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् ।
सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो । उनको दुवै आँखामा गम्भीर चोट लागेको छ । कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो । हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री केपी ओलीले शिक्षक आन्दोलन रोक्न कुनै पहल नै नगरेको महासंघले जनाएको छ । ‘सर्वोच्चले सरकारलाई आदेश दिएको हो, पठनपाठनको वातारण मिलाउन सरकारका नाममा आदेश भएको हो, हामी ऐन नलिई जाँदैनौँ,’ पराजुलीले भनिन्, ‘यतिका दिन बितिसक्दा पनि सरकारले हाम्रो आवाज सुनेको छैन, हाम्रो मुद्दालाई सरकारले झन् पछि झन् ओझेलमा पार्न खोज्दै छ, तर हामी फर्किनेवाला छैनौँ ।’ उनले केही स्थानीय तहले शिक्षकहरूलाई आइतबारदेखि नियमित पठनपाठनमा समेत फर्किन दबाब दिएको भन्दै शिक्षकमाथि कुनै कारबाही भए महासंघले विरोध गर्ने बताइन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूसँग संवाद र छलफल भइरहेको दाबी गर्दै सरकारले सहजीकरण र समाधान खोजिरहेको बताए । ‘शिक्षकहरूका माग पूरा गर्न सरकार तयार छ,’ उनले भने, ‘निरन्तर छलफल पनि भइरहेको अवस्था हो, तर कतिपय विषयमा प्रक्रियागत छन्, जुन कुरा भन्नेबित्तिकै हुँदैन ।’ हाल विद्यालय शिक्षा विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा छ । उपसमितिले २२ वैशाखसम्मको समयसीमा तोकेर काम गरिरहेको छ ।
हालसम्म १२२ वटाभन्दा बढी दफामा छलफल भइसकेका छन् । जम्मा १६३ मध्ये जटिल दफाहरूमा उपसमितिले छलफल गर्न सकेको छैन । बिचमा शिक्षामन्त्री परिवर्तन हुँदा दुई–तीन दिनसम्म उपसमितिको बैठकसमेत रोकिएको थियो ।
शिक्षकहरू आक्रोशित बन्दै
२६ दिनसम्म पनि शिक्षकहरूको आन्दोलन शान्त र व्यवस्थित छ । तर, अब भने सरकारले बेवास्ता गर्दै जाँदा शिक्षकहरू थप आक्रोशित बन्ने देखिन्छ । शनिबार भएको आन्दोलनमा शिक्षकहरूले नयाँबानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा धकेलाधकेल भएको छ । सरकारले शान्त र सभ्य शैलीमा आन्दोलन गर्दा नसुनेको भन्दै शिक्षकहरू थप आक्रोशित बनेका हुन् । ‘शान्त तवरले आन्दोलन गर्दा सरकारले बेवास्ता गरिरहेको छ, अब हाम्रो आन्दोलनको रणनीति पनि परिवर्तन हुने अवस्था हुन्छ,’ बौद्धस्थित जनकल्याण माविका शिक्षक अर्जुनप्रकाश भुसालले भने, ‘सरकारले मन्त्रिपरिषद् र प्रक्रियागत रूपमा हाम्रा माग पूरा गर्ने थालनीसमेत गरेको छैन, यस्तो अवस्थामा आन्दोलनबाट फर्किने कुरै भएन ।’
शिक्षकलाई नधम्क्याउन स्थानीय तहलाई चेतावनी
नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ । विगत २६ दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थालेपछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
हाल सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो । आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधानप्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न–नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’ २०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौंका सडकमा प्रदर्शन गरिरहेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ । यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक–कर्मचारीलाई काठमाडौं आउन आह्वान पनि गरेको छ । शनिबार शिक्षक महासंघ र शिक्षा मन्त्रालयबिच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। महासंघका अध्यक्ष सुवेदीले सरकार पक्षसँग अनौपचारिक छलफल जारी रहे पनि त्यो अझै निष्कर्षउन्मुख नरहेकाले आन्दोलन जारी राखिएको जनाएका छन् ।

Author

You may also like