आज अंग्रेजी डिसेम्बर महिनाको २ तारिक हिजो सोमबार अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस विविध कार्यक्रमसहित मनाइएको छ । दासता भन्ने शब्दले नै अथ्र्याउँछ कि कसैको कब्जामा रहेर काम गर्नु वा बाध्यतात्मक परिस्थितिको सामना गर्दै अर्काको अधिनमा रहनु नै दासता हो । दास प्रथाको अन्त्य भए पनि नेपालमा दासता अझ दायरा फराकिलो हुँदै झाँगिदै गईरहेको देखिन्छ ।
चन्द्र समशेरले नेपालमा दास प्रथा उन्मूलन गरेका थिए । तर यो प्रथा अझै पनि छ । यो आफैमा दुखद् हो । २१ औं शताब्दीमा आइपुग्दा पनि मानिस एक अर्कोबाट दास बन्नु परेको छ । नेपालमा विगतका कानुनी मान्यता प्राप्त दासता अहिले पनि यो वा त्यो रुपमा लुकेर क्रियाशील भइरहेका मात्र छैनन् बरु आधुनिक दासताका नयाँ–नयाँ ढाँचा आइरहेका छन् । दासत्व अन्त्यका लागि हरे वर्षको डिसेम्वर २ तारिकका दिन अन्तर्राष्टिूय दासता उन्मुलन दिवस मनाउने गरिन्छ । नेपालमा पनि यस दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । आज पनि संयुक्त राष्टूसंघ र यसका सदस्य राष्टूहरु लगायतले विश्वभर यो दिवस मनाउदैछन् । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि यसले खासै सार्थकता भने पाएको देखिदैन ।
दासतालाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, व्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । व्यवहारमा केही नरमपना आएको होला । तर, प्रवृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यवहारिक रूपमा निर्मूल भएको छैन । शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्ध्र–सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । कामदार भाग्ला भनेर उसको ज्याला रोकिएको हुन्छ । यी सबै दास मालिक युगबाट विरातमा आएका अवशेषहरू हुन् । शुरुवात अनि चलन जे–जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य र दण्डनीय छ । यसर्थ यस्तो प्रवृत्तिलाई जरैदेखि नै उखेल्न जरुरी छ ।
यसर्थ दासताको क्षेत्राधिकार बढ्दै गएको देखिन्छ । राजनीतिले जनतालाई विभिन्न प्रलोभनमा पार्नु र भोट खसाउन लगाउनु, बेसहारा, गरिब, पहुँच नभएको, निर्धोलाई समाजका गन्यमान्य पहुँचवाला वा राज्यले सजाय गर्नुलाई पनि दासकै अर्थमा लिन थालिएको छ । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग आदि सबै दासभित्र पर्ने विषय भएकाले यो दासता उन्मूलनका लागि वर्षमा एक पटक एकदिन कुनै कार्यक्रम गरेर बोल्दैमा यो प्रथाको अन्त्य हुन निकै जटिल देखिन्छ । अनेकन वहानामा दासताको जन्म नयाँ नयाँ ढंगबाट भईरहेको छ । जसको उन्मुलन आवश्यक छ तर उन्मुलन निकै चुनौतिपूर्ण पनि देखिन्छ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्टूसंघ र यसका सदस्य राष्टूलगायत संसारभर मनाउने चलन छ ।
संयुक्त राष्ट्रसंघले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसंघले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ । हरेक वर्ष फरक फरक नाराका साथ मनाइयो यो दिवसले आधुनिक समाजको दासता उन्मुलन गर्न विश्व समुदायलाई हरेक वर्ष अपिल गर्ने गर्दछ ।
नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन्। नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । जसको निर्मुलीकरणका लागि मानवअधिकारको रक्षा र व्यक्ति व्यक्तिबीचको इगोमा चेतनाको बृद्धि, अपराधजन्य गतिविधि निस्तेज तुल्याउने गतिविधि गर्ने र शिक्षा र चेतना अभिवृद्धिबाटै यसका केही दायरा खुम्च्याउन सकिन्छ । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको अपराध स्वीकार गराउनु, दण्डनीय बनाउनु, गैरकानुनी विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ । यि सबै परिदृष्यलाई हेर्दा दासता उन्मुलन अझ जटिल र चुनौतिपूर्ण बन्दै गएको पाइन्छ ।