समाचार

७० करोडमा रतुवा–मावा तटवन्धन बाँध निर्माण गरिंदै

—टीकाराम उप्रेती—

दमक/ झापाका धेरै जसो ग्रामीण क्षेत्रमा पुग्दा अधिकांश सर्वसाधारणको गुनासो एउटै हुने गरेको थियो । उनीहरुको साझा प्रश्न हो नदी कटानको समस्या कहिले समाधान हुन्छ ? जिल्लामा नदी आसपासका बासिन्दाले कटानको पीडा नभोगेको सायदै होला । केहीसंग त अहिले पनि सिरानीमा धेरै बिगाहा जग्गाका धनीपुर्जा छन् तर जग्गामा खोलो बगिरहेको छ । कहिले नदीको धार परिवर्तन भएर पूर्व किनारमा क्षति गर्छ त कहिले पश्चिम दिशामा बेलुका न्यायो ओछ्यानमा सुतेका मानिसले बिहान उज्यालो हुन नपाउँदै एकै घण्टामा घरवारबिहिन सुकुम्वासी हुनु परेका धेरै घटना छन् ।
जिल्लाभित्र धेरै जसो बस्तीमा पुग्दा यि र यस्तै जनताका गुनासा सुनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै बेला स्थानीयवासी लाई सम्बोधन गर्दै भनेका थिए– रतुवा र मावा खोलाका पाता कस्ने छु् । यो भनाइले तत्काल नदी कटानमा परेका जनतामा ठूलै आशा जगाएको थियो । यही आशा नदीहरुमा तटबन्धनको काम शुरु भएपछि आज आएर भरोसामा परिणत हुँदै गएको महशुस गर्न पाएका छन् ।
झापाका रतुवा, मावा, कनकाई, बिरिङ, कमल, मेची लगायतका नदीले कटान गरेर धेरै क्षति गर्ने गरेको तथ्याङ्कले पुष्टि गर्छ । यसरी नदी कटानका घटना अत्याधिक भएपछि नियन्त्रणका ठूला ठूला काम अघि बढेका छन् । पछिल्लो समय जिल्लामा हरेक वर्ष वर्षाको बाढीका कारण नदी कटानबाट ठूलो मात्रामा धन–जनको क्षति गर्ने रतुवा र मावा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको काम तीब्र रुपमा अघि बढाइएको छ ।
कटानको उच्च जोखिममा रहेका क्षेत्रलाई पहिचान गरी रतुवा र मावा खोलाको दुवै किनारका १९ स्थानमा ११ किलोमिटर ८१७ मिटर लामो स्थायी तटवन्धनको काम भइरहेको छ । यस अन्तर्गत पहिलो चरणमा रतुवा खोलाको पूर्वतर्फ किनार कमल गाउँपालिका–६ को खयरवारीमा लगभग ५ सय मिटर लामो क्षेत्रमा तटबन्धनको काम भइरहेको छ । यस्तै दमक नगरपालिका–८ स्थित इलाका प्रशासन कार्यालय दक्षिण रतुवाको खोलाको पश्चिम क्षेत्रमा दुई स्थानमा तटवन्धनको काम भइरहेको छ ।
तटबन्धनका लागि एशियाली विकास बैंक (एडिवी) को नेपाल सरकारलाई प्राप्त अनुदान रकम अन्तर्गत ७० करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, जलस्रोत तथा सिँचाई विभाग अन्तर्गत झापामा जनताको तटबन्धको कार्यालय मार्फत् सञ्चालन भएको हो । निर्माणको जिम्मा पाएको एचजेट÷एमसी÷मैनाचुली÷रोशन जेभीका फिल्ड कन्ट्याक्टर इञ्जिनियर उपेन्द्र शर्माका अनुसार चालु आर्थिक वर्षमा २ किलोमिटर तटबन्धनको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
उक्त तटबन्धनको सम्पूर्ण काम तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मैनाचुली निर्माण कम्पनीका प्रबन्धक मदन अधिकारीले बताए । सम्झौता भएको आठ महिना बितिसकेकाले काम तिब्र रुपमा अघि बढाउनु पर्ने छ । सम्झौता अनुसार गत भदौ असोजमा नै फिल्ड सर्भेको काम अघि बढेको थियो तर गत कातिक महिनामा अचानक आएको वर्षाका कारण नदीले धार परिवर्तन गरी पहिला गरेको सर्भेलाई असर ग¥यो । बाढीले विभिन्न नयाँ स्थानमा कटान गरेकाले पुनः सर्भे गर्नुपर्दा काममा केही ढिलाई भएको प्रबन्धक अधिकारीले बताए । अब सम्झौता मिति भन्दा अघि नै काम सम्पन्न गर्ने योजनाका साथ काम अघि बढेको अधिकारीको भनाइ छ ।
उक्त योजनाको डिपिआर अनुसार रतुवा र मावा खोलाको तटबन्धनलाई बहुउपयोगी रुपमा प्रयोग गर्न सकिने छ । इञ्जिनियर शर्माका अनुसार तटबन्ध नदीको सतहभन्दा ३ मिटर ६० सेमी अग्लो हुनेछ । त्यस्तै ५ मिटर चौडाई रहने बाँधको अर्कोतिर खेतीको पानी निकास हुने ढल समेत निर्माण गरिने जनाइएको छ । बाँधको माथिल्लो भागमा ४ मिटर चौडामा ग्राभेल गरेर सडकको. रुपमा प्रयोग गर्न सकिने योजना रहेको छ । त्यस्तै बाँधको दायाँ–बायाँ माटो दरिलो बनाउने उद्देश्यले लामो जरा फैलने प्रजातिका विरुवा लगाउने सम्झौता रहेको छ । यसले बाँधलाई मजबुत बनाउन मद्दत गर्दछ भने वातावरण समेत स्वच्छ राख्ने योजना रहेको छ ।
कमल–६ को गोहाबारी, खयरबारी, वडा नं. ७ को लालधन्द्रा लगायतका गाउँ हरेक वर्षायाममा जलमग्न हुने गरेका छन् । रतुवा किनारका बासिन्दा भारी वर्षा भएको रात राम्ररी सुत्न समेत नपाउने गरेको कमल–६ गोहावारीका रुद्रप्रसाद पौडेलको भनाई छ । कतिखेर बाढी आउँछ र भाग्नु पर्ला भन्ने पीर हुने गरकोे भन्दै उनले बाँध निर्माण पछि यो समस्याको अन्त्य हुने आशा पलाएको उनले बताए ।
जिल्लामा नदीको कटान नियन्त्रणको काम गरिरहेको जनताको तटवन्धन कार्यक्रम फिल्ड कार्यालय नम्वर १ झापामार्फत् अन्य नदीमा कटान नियन्त्रण सम्बन्धीको काम गरिरहेको छ । सो कार्यालय अन्तर्गत ११ वर्षमा लगभग १ सय किलोमिटर तटवन्धन सम्पन्न भएको छ । जिल्लाका मेची, बिरिङ, कन्काई, कमल, रतुवा र मावा खोलामा कुल ३ सय ३ दशमलव ६६ किलोमिटर तटवन्धन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सोही अनुसार कुल तटवन्धनको काम सम्पन्न गर्न १८ अर्व बजेट आवश्यक पर्ने जनाइएको छ ।

Author

You may also like