पथरी, २५ फागुन /
हुलाकी सडक अन्तर्गतको योजनाका रुपमा रहेको मनमोहन गान्धी सडक निर्माणमा ढिलाई गरेपछि मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्ट्रक्सनका कर्मचारी, क्रसरका ट्रक र दुई भेन नियन्त्रणमा लिएका छन् ।
मनमोहन गान्धी मार्गको निर्माण कार्यमा ढिलाई भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै उनीहरूले नियन्त्रणमा लिएर प्रशासनलाई जिम्मा लगाएका हुन् । स्थानीयले क्रसरका सामान सहितको ट्रक, कर्मचारी र दुई वटा भेनलाई पथरी शनिश्चरे १० नम्बर वडा कार्यालय र सशस्त्र प्रहरीको कार्यालय अगाडि नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्ट्रक्सनका प्रतिनिधि दिपक थिङ तामाङलाई भने शुक्रबार बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति जनाएपछि कर्मचारी र दुईटा भेन छोडिएको छ भने ट्रकलाई सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।
स्थानीयले बाटो चाँडो बन्नु पर्ने माग गर्दै बाटो नबनेसम्म ती साधन नछोड्न प्रशासनलाई दवाव दिदै आएका छन् । पटक पटक यस मार्गमा स्थानीयले निर्माण कार्य सम्पन्न गर्न दवाव दिँदै आएका छन् । यस अघि गत मंसिर १४ मा उनीहरूले पथरी शनिश्चरेको ३ स्थानमा ढाट लगाएर दवाव सिर्जना गरेका थिए । मनमोहन गान्धी मार्गको काम समयमै सम्पन्न नभएकाले दिनहुँ जसो हिउँदमा धुलो र वर्षातमा हिलोको समस्या झेलिरहेको स्थानीयले गुनासो गर्दै आएका छन् ।
कान्छाराम कन्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र सडकलाई ‘निर्माण गर्ने’ भन्दै भत्काएपछि हाल सो सडकमा खल्टाखुल्टी र धुलोले यात्रा गर्न असहज परिस्थिति सृजना भइरहेको नगरप्रवक्ता समेत रहेका वडाध्यक्ष नवीन कार्कीले बताए ।