काठमाडौं । लोकप्रिय कलाकार तथा कन्टेन्ट क्रिएटर पवित्रा शाँकी ‘मिस पबी’ले भविष्यमा राजनीतिमा आउनुपर्ने अवस्था आए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्ने बताएकी छन्। समसामयिक राजनीति, कला यात्रा र व्यक्तिगत जीवनबारे खुलेर बोल्दै उनले अहिलेको अवस्थामा आफू रास्वपाप्रति आकर्षित रहेको प्रतिक्रिया दिएकी हुन्।
एक अन्तरवार्ताका क्रममा राजनीतिमा प्रवेश गर्नुपरे कुन दल रोज्नुहुन्छ भन्ने प्रश्नमा उनले बिना हिच्किचाहट, “अहिलेको अवस्थामा म रास्वपामै जान चाहन्छु,” भन्ने जवाफ दिइन्। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को काम गर्ने शैली मनपर्ने पनि बताइन्। यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीका भाषणलाई भने गम्भीर राजनीतिक अभिव्यक्तिभन्दा मनोरञ्जनको रूपमा लिने गरेको उनले हाँस्दै सुनाइन्।
डडेलधुराकी पबीले आफ्नो पहिचानको आधार नै सुदूरपश्चिमको डोटेली भाषा र संस्कृति भएको बताइन्। टिकटकमा आफ्नै मौलिक लवज प्रयोग गर्दै भिडियो बनाउन थालेपछि दर्शकले मन पराएको र त्यही शैलीले उनलाई व्यापक चिनाएको उनको भनाइ छ। आफ्नो मातृभाषा बोल्न गर्व लाग्ने बताउँदै उनले डेउडा संस्कृतिसँग जोडिएको पहिचानलाई सधैं जोगाइराख्ने प्रतिबद्धता व्यक्त गरिन्।
टिकटकबाट सुरु भएको यात्रा आज म्युजिक भिडियो, स्टेज कार्यक्रम र टेलिभिजनको ‘कमेडी दरबार’सम्म आइपुगेको उनले सुनाइन्। सुरुवातमा कलाकार बन्ने स्पष्ट योजना नभए पनि स्क्रिनमा देखिने चाहना भने मनभित्र रहेको उनले बताइन्।
ग्ल्यामर क्षेत्र बाहिरबाट जति आकर्षक देखिए पनि भित्र निकै चुनौतीपूर्ण रहेको अनुभव उनले सुनाइन्। अहिले आफू व्यस्त रहे पनि नयाँ प्रतिभाको आगमनसँगै प्रतिस्पर्धा झन् कठिन हुने भएकाले निरन्तर मेहनत आवश्यक रहेको उनको बुझाइ छ।
परिवारको आर्थिक अवस्थाले पनि आफूलाई सानैदेखि जिम्मेवार बनाएको उनले बताइन्। कलाकार नै बन्नुपर्छ भन्ने लक्ष्यभन्दा पनि आत्मनिर्भर बन्ने सोचले आफूलाई निरन्तर अघि बढाएको उनको भनाइ छ।
व्यक्तिगत जीवनबारे बोल्दै उनले आफूलाई विभिन्न कलाकारसँग जोडेर आउने प्रेम सम्बन्धका हल्ला निराधार रहेको स्पष्ट पारिन्। म्युजिक भिडियोमा सँगै काम गरेकै आधारमा सम्बन्ध जोडेर चर्चा गरिनु आफूलाई हास्यास्पद लाग्ने उनले बताइन्।
हाल म्युजिक भिडियो र ‘कमेडी दरबार’मा व्यस्त रहेकी पबीले तत्काल फिल्ममा अभिनय गर्ने योजना नरहेको पनि जानकारी दिइन्। उनका अनुसार अहिलेको प्राथमिकता आफूले सुरु गरेको यात्रालाई अझ मजबुत बनाउँदै दर्शकमाझ फरक पहिचान स्थापित गर्नु हो।