आज मातातिर्थ औंसी
दमक । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।
मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दुःख–कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई मिष्ठान्न भोजन, लत्ताकपडाले खुशी तुल्याउने गरिन्छ ।
ज्वाइँले गरे जेठीसासूको हत्या
इलाम । इलामको माई नगरपालिका–४ सिञ्जालीटारका शान्तिराम दुलालले आफ्नै जेठीसासूलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । ४२ वर्षीय दुलालले ५२ वर्षीया जेठीसासु भूमिका चापागाईलाई शुक्रबार साँझ ७ बजे टाउकोमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी चापागाईको झापाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शान्तिरामको उनकी पत्नीसँग इलाम अदालतमा माना चामल भराउने मुद्दा चलिरहेको छ । केही महिना अघि सोही मुद्दाको सुनुवाइका क्रममा अदालत परिसरमा भेला भएका ज्वाइँ र जेठीसासू वीच विवाद भएको स्थानीयले जनाएका छन् । विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन् । सोही रिसीइबीमा शान्तिरामले भूमिकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
संघीय नीति तथा कार्यक्रम ल्याउने
दमक । संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए । नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट बनाउने गर्दछ । प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत हुन्छ ।
जनमत–नाउपा एकता हुने तयारीमा
दमक । एकताको नजिक पुगेका २०७९ सालको आमनिर्वाचनपछि नेपालको संसदीय राजनीतिमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पाँचवैशाख १७ गते एकता हुने भएको छ । एकता हुनु अगाडि दुवै पार्टीको केन्द्रीय कमिटीको अन्तिम बैठक १६ गते बस्ने बताइएको छ । सो पार्टीको नाम नागरिक जनमत पार्टी राखिएको छ । भने दुवै पार्टीको अस्तित्व स्वीकार हुने गरी झण्डा तय भईसकेको छ ।
महायज्ञको आयव्यय सार्वजनिक
भद्रपुर । भद्रपुर १० केन्द्रमोड स्थित दुर्गा माता उपासना समितिले श्रीमदवाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । समितिले पुराण सम्बद्ध सरोकारवालालाई राखेर सार्वजनिक गरेको विवरण अनुसार आयतर्फ २८ लाख ७८ हजार ४३६ रूपैया संकलन भएको छ भने व्ययतर्फ १३ लाख ६४ हजार ५४८ रूपैया खर्च भएको विवरण सार्वजनिक गरिएको हो । समितिका सचिव हरिकिशोर आचार्यका अनुसार दाताबाट संकलित रकमबाट मन्दिर परिसरमा बाँकी रहेको निर्माण सम्पन्न गरी अन्य अक्षय कोषमा राखिने छ । उनका अनुसार करिव १६ लाख रकम बचत भएकोमा आधाभन्दा बढी रकम मन्दिर सञ्चालनार्थ अक्षय कोषमा रहन्छ भने अन्य रकम मन्दिर परिसरमा मञ्च निर्माण, रङरोगन, टुटफुट मर्मत र शिव लिङ्ग र बसाह निर्माणमा खर्च गरिने छ ।
समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षता तथा ज्ञान महायज्ञका प्रमुख वाचक पंडित प्रशान्त कृष्ण नराङ्गकुशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष पुरूषोत्तम अधिकारीले गरेका थिए भने सञ्चालन प्रचार संयोजक शालिकराम भट्टराई अन्तरेले गरेका थिए । सो महायज्ञ २०८१ चैत्र २४ गतेदेखि २०८२ बैशाख २ गतेसम्म सञ्चालन भएको थियो ।