देश–समाज विचार/वहस स्थानीय

हिमताल विस्फोट र क्लाइमेट वारको अवस्था

नेपालमा हिमताल विस्फोट बाट क्लाइमेट वारको अवस्था सृजना भइसकेको छ । नेपालको हिमताल विस्फोट र जल प्रलयले गर्दा आम नेपाली रुको जीवनमाथि ठूलो आपत विपत् आई परेको छ ।
हजारौं मानिस हराई रहेका छन्, हजारौं मानिसको जीवन बाढीको महा विनाशकारी विध्वंसमा परी समाप्त भई सकेको छ । हजारौं मानिस बाढीको उग्र विनाशकारी आक्रमणमा घाइते भई अस्पताल र राहत शिविरहरूमा छटपटाई रहेका छन् । हजारौं मानिस घर बार विहीन बन्न पुगेका छन् ।
सयौ बाल बालिकाहरु आफ्ना आमा बाबु र सरंक्षकहरु गुमाउनुपर्दा अनाथ बनेका छन् । हजारौं मानिसको घर खेतवारी ,व्यापार ,उद्योग, कल कारखाना र जीवन यापन गर्ने आधारहरु गुमेका छन् । देश नै शोकको अवस्थामा छ । सरकारले घटीमा पनि तीन महिनाको लागि बाढी प्रभावित क्षेत्रहरूलाई आपदा प्रभावित क्षेत्र भनेर घोषणा गरेका छन् । बाढी प्रभावित क्षेत्रका अधिकांश मानिसहरू एक्कासी घर न घाटको बन्न पुगेका छन् ।
बाढी पीडितहरुलाई अस्थायी रूपले बनेका घरहरू तथा त्रिपाल मुनि रहेको टहराको घरहरूमा बस्न र खान पाउने गरी सरकार तथा दान दाता र सामाजिक संघ संस्थाहरूले आवश्यक प्रबन्धहरू मिलाई रहेका छन्।बाढीमा परेर ज्यान गुमाउनेहरुको खोजी र व्यवस्थापन गर्ने कार्यमा नेपाली सेना र प्रहरी प्रशासन अहोरात्र खटि रहेका छन्। बाढीले बगाएर लगेका लासहरू भारतीय सिमाना भित्रका नदीहरूमा समेत भेटिएका छन् । राहत र उद्धारका कार्यहरूमा लागेर नेपाली सेनाका जवानहरुले अदम्य साहस देखाएर बाढीमा फसेकाहरूको उद्धार गरिरहेका छन् । स्वयंसेवी संस्थाहरूले पनि बाढी पीडित क्षेत्रहरूमा मानवीय सेवा कार्य गर्दै बाढी पीडितहरूको लागि लत्ता कपडा खाने कुराहरु लगायतका नभई नहुने सर सामानहरू उपलब्ध गराइरहेका छन्। भारत चीन अमेरिका अस्ट्रेलिया भुटान श्रीलंका युएइ बंगालादेश लगायतका थुप्रै देशहरुबाट राहत र उद्धारकार्यमा सहयोग पुग्ने प्रविधि र विषेशज्ञ हरू लगायत राहत सामग्रीहरूको ओइरो लाग्न थालेको छ ।
आआफ्नो घर भित्रै बाट थोरै थोरै भएर पनि नेपालका गाउँ गाउँ बाट र शहर शहर बाट स्थानीय समुदायहरूले राहत संकलन गरेर बाढी प्रभावित क्षेत्रहरूमा पठाउन थालेको छ । तर त्यतिले मात्र बाढीले सृजना गरेको समस्याहरूको समाधान सम्भव देखिँदैन । माटो मुनि पुरिएका लासहरु निकाल्न सेना र प्रहरीलाई जति कठिन छ त्योभन्दा बढी चुनौतीपूर्ण कार्य कुहिन लागेको दुर्गन्धित लाशहरुलाई व्यवस्थित तरिकाले आफन्तहरुलाई जिम्मा लगाउनु पनि हो ।
बाढीमा हराइरहेका व्यक्तिहरूहरूको कुनै अत्तोपत्तो नपाउँदा उनका आफन्तहरूले मरिसकेको ठानेर कुसाको लाश बनाएर सनातन धर्मको परम्पराअनुसार चितामा लगेर दाहसंस्कार गर्ने गरेको देखिन्छ । दुःख र संवेदनाको यस घडीमा सरकारले पुरै शक्ति लगाएर उद्धार र राहत कार्यहरू चलाइरहेको छ । हिमताल विस्फोट भएको बाह्रौँ दिन बितिसक्दा पनि बाढी पिडितहरूको वास्तविक तथ्यांकहरू पत्ता लगाउन सकिएको छैन । कति घर बगे कति मानिस हताहत भए कति मानिस घाइते भए कति मानिसको उद्धार गरियो कति मानिस अस्पतालमा उपचार पाइरहेका छन् कति मानिस राहत शिविरहरुमा राहत पाइरहेका छन् आदि इत्यादि लगायतका कुराहरुबारे अहिलेसम्म पनि यथार्थ तथ्यांक संकलन गर्न सकिएको छैन ।
बाटोघाटो पुरिएको छ, विद्यालयहरू पुरिएको छ, विद्यालयमा पढ्ने छात्र छात्राहरूको किताब कपी झोला ब्याग जुत्ता लगायतका आवश्यक सामानहरू समेत बाढीले बगाएर लगिसकेको छ । बाढी प्रभावित क्षेत्रहरूमा गाँस बास कपास शिक्षा, स्वास्थ्य रोजगारी लगायतका सबै आधारभूत सुविधाहरू माथि प्रश्न चिन्ह खडा भएको छ । बाढी पीडितहरूलाई पुनर्वास लगायत रोजगारीका कुराहरू बारे सरकार अझै गम्भीर भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देशभित्र विद्यमान रहेका र बाढीबाट तत्कालै सिर्जित समस्याहरूलाई केही मात्रामा थामथुम पार्न त सकिन्छ तर सबैभन्दा डरलाग्दो सत्य र तथ्य के छ भने नेपालमा हिमाली क्षेत्रबाट आउने संकटहरुलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा यक्ष प्रश्नको रुपमा उत्पन्न भइरहेको छ ।
हिमालय क्षेत्र लगातार तातिँदै गइरहेको छ । हिमालमा जमेका हिउँ जलवायु परिवर्तनका कारणले लगातार पग्लिँदै गइरहेको छ । सधैँ सेतो देखिने हिमाल बिस्तारै बिस्तारै कालो पहाड भएको हिमालमा रूपान्तरण हुन थालेको छ । हिमालय क्षेत्रमा लगातार फोहर र प्रदूषण बढ्दै गइरहेको छ । क्लाइमेट चेन्ज र क्लाइमेट क्राइसिसले गर्दा पृथ्वीको तापक्रम लगातार वृद्धि हुँदै गइरहेको छ ।
यसले गर्दा वातावरणमा रहेको विभिन्न किसिमका ग्याँसहरूको अनुपात र सन्तुलन पनि बिग्रिँदै गइरहेको छ । वनविनाश, र औद्योगिक प्रदूषणले गर्दा वायुमण्डलमा कार्बन डाइओक्साइड ग्यासको मात्रा लगातार बढ्दै गएर संसारकै वातावरणीय सन्तुलन खलबलिन थालेको छ । वातावरणीय सन्तुलनलाई कायम राख्न वैश्विक रुपमै प्रयास गरिए पनि वातावरण सन्तुलन दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ । जसले गर्दा अत्याधिक बाढी सुखा अनिकाल खडेरी पहिरो हिमताल विस्फोट लगायतका प्राकृतिक संकटहरू दिनप्रतिदिन अझ भयानक रुपमा आइरहने सम्भावनाहरु बढ्दै गइरहेको छ ।
प्रकृतिलाई संरक्षण गरिएन भने प्रकृतिले नै महाविनाश सृजना गरी संसारलाई सन्तुलनमा ल्याउने कुरालाई विभिन्न पौराणिक कथाहरूमा बताइएको छ । नेपालमा भएको हिमताल विस्फोटको प्रकृति जतिसुकै भयानक र आकस्मिक भएपनि हिमताल विस्फोट हुन सक्ने सम्भावनाहरूलाई वातावरण वैज्ञानिकहरूले पटकपटक औल्याइराखेकै थिए ।
मानव समाज अत्याधिक भौतिकवादी र स्वार्थी जीवन बिताई रहेको सन्दर्भमा हिमताल विस्फोटको घटना र सन्दर्भलाई जोडेर पनि अध्ययन गर्न सकिन्छ । अहिले हिन्दुकुश हिमालमा करिब २५ हजारभन्दा बढी हिमतालहरू बनिसकेका छन् । स्वयम् समायोजित हुने किसिमले प्रकृतिले स्वयं हिमतालहरूलाई बनाउने र भत्काउने कार्य गरिरहेको हुनाले हिमताल विस्फोटबाट उत्पन्न हुन सक्ने खतरा र त्रासलाई घटाउन र हटाउन मानव समाज अत्यन्त विवेकशील र प्रकृति प्रेमी हुनु जरुरी छ ।
नेपालमा भदौ १० गते भएको हिमताल विस्फोटको दुर्घटना सामान्य घटना होइन यो एक किसिमको क्लाइमेट वार हो । नेपाल विरुद्ध प्रकृतिले गरेको अन्यायपूर्ण क्लाइमेट वारले नेपालको जल जमिन जंगल र जनसाधन सबै संकटमा परि सकेको छ । हिमताल विस्फोट जति नेपालको लागि दुर्भाग्यपूर्ण छ त्यति नै भारतको लागि पनि दुर्भाग्यपूर्ण मान्न सकिन्छ । नेपालका ६ हजारभन्दा बढी नदीहरूबाट बगेर गएको पानी भारतको लागि पनि घाँडो र संकट सिर्जना गर्ने चेतावनीको रुपमा लिन सकिन्छ ।
हाम्रो हिमालय क्षेत्र लगातार अस्थिर बन्दै गइरहेको छ । हिमालय पारिका विशाल देश चीनमा यति धेरै औद्योगिक क्रान्ति र प्रविधि हरूको विकास भइसकेको छ कि तिनीहरूले हिमालय क्षेत्रमा व्यापक रूपमा बाटोघाटो पुलपुलेसा बाँध निर्माण गरी आफ्नो प्राकृतिक साधनहरूलाई दोहन र व्यवस्थित गर्ने प्रयास गर्दै लगेपछि तथा पहाड फुटाएर खेतीपाती गर्ने गरेको जस्तो कारणहरूले गर्दा हिमाल क्षेत्रमा लगातार भूकम्प आउने र भूकम्पको पराकम्पन बढ्दै जाने अवस्थाहरू पटकपटक सृजना हुँदै गएको देखिन्छ ।
नेपाल र भारत एउटै नदी प्रणालीसँग जोडिएको हुनाले प्राकृतिक आपत विपत र संकट दुवैतिर साझा संकटको रुपमा आउने गरेको देखिन्छ। भारतको हिमाचल प्रदेश उत्तराखण्ड लगायतका क्षेत्रहरू मा लगातार प्राकृतिक संकट बढ्दैछ नेपालको शिवालिक चुरे र तराई क्षेत्र लगातार प्राकृतिक संकटको विभिसीका झेल्दैछ । बाढी आउनु पूर्व अथवा हिमताल विस्फोट हुनुभन्दा पूर्व कुनै पनि किसिमको भविष्यवाणी गर्न सकिँदैन । यो घटना घटित भएपछि मात्रै थाहा हुने कुरा हो ।
आज नेपाल र भारतको बिहार उत्तरप्रदेश र उत्तराखण्डको साझा चिन्ताको विषय कोशीको बाढी अथवा भोटेकोशी वा बागमती नदीको बाढीको पानी होइन वास्तविक चिन्ता चाहिँ चीनको तिब्बत र हिमालय क्षेत्रमा लगातार बदलिँदै र बिग्रिँदै गइरहेको वातावरणीय सन्तुलनको अवस्था हो जुन लगातार तातिँदै गइरहेको छ । हिउँका अग्लाअग्ला ठूलाठूला पहाडहरू तातिएपछि जब फुट्छन् र झरेर हिमताल माथि बज्रिन्छन् तब हिमताल विस्फोट हुन्छ र यसबाट निस्किएको पानीले बाढीको रुप धारण गर्दा परमाणु बमको विस्फोटले पुर्याएको हानी नोक्सानी भन्दा बढी मानवीय क्षति पुर्याउँदछ । जसलाई रोक्न जलवायु परिवर्तनलाई सन्तुलनमा ल्याउन जरुरी छ ।
धरतीलाई अत्याधिक तातिनबाट जोगाउनु पर्दछ धुलो धुवा ग्यास पेट्रोलियम पदार्थ परमाणु विस्फोट बमबारुदको प्रयोग आदि इत्यादिलाई धर्तीबाट सधैंको लागि विदाई गरेपछि मात्र वातावरण आफ्नो मौलिक स्वरूप हासिल गर्न सक्छ अनि मात्र नेपाल जोगिन सक्छ ।

Author

You may also like