आमाप्रतिको श्रद्धासहित मातातिर्थ औंसी मनाइयो
दमक । मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइएको छ ।वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृ ऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।
मातातीर्थ औँसीको अवसरमा दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ
दमक÷ मलंगवा नगरपालिका–६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रूपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नालामा वेवारिसे शव फेला
दमक÷ झापा दमकको नालामा बेवारिसे शव फेला परेको छ । आइतबार दमक नगरपालिका वडा न. ४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा घोप्टो परेको अबस्थामा बेवारिसे शव फेला परेको हो । तत्काल नाम थर वतन नखुलेको ,सेतो सर्ट, खरानी रंगको पाइन्ट लगाएको पुरुषलाई मृत अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५ वर्षको मंगोलियन अनुहार, रातो वर्ण भएको र साथबाट किपेड मोबाइल फेला परेको मृतकको सनाखतको लागि थप अनुसन्धान भइरहेको छ ।सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
चिकित्सकको आन्दोलन जारी
दमक÷ आवासीय चिकित्सकलाई सरकारी आठौं तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले आइतबार माइतीघरमा धर्ना दिएका छन् । काठमाडौं उपत्यकामा वर्षा भए पनि छाता ओढेर उनीहरु धर्नामा सहभागी भएको स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संर्घष समितिका डा. शेषराज घिमिरेले जनाए । नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका सरकारी अस्पतालमा चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका थिए । चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजहरुले निर्णय अस्वीकार गर्दै आएका छन् । भत्ता उपलब्ध गराउँदा घाटा हुने निजी मेडिकल एसोसिएसनले जनाएको छ ।
सर्पको डसाईबाट मृत्यु
झापा÷ झापाको बिर्तामोडमा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ । शनिवार साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड ७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । साँझ घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ संभव नभएपछि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
गर्मी बढेसंगै सर्पको विगविगी बढेको छ । शुक्रवार दिउँसो विषालु सर्पले डसेर मोरङको बेलबारी नगरपालिका–४ स्थित हिमालय चोक निवासी कुमार विश्वकर्माका ६ वर्षीय छोरा विपिन विश्वकर्माको पनि मृत्यु भएको थियो ।
विचौलियाको पहु“च भएको प्रमाणित गर्न आग्रह
काठमाडौं÷ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन अघि ‘प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको एक्सिस रहने गरेको’ भन्ने अभिब्यक्ति दिएको एक साता पछि प्रधानमन्त्री ओलीले सो जवाफ दिएका हुन् ।
गौरीगञ्ज गाविसका पूर्व अध्यक्ष रिजालको निधन
गौरीगञ्ज÷ झापाको साविक गौरीगञ्ज गाउँ विकास समितिका पूर्व अध्यक्ष घनश्याम रिजालको निधन भएको छ । मिगौला रोगबाट पीडित रिजालको आइतवार दिउँसो विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७३ बर्षिय रिजालले नेपाली कांग्रेसले गरेको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाँएका थिए । २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी गौरीगञ्ज गाविसको अध्यक्षमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । तर, पछिल्ला वर्ष उनले कांग्रेस परित्याग गरेका थिए । सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा सक्रिय उनको निधनले गौरीगञ्जले एक प्रेरक, साहसिक व्यक्तित्व गुमाउनुपरेको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । गौरीगञ्ज गाउँपालिका ३ निवासी रिजालका एक छोरा र तीन छोरी छन् ।