म आज पर्याय साहित्यको कुरा किन उठाउँदै छु, सबैलाई जग जाहेरै छ भन्ने लाग्छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले जुन क्षति ग¥यो, त्यो यो शातब्दीकै सबैभन्दा भयाभह प्राकृतिक प्रकोप बन्यो हाम्रो संदर्भका लागि । अनि यो प्रकोप हाम्रा कारणले भएको पनि थिएन । तर सजाय हामीले पायौं । ‘मकै खाने कालु, कुटाइ खाने कालु’ भने जस्तै भयो ।
वास्तवमा मकै कसले खाएका हुन् ? निले कसरी खाए ? अनि कुटाइ हामीले किन खायौं ? यी प्रश्नका उत्तर खोज्ने समय हो यो । यसको खोजी गर्ने काम अनुसन्धानकर्ताहरूको हो । विज्ञहरूको हो । राजनीतिक नेतृत्वको हो । मकै खाने को को हुन भनेर यसो अध्ययन गर्दा ‘ग्लोबल कार्बोन बजेट (२०२५)’ ले निकालेको तथ्यांक अनुसार धेरै कार्बोन उत्सर्जन गर्दै भूमण्डली तापक्रम बढाएर प्रकृतिलाई असन्तुलित बनाउन भूमिका खेल्ने कालुहरू यस्ता देखिएः
देश ऋइद्द उत्सर्जन्
चीन ३२ %
अमेरिका १३ %
भारत ८ %
युरोपीय युनियन् ६ %
रसिया ५ %
जापान २ %
यो तथ्यांकले त झन के देखाउँछ भने कार्बोन ‘उत्पादन’ गर्ने विश्वकै पहिलो र तेस्रो कालुहरूको बीचमा चेप्टिएका छौं हामी । तर समस्या के छ भने कोही एउटाको पाद मीठो लाग्ने र अर्कालाई गाली गरेर ‘राजनीतिको जीलो टार्नेहरू’ छौं भने कोही अर्काको पाद मीठो लाग्ने र अर्कोलाई गाली गरेर ‘राजनीतिको जीलो टार्नेहरू’ छौं । यसै चिन्तनका भरमा हाम्रा भान्सामा ‘आगो बल्न’ पाएको छ ।
तर अहिले ती भान्सामा फरक मान्छेहरू आएर होला, तिनले ‘मकैको क्षतिपूर्ति तिनै कालुले तिर्नुपर्छ’ भन्न भ्याइरहेका छन् । यो कतिपयलाई सुन्न असहज लागे पनि सत्य कुरा यही हो । भारतीय मिडियाहरूले सुरूमा यो ‘क्षतिपूर्ति’ माग्ने नेपालको आधिकारिक कुरा उठेपछि आपत्ति जनाए, तर अहिले आएर तिनलाई ज्ञान आयो किनभने बाढी आउँदा नेपाली मात्रै रूँदैनन । भारतमा पनि रूवाउँछ । अंतिममा बाढी जाने त त्यतै हो । विश्व समुदायले नेपालको यो ‘जसले मकै खान्छ उसैले बिगो तिर्छ’ को सिद्धान्तलाई समर्थन जनाइरहेका छन् । भारत पनि यसको पक्षमा उभिएको देखिन्छ । चीन र अमेरिका बोलेका छैनन् ।
यो त अहिलेको पाटो भयो पुननिर्माण गर्ने सवालमा । तर भविष्यमा ‘बिकासको मोडल’ कस्तो बनाउने भनेर सोच्ने बेला आएको छ । ‘मानव सभ्यता, ऋषिमुनिहरूको आश्रम नदी किनारमै भएको थियो’ भन्ने बिकासको सनातन मोडल अब असफल भइसक्यो । ‘एकीकृत बस्ती योजना’ बनाएर त्यसै अनुसारको बिकासको मोडल नल्याएसम्म बाढी पहिरोमा यति मरे, उति मरे भनेर ‘समाचार बेच्न’ बाहेक केही हुँदैन । किनभने बर्षेनी यस्ता कथा किन दोहोरिरहन्छन् ? हल गर्नु पर्दैन ? खोला किनार देख्नै नहुने, आप्mना कार्यकर्तालाई बसाइहाल्नु पर्ने, राजनीति त्यहींबाट गरिहाल्नु पर्ने, बर्षेनी भेल बाढीका नाममा फोटा खिच्न र ‘भोटका लागि सहानुभूति बटुल्न’ त्यहाँ पुग्नै पर्ने सत्य समयबाट गुज्रिएर हामी यहाँ आइपुगेका छौं । अब पनि यसैको निरन्तरता हो ? खोला किनारबाट बर्षेनी यस्तै कथा बनाएर ‘राजनीतिको जीलो टारेका’ हरूले अब त थाहा पाए होला नि अस्ति काठमाडौका खोला किनारका ‘अनधिकृत बस्तीहरू’ हटाएको किन रहेछ ? यो मोडल देशैभर लागु गर्न अब यो समय बाध्य छ ।
अहिले मैले देखें, सदनमा सांसदहरूले क्षतिपूर्ति मागे धेरै ग्यास उत्सर्जन गर्ने मुलुकहरूबाट । तिनका कुरा सुन्दै गर्दा मैले निकै अघि पढेको बेलायती कवि फिलिप लार्किनको सन् १९७२ मा लेखिएको कविता ‘गोइङ्ग गोइङ्ग’ को याद आयो । अहिले ‘पर्या साहित्य’ भनेर निकै चर्चा गरिन्छ, तर आधा शताब्दी अघि नै लार्किनले पर्या कविता लेखेका थिए । र भनेका थिए ( कृपया, लण्डनलाई बचाउनुहोस ।
अब हामीले पनि आप्mनो देश र मानव सभ्यता, जो प्रकृतिसंग पूरै जोडिएको छ, लाई बचाउने कविता लेख्नु छ । जाँदा जाँदै लार्किनको मैले नेपालीकरण गरेको बविता पनि पढौं है त, र यस कविताको अंतिम हरफ पनि हेरौं है त ः ‘यो चाँडै आउने छ’ । यो चाँडै आएको भनेको भोटेकोशीको अस्तिको बाढी नै हो । लार्किनको भविष्यबाँणी यही पुगेको प्रतीत भएको छ अहिले ।
गोइङ गोइङ
फिलिप लार्किन्
मलाई लाग्थ्यो, आजीवन यो रहिरहनेछ-
यो विश्वास कि सहरभन्दा पर,
सधैँ खेतीका फाँटहरू हुनेछन्,
जहाँ नढालिएका रूखहरूमाथि
गाउँका केटाकेटी चढ्न सक्नेछन्
मलाई थाहा छ, पत्रपत्रिकामा
पुराना गल्लीहरूबारे झूटा हल्ला चल्नेछन् ः
बहुस्तरीय बजारहरूबारे पनि,
केही ठाउँहरू त
यतिन्जेलसम्म जोगिएकै छन्,
अनि जब पुरानो बस्ती हट्नेछ,
निराशाजनक गगनचुम्बी भवनहरू ठडिँदै गर्दा,
हामी गाडी चढेर
कतै टाढा हुईंकिन सक्नेछौँ ।
प्रकृति हामीभन्दा कठोर छ
जसरी पृथ्वीले सधैँ प्रत्युत्तर दिनेछ,
हामीले त्यसलाई जति नै अस्तव्यस्त पारौँ;
मन लागे समुद्रमा फोहोर फालौ(
तर ज्वारभाटापारि पानी फेरि स्वच्छ हुनेछ ।
(तर अहिले म के महसुस गर्छु?
संशय? वा केवल उमेरको प्रभाव?
एम(वनको क्याफेमा भीड
अझै जीवन्त छ;
तिनका केटाकेटीहरू चिच्याइरहेका छन्
(अझै चाहियो !
थप घरहरू, थप पार्किङको अनुमति,
थप काराभान बस्ने ठाउँहरू, थप ज्याला ।
व्यापारिक पृष्ठमा चस्माधारी
हाँसोका समर्थन् आइरहेछन् ।
कुनै कम्पनी कब्जा गर्ने प्रस्ताव स्वीकार
जसमा पाँच प्रतिशत नाफा सुनिश्चित छ
(र नदीमुखहरूमा दस प्रतिशत अझ बढी)ः
आफ्ना कारखानाहरू सार(
अछुतो रहेका ती उपत्यकातिर,
‘ग्रे एरिया’ अनुदान पाइन्छ !
र जब
गर्मीमा समुद्रको नजिक पुग्न
तिमी प्रयास गर्छौ, तिमी नै रहन्नौ
अहिले त यस्तो लाग्छ,
सबै कुरा शसक्त भइरहेछ;
पहिलोपटक,
यति धेरै खुला भूमि बाँकी हुँदाहुँदै पनि,
मलाई कताकता लाग्छ(
यो अब टिक्नेवाला छैन,
कि म मर्नुअघि नै
सम्पूर्ण भूभाग इँटाले छोपिनेछ,
पर्यटकहरूका लागि छुट्याइएका ठाउँहरूबाहेक(
युरोपको पहिलो झुपडपट्टी पनि अस्ताउने छ
त्यो उपाधि जित्न गाह्रो हुने छैन,
ठग र वेश्याहरूको
एउटा समय जन्मिने छ ।
र त्यसपछि इङ्ग्ल्यान्ड हराइसकेको हुनेछ(
ती छायाँहरू, ती घाँसे मैदानहरू, ती गल्लीहरू,
ती हलहरू, गायकदीर्घाहरू ।
पुस्तकहरू रहनेछन्; त्यसको स्मृति सिर्पm
सङ्ग्रहालयका दीर्घाहरूमा टिकिरहनेछ ;
तर हाम्रा लागि बाँकी रहनेछ
कङ्क्रिट र गाडीका टायरहरू मात्र ।
धेरैजसो कुराहरू शास्वत छन्
तर सायद यो पनि रहनेछैन;
तर लोभ र फोहोर यति मजबुत छन्
कि अब तिनलाई बढारेर हटाउन सकिँदैन,
न त तिनलाई ‘आवश्यकता’ साबित गर्ने
कुनै बहाना नै सिर्जना गर्न सकिन्छ ।
मलाई केवल यस्तो लाग्छ–
यो चाँडै नै हुनेछ ।
– दमक, झापा