दमक । निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि झापासहित तराई मधेसकोे जनजीवन कष्टकर बनेको छ । बुधबारदेखि झापामा घाम लाग्न सकेको छैन । रातदिन निरन्तर बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ ।
कठ्याङग्रिँदो चिसोले विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, दिर्घ रोगी, कर्मचारी, किसान, मजदुर लगायत प्रभावित बनेका छन् । बाक्लो हुस्सु र तुुसारोमा बालबालिका कठ्याङग्रिँदै विद्यालय जाने गरेको देखिन्छ । यद्यपि चिसोले बालबालिका प्रभावित भएपछि विद्यालय बन्द गर्न क्रम सुरु भएको छ । जाडो बिदा सकिएर पुनः सञ्चालनमा आएका विद्यालयले अत्याधिक चिसो बढेपछि पठनपाठन सञ्चालन गर्नै समस्या परेको छ ।
चिसोले शिशु, बालबालिका, वृद्धवृद्धा, दीर्ग रोगी र शारीरिक अवस्था कमजोर रहेका मानिस बिरामी पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिमारीको अस्पतालमा चाप बढेको चिकित्सकहरु बताउँछन् ।
शरीरमा चिसो गढेका मानिसलाई ज्वरो तथा रुघाखोकी आउँदा एक हप्तासम्म समस्या देखिने गरेको चिकित्सकको भनाई छ । घाम नलागेर निरन्तर तुसारो चल्दा किसानलाई गाईवस्तु तथा पन्छीलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । घाम नलागेर असाध्य चिसो हुँदा वस्तुुभाउलाई घाँस तथा आहारा जुटाउन समस्या परेको किसानले गुनासो गरेका छन् । चिसो बढ्दा सडक बजारमा मानिसको चहलपहल कम भएको छ ।
चिसोले जनजीवन असाध्य कष्टकर बनेपनि स्थानीय तहले चिसो प्रभावित मानिसलाई राहत प्रदान गर्न कुनै वास्ता गरेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले केही दलित तथा विपन्न बस्तीमा सिरक, कम्बल र न्यानो कपडा वितरण गरेपनि सबै चिसो प्रभावित समक्ष न्यानो पुुग्न सकेको छैन ।
बाक्लो हुस्सु र तुसारोका कारण पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधन दिउँसो समेत बत्ती बालेर गुड्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई सवारीसाधन सञ्चालन गर्दा गति सिमित गर्न र बत्ती बालेर मात्रै सञ्चालन गर्न सचेत गराइरहेको छ । यता मौसम पूर्वानुमान महाशाखाले बिस्तारै चिसो बढ्दै जाने हुँदा तातो हुने व्यवस्थापन मिलाउन, बालबालिका, ज्येष्ठ नागरिक र दिर्घ रोगहिरुलाई घरबाहिर ननिकाली घरभित्रै न्यानो पारे राख्न अनुरोध समेत गरेको छ ।
सुनसरीमा विद्यालय बन्द
चिसो बढेपछि पूर्वीतराईका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्।यसै क्रममा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक, धार्मिक तथा निजी विद्यालयमा दुई दिन बिदा गरेका हुन् । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय यी पालिकाहरुले गरेका छन् । अहिले पूर्वी तराईका क्षेत्रमा अत्याधीक चिसो बढ्न थालेको छ । बिहान बाक्लो हुस्सु र शितलहर समेत पर्न थालेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गराउने निर्णय भएको हो । यो क्रम अझै बढेमा बिदाको अवधि अझै थप्न सकिने पालिकाका अधिकारीहरुले जनाएका छन् ।