भोजपुर/धनकुटा र भोजपुरलाई जोड्ने लेगुवाघाटबाट २९ कि.मी. उत्तर–पश्चिम अवस्थित अरुण गाउँपालिका वडा नं. ३ एक रमणीय स्थानमा रहेको श्री शारदा माध्यमिक विद्यालय प्याउली भोजपुरको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आकर्षक कार्यक्रमबीच सम्पन्न भएको छ ।
राणा शासन अन्त्यको १० महिनापछि अर्थात् २००८ साल मंसिर १५ गते अक्षर चिनाउने रुपबाट शुरु भएको यस विद्यालयमा अहिले कक्षा १२ सम्म अध्ययन हुने गरेको छ । धेरै वर्षसम्म यो विद्यालय दुःखमै चल्यो, चन्दादाता, स्थानीय निकाय तथा नेपाल सरकारको सहयोगबाट अहिले भवन निर्माण तथा समयानुकूल शैक्षिक सामग्रीको प्रवद्र्धनले विद्यार्थीहरुलाई पठन–पाठनमा सहज बनाउँदै लगेको छ । ४ वटा ब्लकमा रहेका विद्यालयमा ५०० को हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्दछन् भने १९ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन् ।
वार्षिकउत्सवको अवसरमा आयोजित ४ दिने कार्यक्रमबीच प्रतियोगिात्मक खेलकुद, सांस्कृतिक कार्यक्रम, साहित्यक तथा विविध कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विभिन्न अक्षयकोषबाट पनि विद्यार्थी तथा अभिभावक सम्मानित तथा पुरस्कृत भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षता, नेपाल सरकार अर्थमन्त्रालयका सचिव (राजश्व) दिनेश कुमार घिमिरेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, मदन दाहाल, उपसचिव शरद निरौला, विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकाल, मेची भन्सार प्रमुख राजेन्द्र चुडालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम भइरहँँदा विद्यार्थीहरुबाट साँगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री श्याम सुन्दर साहले विद्यालयको गतिविधि वर्तमान अवस्था र भावी योजनाबारे प्रकाश पारेका थिए । कार्यक्रमबीच नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत २ करोड ३६ लाखको लागतमा नवनिर्मित शैक्षिक भवनको उद्घाटन अर्थमन्त्रालयका सचिव (राजश्व) दिनेशकुमार घिमिरे र अरुण गाउँपालिकाको अध्यक्ष शालिकराम खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उत्कृष्ट आमा सीतामाया मगर पुरस्कृत
श्री शारदा माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अरुण गाउँपालिका वडा नं. ४ निवासी सितामाया मगरलाई उत्कृष्ट आमा घोषणा गरी सम्मान तथा पुरस्कृत गरिएको छ ।
दुःख गरेर आफ्ना सन्तानलाई शिक्षा दिलाउने आमालाई विद्यालयले उत्कृष्ट आमाको रुपमा छनौट गर्ने गरिएको छ । छनौट उत्कृष्ट आमालाई दमक–झापा निवासी गञ्जबहादुर दाहालले आमा स्व. लक्ष्मीमाया दाहाल र पिता स्व. रत्नबहादुर दाहालको समृतिमा स्थापना गरिएको ‘लक्ष्मीरत्न दाहाल आमा सम्मान’ पुरस्कारबाट छनौट आमालाई पुरस्कृत गर्ने गरिएको छ। यसै क्रममा यो वर्ष पुरस्कृत हुने उत्कृष्ट आमा सीतामाया मगरलाई नगद रु. १५ हजार तथा सम्मान पत्र नेपाल सरकारका अर्थसचिव दिनेशकुमार घिमिरे र सहसचिव उत्तरकुमार खत्रीले हस्तान्तरण गरेका थिए । पुरस्कृत मगरका पति १६ वर्ष अगाडि वेपत्ता भएका हुन् । पतिको अभावमा पनि आमाले दुःख गरेर छोरा चुडाबहादुर मगर १० कक्षासम्म पुग्न सफल भएका छन् ।