सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशमा चुनावी माहोलमा देखिन थालेको छ । यसले स्थानीय तहमा नेतृत्व गरिरहेका जनप्रतिनिधिको आफ्नो क्षेत्रमा भएको कामको मूल्याङ्कन गर्ने अवस्थामा पुगेका छन् । स्थानीय निर्वाचनताका आफूले गरेका प्रतिबद्धता कति पूरा भए भन्ने जनताले मूल्याङ्कन गर्ने बेला समेत आएको छ । झापा जिल्लाको पश्चिम दक्षिण भरतीय सीमासँग जोडिएको गौरीगञ्ज गाउँपालिका नदी नै नदीले घेरीएको छ । पाँचवटा वडा रहेको यो पालिकाको पूर्वमा कन्काई नदीले सीमा क्षेत्र निर्धारण गरेको छ भने झापा र मोरङ जिल्लाको सीमा भएर बग्ने रतुवा नदीले पश्चिम सीमा निर्धारण गरेको छ । यस्तै उत्तरमा गौरादह नगरपालिका र दक्षिणमा भारतको बिहार राज्य पर्दछ । भारतसँगको खुला सीमा रहेकाले अतिक्रमणदेखि चोरी, तस्करी, डकैती, लुटपाटका घटना अहिले पनि मुख्य चुनौतीका रुपमा रहेका छन् । पालिकाको पूर्वी र पश्चिम सीमा ठूला नदी साथै बीचमा पर्ने किस्ने, गेउरिया रामचन्द्रे लगायतका दर्जनौं खोला खोल्सीमा आउने बाढीबाट हरेक वर्ष जमिन कटान, डुबानमा पर्नु अर्को समस्या हो । आफ्नो पालिकामा नदी कटान, सडक निर्माण, विद्युत विस्तार, शिक्षा, स्वास्थ्य, क्षेत्रमा भएको उल्लेख्य परिवर्तनले आफ्नो कार्यकाल सफल भएको महसुश गरेको झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । आफ्नो कार्यकाल अन्तिम अवस्थामा पुग्दै गर्दा विकास निर्माण र सुशासननको क्षेत्रमा कस्तो परिवर्तन भएको छ भन्ने लगायतका विषयमा पूर्वसन्देश दैनिकले गरेको कुराकानीः
♦ अहिले तपाई आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको विषयलाई कसरी लिनुभएको छ ?
⇒ लोकतन्त्रमा पार्टी परित्याग गर्नु परिवर्तन गर्नु आफ्नो ब्यक्तिगत स्वतन्त्रताको विषय हो । यति हुँदै गर्दा अध्यक्षसमेत रहेर लामो समयदेखि नेतृत्व गर्नुभएका हाल निवर्तमान अध्यक्ष रहेका जिम्मेवार नेताले आफू माहाधिवेशनमा पराजय हुनासाथ पार्टी परित्याग गर्नु आम कार्यकर्ता र शुभेच्छुकको भावनामा कुल्चनु हो । यसले उहाँको राजनीति र ब्यक्तिगत जीवनमा समेत ठूलो क्षति गर्ने मैले मूल्याङ्कन गरेको छु । यसले लोकतन्त्र मान्ने आम नेपाली नागरिकलाई समेत राम्रो सन्देश दिएन भन्ने मेरो बुझाई हो ।
♦ पार्टीका निर्वतमान अध्यक्ष कमल थापाले अर्को पार्टी खोल्ने घोषणा गर्नु भयोे तपाईं कता रहनु हुन्छ ?
⇒ कमल थापाले पार्र्टी फुटाएको होइन उहाँ आफू बाहिरिनु भएको हो । त्यसकारण हामी आम पार्टीका कार्यकर्ता तथा नेताले संस्थापन पक्षमा रहेर पार्टी नयाँ उचाइमा पुर्याउन आवश्यक छ । यो संकटको बेला पार्टी छोड्नेको पछि होइन, पार्टी जोड्नेको पक्षमा उभिनु पर्छ । मलाई कुनै दुविधा छैन, प्रष्ट छु म आवद्ध पार्टीभन्दा अन्यत्र विचलन हुने छैन । सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको अवस्थामा पार्टीलाई विजयी बनाउनु पर्ने भूमिका निर्वाह गर्नुको सट्टाा पार्टी छोडेर नयाँ पार्टी खोल्नुको कुनै अर्थ रहँदैन । यसले कसैको ब्यक्तिगत महत्वकांक्षा त पूरा होला तर राजनीतक उपलब्धी हुने छैन ।
♦ तपाईको क्षेत्रमा कमल थापाको पक्षमा कति कार्यकर्ता बाहिरिने अवस्था छ ?
⇒ अब कोही पनि कार्यकर्ता उहाँको पछि लाग्ने छैनन् । थापाले अप्रत्यासित पार्टी परित्याग गर्नु राम्रो कुरा होइन । पार्टी छोडेर फुटाएर गएका भए ठूलो धक्का लाग्ने थियो । परित्याग गरेर अर्को गठन गर्दा पार्टीलाई त्यति ठूलो समस्या आउँदैन । पार्टीलाई सबै कार्यकर्ताले एक भएर चुनावी सामना गर्नुको विकल्प छैन । आफ्नो क्षेत्रमा पनि थापाको पक्षमा कोही पनि जाने बुझिएको छैन ।
♦ तपाई अब पुनः गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ ?
⇒ यसमा मेरो इच्छाले मात्र हुन्न मुख्य कुरा पार्टीले मलाई कस्तो जिम्मेवारी दिन्छ त्यसैले निर्धारण गर्छ । मेरो ब्यक्तिगत इच्छा चाहीँ बाँकी रहेका विकास निर्माणका काम पूरा गर्न एकपटक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने इच्छा रहेको छ । यो क्षेत्रका जनताको चाहनालाई पूरा गर्न पनि मैले आफूले पुनः नेतृत्वको चाहना राखेको छु । वितेका साढे चार वर्षमा यो क्षेत्रमा कस्ता कस्ता समस्या छन् भन्ने पहिचान भइसकेको छ । त्यसैले यि समस्या समाधान गर्न मैले आफ्नो जिम्मेवारी सम्झेको छु ।
♦ स्थानीय सरकार प्रमुखको रुपमा निर्वाचित भएको पाँच वर्षमा गाउँपालिकामा के कस्ता विकासका काम भए ?
⇒ स्थानीय सरकार अर्थात् स्थानीय तह गठन भएपछि गौरीगञ्ज गाउँपालिकाको पूर्वाधार विकास नै मुख्य प्राथमिकतामा राखिएको थियो । यसको उपलब्धि स्वरुप अहिले अधिकांश ग्रामीण इलाकाका बस्तीहरुसम्म नै ग्राभेल सडक पुगिसकेको छ । अब कुनै पनि बस्तीमा एम्बुलेन्स, दमकल लगायतका सवारीसाधन सजिलै पुग्न सक्ने अवस्था रहेको छ । यस्तै पालिका अन्तर्गत ९५ प्रतिशत घरहरुमा बिजुली बत्ती पुगेको छ । यस्तै यो पालिकाको मुख्य विकास अर्थात् मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्गको काम तिब्र रुपमा अघि बढाउन विवाद मिलाउने देखि अन्य सहजिकरणमा भूमिका खेलेको छ । यो बीचमा पालिका अन्तर्गतको बजेटबाट मात्र ३० वटा कल्भर्ट, २ वटा पक्की पुल, निर्माणको काम सम्पन्न भएको छ । यस्तै पालिकाका अधिकांश क्षेत्र ग्रामीण कृषियोग्य भूमि र धेरैजसो सर्वसाधारण समेत कृषि पेशामा आवद्ध भएकाले कृषि क्षेत्रको विकासका लागि किसानलाई ३० वटा पावर टेलर मेशिन, २ सय बढी स्प्रे ट्याङ्की, भूमिगत सिँचाईका लागि ५ सयभन्दा बढी किसानलाई समेट्ने गरी १ सयवटा डिप बोरिङ वितरण गरिएको छ । यस्तै मकै छोडाउनेदेखि धान काट्ने, रोप्ने मेशिन समेत वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत ल्याव परीक्षण, भिडियो एक्स रे निःशुल्क गरिएको छ ।
♦ स्थानीय सरकारले जनताका प्रत्यक्ष तत्काल दिने सेवाका काममा कसरी जोडिनु भएको छ ?
⇒ जनतासँग प्रत्यक्ष जोडिने काम सबैभन्दा प्रभावकारी भएको छ । हामीले पालिका अन्तर्गत रहेको सबैभन्दा धेरै बिपन्न परिवारलाई सुरक्षित घर बनाएर राख्न सकेका छौं । हालसम्मको कार्यकालमा पालिकाभित्र रहेका १ सय ३९ वटा घर निर्माण गरेर विपन्न परिवारलाई प्रदान गरिसकेका छौं । अन्य ६१ वटा घर चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । कुल २ सय जनालाई नयाँ घरमा राख्ने योजना रहेको छ भने अन्य ४ सय परिवारलाई फुसको छानो हटाएर टिनको छानो फेरिएको छ । जनतालाई शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले गापामा ४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन् । एउटा खानेपानी योजना सञ्चालनमा रहेको छ । यो गापामा सबैभन्दा धेरै नदी कटान र डुवानको समस्या हुने भएकाले आपतकालिन उद्धार सामग्री खरिद गरिएको छ भने वर्षात्को समयमा यो जोखिम उच्च रहने भएकाले ५० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यस्ता समस्या समाधानमा स्थानीय सरकारको मात्र प्रयास पर्याप्त नहुने भएकाले संघीय प्रदेश सरकारको समेत सहयोग आवश्यक पर्छ । नदी कटान नियन्त्रणका लागि जिल्लामा जनताको तटवन्धन कार्यालयमार्फत् पनि केही काम भएका छन् । यस बाहेक पालिकाको बजेटले केही उच्च जोखिम क्षेत्रमा कटान नियन्त्रणको काम भएको छ ।
♦ गापाको दक्षिण क्षेत्रको अधिकांश भू–भाग भारतको विहार राज्यसँग जोडिएको छ सीमा क्षेत्रमा कस्ता समस्या रहने गरेका छन् ?
⇒ पाँच वटा वडा रहेको यो पालिकामा वाड नम्वर ३ बाहेक अन्य चारवटा वडा भारतसँग सीमा जोडिएका छन् । खुल्ला सीमा क्षेत्र भएकाले भारतबाट हुने सीमा अतिक्रमण सबैभन्दा ठूलो समस्या हो । यस बाहेक सीमा क्षेत्रका नेपाली बस्तीमा हुने चोरी, तस्करी, लुटपाटका घटना समेत वर्षौंदेखि हुने गरेका छन् । सीमा क्षेत्रका हरेक बस्तीका मानिसले लुटपाट र डकैती चोरी तस्करीको घटना नबेहोरेको सायदै कमै होला । केहीले राती सीमा पारीबाट लुट्न आएका समूहसँग भिड्दा ज्यान समेत गुमाएका छन् भने धेरैको धनमाल सम्पत्ति र चौपाया समेत लुटेर लाने गरेका छन् । अहिले नेपालको तर्फबाट समेत सीमा सुरक्षा पोष्ट स्थापना भएपछि खुलेआम लुटपाटमा केही कमी भएको छ । राती चौपाया लुटपाट हुने क्रम भने रोकिएको छैन । गौरीगञ्ज गापाको सीमा क्षेत्रमा मात्र अहिले पाँच स्थानमा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भइसकेको छ । धेरै लामो सीमा क्षेत्र भएकाले सुरक्षामा अझैपनि चुनौती देखिएको छ । अहिले पनि गौरीगञ्जबाट भारत जाने फत्तेपुर सीमा क्षेत्रमा भारतीय पक्षबाट दशगजामा नै ठूलो बस्ती रहेको छ । यो बस्ती केन्द्र सरकारको पहल बिना हाम्रो मात्र प्रयासले उठाउन सकिएको छैन । यो भन्दा केही पूर्वमा समेत भारतीयबाट नेपालको जमिनमा अतिक्रमण गरिएको छ । यसरी सीमा सुरक्षा गर्दै विकासको काम अघि बढाउने चुनौती पनि हामीले भोगिरहेका छौं ।
♦ निर्वाचनमा गरिएका प्रतिवद्धता कति पूरा भए ?
⇒ निर्वाचनमा गरिएका प्रतिवद्धता केही बाहेक अधिंकाशलाई कार्यकाल पूरा हुँदा लक्ष पनि पूरा गर्न सक्छु भन्ने लागेको छ । यहाँ निर्माण गर्ने भनिएको लोकसेवा सदन भवन निर्माणको काम जग्गा विवादका कारण पूरा गर्न सकिने अवस्थामा छैन । त्यस्तै अर्को काम भनेको शिक्षामा सोचे अनुसारका सुधार गर्न नसकीएकोमा पछुतो लागेको छ । विपन्न आवास कार्यक्रम अन्तर्गत तराई मधेश समृद्धि, प्रधानमन्त्री आवास कार्याक्रम लगायत योजना समेत गरी ५ सय घर निर्माण गर्ने लक्ष पूरा हुन्छ । जिल्लाकै पुरानो बजार भएकाले यहाँ रहेको छोटी भन्सारलाई भन्सार नाकाको रुपमा विकास गरी गौरीगञ्जलाई सुरक्षित व्यावसायिक बजार बनाउने लक्ष्य रहेको छ ।
♦ तपाइले प्रतिबद्धता गरेका कुन कुन काम गर्न सक्नु भएन ?
⇒ मैले मेरो कार्यकालमा प्रतिबद्धता ब्यक्त गरेका मध्ये गौरीगञ्जमा निर्माण गर्ने भनिएको लोक सेवा सदन (अतिथी सदन) निर्माणको काम गर्न सकिएन । अतिथि सदन निर्माण गर्ने भनिएकोमा जग्गा विवाद भइ मुद्धा परेका कारण यो काम पूरा गर्न सकिएन । त्यस्तै यही गापाको वाड नम्वर १ मा निर्माण गर्ने भनिएको खेल मैदान समेत निर्माण गर्न सकिएको छैन । बाँकी धेरै काम पूरा भएकोमा कार्यकाल सफल भएको महशुस गरेको छु ।