टीकाराम उप्रेती —
दमक/ झापाको दमकमा निर्माण भएका आधुनिक १५ वटा घरमा बसोबासका लागि लगभग ६० जना घरबारविहीनले आवेदन गरेका छन् । यसरी आवेदन परेका मध्ये आवश्यक छानविन गरेर घर अब चाँडै हस्तान्तरण गरिने तयारी रहेको जनाइएको छ । दमक नगरपालिकाको कार्यपाललिकाले हस्तान्तरणको काम अघि बढाउने दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले जानकारी दिइन् । घर हस्तान्तरणलाई ब्यवस्थापन गर्न कार्यपालिका अन्तर्गत दमक नपा वाड नम्वर ८ का वडाध्यक्ष पशुपतिराज गौतम संयोजक रहेको छुट्टै समिति समेत गठन गरिएको छ । समितिले विभिन्न मापदण्डमा परेका मध्ये प्राथमिकताका आधारमा घर हस्तान्तरण गर्ने संयोजक गौतमले जानकारी गराए ।
यहाँ हस्तान्तरणका लागि चिटिक्क परेका लहरै सेतो रङले पोतिएका आधुनिक घर निर्माण गरिएका छन् । सबै एकै प्रकारले निर्माण गरिएका छन् । सिमेन्टको पक्की एकतले सबै घरको छानो समेत निलो रङको टिन लगाइएको छ । प्रत्येक घरमा विद्युत, खानेपानीको व्यवस्था गरिएको छ । घर वरिपरि सानो फूलवारी समेतको व्यवस्था गरिएको छ । झापाको दमक नपा–१ स्थित रतुवा खोलाको नजिकै निर्माण गरिएका यि घरहरुलाई नगरकै नमूना बस्तीको रुपमा विकास गरिँदै लगिएको छ । गत आर्थिक वर्षदेखि नियमित रुपमा यहाँ आधुनिक घर निर्माण गरिँदै आएको थियो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न ति घरहरु आउने वर्षायामअघि नै हस्तान्तरणको काम सम्पन्न गरिने जनाइएको छ ।
यहाँ पहिलो चरणमा घर निर्माण २०७७ साल जेठ २३ गतेदेखि निर्माण सुरु गरिएको थियो भने आगामी २०७८ साल जेठ २९ गतेसम्मा सम्पन्न गर्ने सम्झौता रहेको थियो । तर सम्झौताअघि नै घर निर्माणको काम सम्पन्न भएको छ । प्रत्येक घरमा दुईवटा आधुनिक तरिकाले निर्माण गरिएका कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्वल हालेर चिल्लो बनाइएको ट्वाइलेट बाथरुम छन् ।
हेर्दा आकर्षक रमितलाग्दो देखिने घरहरुलाई दमक नगरपालिकाले नमूना बस्तीको रुपमा अघि बढाएको दमक नगरपालिका का प्रमुख मेयर रोमनाथ ओलीले जानकारी दिए । यहाँ पुगेर हेर्ने जोसुकैलाई पनि लाग्छ यो कुनै आधुनिक सभ्य नयाँ शहरमा पुगेको अनुभव हुने गरेको छ । यि घर जति सुन्दर देखिएका छन् । यी घरमा बस्ने मानिसको मुहारमा त्यति नै मिठो खुशीको मुस्कान समेत पाइन्छ । झापाको दमक नगरपालिकाले बजार भित्र जथाभावी छाप्रा हालेर असुरक्षित रुपमा बसोबास गर्ने सुकुम्बासी घर विहीन विपन्नका लागि केही वर्षदेखि धमाधम यस्तै बस्तीको विकास गरिरहेको छ । जुन सुरक्षित तथा आधुनिक घर छन् । उक्त बस्ती संघीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो । साझेदारी कार्यक्रम अन्तर्गत १५ वटा घर निर्माणका लागि कुल १ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । जसअनुसार प्रतिघर १२ लाख ८६ हजार रुपैयाँ लागत रहेको जनाइएको छ ।
यस्तै यो क्षेत्रमा अघिल्लो आर्थिक वर्षमा मात्र ३५ वटा घर निर्माण गरिएको थियो । यि सबै घरमा अहिले यस्तै विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । प्रत्येक वर्ष घर निर्माण गर्ने घरमा सुकुम्बासी भूमिहीनलाई प्राथमिकताका आधारमा उपलब्ध गराउँदै जाने योजना रहेको जनाइएको छ । साधारणतया एउटा परिवारलाई लक्षित गरेर निर्माण गरिएका यस्ता घरले अव्यवस्थित रुपमा सार्वजनिक स्थलमा छाप्रा टहरा हालेर बसोबास गर्ने परिवारलाई भने वरदान सावित भएको छ । अघिल्लो आर्थिक वर्षमा नै निर्माण गरिएको नमूना बस्तीको घर नम्बर एक की ७७ वर्षीय मनमाया भुजेलले आफू यस्तो आधुनिक शौचालय भएको पक्की घर बस्न पाउने कुरा सपनामा पनि नसोचेको बताइन् । शरीर प्यारालाइशिस भएको ५ वर्ष भयो । ह्वील चेयरको सहारामा भित्र बाहिर गर्नुपर्छ । बुढेशकालमा घर बनाउन सक्ने कुरै भएन मैले सोचेको पनि थिएन, उनले भनिन् । यही नसोचेको कुरा आज सरकारले नयाँ गतिलो घर बनाइ दियो । अब मेरो घरको दुःख गए भुजेलले खुशी ब्यक्त गर्दै भनिन् । उनी दमक–७ स्थित पशुहाटको सार्वजनिक जग्गामा छाप्रो हालेर बस्दै आएकी थिइन् । वर्षायाममा शहरको सबै भेलले प्रत्येक वर्ष घर डुबाउने गरेको थियो । हावाहुरीले भत्काइदिन्थ्यो अब ढुक्कले सुत्न पाउने भएँ, यही खुशी छ, उनको भनाई छ ।
भुजेल जस्तै खोला किनार र सार्वजनिक स्थलमा छाप्रा हालेर बसोबास गर्ने विपन्न परिवारलाई प्राथमिकताको आधारमा घर निर्माण गरिरहेको छ । दमक नगरपालिकाले धमाधम आधुनिक घर निर्माण गरेर व्यवस्थित र सभ्य शहर निर्माण गर्ने योजना अघि बढाएको दमक नपाका प्रमुख रोमनाथ ओलीले बताए । नयाँ योजनाका साथ निर्माण गरिएको यो नमूना बस्ती अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्न र अध्ययन अनुसन्धान गर्ने स्थान समेत बनेको छ ।