ओमप्रसाद खनाल
आज फाल्गुन २५ गते महाशिवरात्रि पर्व । देवादि देव श्री महादेवको उत्पत्ती भएको दिन । हिन्दु धर्मालम्विहरुकालागि पवित्र दिन । पार्वतीले महादेव पति पाउँ भनी लिएको व्रत पूरा भएको दिन । भगवान शिव र पार्वतीको विवाह भएको दिन । कैलाश पर्वतमा श्रीमहादेव बिराजमान भएको दिन । भगवान शिवको पूजा आराधना गर्नकालागि शिवधाममा जाने दिन । शिव भगवानको पूजा आराधना गर्ने दिन । बिभिन्न पर्वहरुमध्ये सबैभन्दा उत्तम पर्व मानिएको दिन हो आज । आजको दिनलाई सृष्टिको प्रारम्भकालमा ब्रह्माबाट रुद्रका रुपमा भगवान शिवको अवतरण भएको दिन मानिन्छ । हिन्दु शास्त्र अनुसार मनाइने कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रिमध्ये सबैभन्दा उत्तम रात्रिको रुपमा लिइएको शिवरात्रि पर्वलाई पर्वहरुको राजाको रुपमा लिइन्छ । यो पवित्र दिनमा भगवान शिवको धाममा गएर पूजा अर्चना गर्ने शिवजीलाई मन पर्ने प्रिय बस्तुहरु जल, दूध, बेलपत्र चढाउने गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन पर्ने यो महाशिवरात्रि पर्वमा भगवान शिवको आराधना गर्दा व्रत बस्दा सुख शान्ति र समृद्धि प्राप्त हुने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
यस दिन निर्जल व्रत बस्ने, रात्रिमा जागरण बस्ने, चार प्रहरको पूजा गर्ने, शिवलिङ्गमा दूधको अभिषेक गर्ने, शिवको भजन किर्तन गर्ने गर्नाले जीवनमा काम, क्रोध, लोभ र मोहबाट मोक्ष प्राप्त हुने, यमलोक जानू नपर्ने, पुनःजन्म र मृत्युको झन्झटमा पर्नु नपर्ने, जीवनमा मोक्ष प्राप्त भई भगवानका शरणमा लीन हुन पाइने धार्मिक मान्यता रहेको पाइन्छ । यसरी यो पर्वमा शिवधाममा जानू, भगवान शिवको पूजा आराधना गर्नु, व्रत बस्नु, भजन किर्तन गर्नु महाशिवरात्रीका बिशेषता नै मानिन्छन् । यही शिवरात्रिको दिन आदि देव भगवान शिव करोडौ सूर्यको तेज समानको शक्तिको प्रभावले ज्योतिलिङ्गको रुपमा प्रकट हुनुभएको भन्ने धार्मिक मान्यता रहेको पाइन्छ । भगवान शिवको यही प्रभावले गर्दा यो पर्वमा बिभिन्न धार्मिक कार्यहरु गर्ने गरिन्छ ।
यो पर्वमा गरिने विभिन्न महत्वपूणर् कार्यहरुमध्ये एउटा धार्मिक तथा सामाजिक कार्य विवाह हो । शिवरात्रिका दिन गरिने विवाहको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । भगवान शिव र माता पार्वतीको शुभ विवाह पनि यही महाशिवरात्रीका दिन भएको धार्मिक मान्यता रहेको पाइन्छ । माता पार्वतीले भगवान शिवलाई पति पाउँ भनी जुन व्रत लिनुभएको थियो, त्यही ब्रतका प्रभावले श्री महादेवसंग पार्वतीको धुमधामसंग विवाह भएको थियो । माता पार्वती राजकुमारी थिइन तर पनि उनले जटाधारी शरीरभरी खरानी घस्ने श्रीमहादेवलाई मन पराएर विवाह गरेकी थिइन । त्यसैले यो शिवरात्रि पर्वलाई श्रीमहादेव र पार्वतीको वैवाहिक वर्षगांठको पर्वको दिन पनि भन्न सकिन्छ । त्यसैले त यो महाशिवरात्री पर्वमा विवाह गर्नकालागि कुनै साईत हेर्नू नपर्ने र जुराउनु नपर्ने मान्यता रहेको पाइन्छ । यो दिन विवाहको लागि अति उत्तम दिन मानिन्छ । हाम्रो समाजमा शिवरात्रिको दिनमा विवाह बन्धनमा बाँधिने जोडीहरु प्रसस्तै रहेको पाइन्छ । जो जो यो शिवरात्रिमा वैवाहिक जीवनमा बाँधिनु भएको छ, उँहाहरु भगवान शिवको कृपाले भाग्यमानी बन्नु हुनेछ भन्ने विश्वास रहिआएको पाइन्छ । यस दिनमा वैवाहिक बन्धनमा बाँधिनेहरु साक्षात शिव र पार्वतीका प्रतीक रुप मानिन्छन् । वैवाहिक वर्षगाठको कुरा गर्दा विभिन्न महिनाको विभिन्न मितिमा विवाह गर्नेहरुले मिति बिर्सन पनि सक्दछन् । तर यो शिवरात्रिका दिनमा भएका विवाह चाँहि बिर्सन सकिँदैन । किन कि यो एउटा हाम्रो लागि ठूलो पर्व हो ।
हुन त सृष्टिको प्रारम्भकालमा महिना, गतेको व्यवस्था नै थिएन होला । त्यस बेला चन्द्रमाको आधारमा शुक्ल पक्ष र कृष्ण पक्ष छुट्याउने गरिन्थ्यो होला । चन्द्रमाको आकार बढ्दै गएको आधारमा तिथिको निर्धारण गरिएको होला । चन्द्रमाको प्रकाश घट्दै गएर पूरै अध्यारो हुने दिनलाई औंशी भनियो र चन्द्रमामा प्रकाश बढ्दै गएर पूरै उज्यालो हुने रातलाई पूणर्िमा भनियो । यही औंशी र पूणर्िमालाई आधार मान्दा फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन भगवान शिवको पार्वतीसंग विवाह भएको मानिन्छ । त्यसैले योे शिवरात्रिको दिनलाई महत्वपूणर् दिन मानिएको छ । हुनत, मेरो पनि शुभ विवाहको कर्म यही शिवरात्रिका दिन भएको हो । त्यसबेला फागुन २६ गते शिवरात्रि परेको थियो भने यो वर्ष २५ गते परेको छ । त्यसैले जब जब शिवरात्रि पर्व नजिकिदै जान्छ, तब तब म आफ्नो विवाह भएको दिन सम्झन्छु र शिवरात्रिका दिन हामी दुबैजना शिव धाममा गएर शिवको आराधना गर्दै आफुलाई गर्व गर्दछौं । म मात्र होइन शिवरात्रिका दिन विवाह बन्धनमा बाँधिनेहरु आफ्नो वैवाहिक वर्षगाठ मनाउन शिवधाममा नै जाने गर्दछन् । भगवान शिवको भक्ति गर्ने पूजा गर्ने, भजन कीर्तन गर्ने र आफ्नो आत्मालाई शुद्ध पारी मनलाई भगवानमा लगाउने गर्दछन् । यो पर्वमा वैवाहिक बन्धनमा बाँधिने दम्पतिहरुको लागि विशेष पर्वको रुपमा रहेको हुन्छ । शिव भगवानप्रति भक्तिभाव राख्ने सम्पूणर् नेपालीहरु पनि शिवको पूजा आराधना गर्न शिवधाममा जाने गर्दछन् ।
त्यसैले, सम्पूणर् नेपाल लगायत विश्वमा छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यो महान पर्व शिवरात्रिका दिन विवाह बन्धनमा बाँधिनु भएका सम्पूणर् दम्पतिहरुलाई श्री महादेवका कृपाले सुख शान्ति सम्बृद्धि प्राप्त होस, महाशिवरात्रीको उपलक्ष्यमा सम्पूणर् नेपालीहरुमा देश विकाशमा लाग्न र देशलाई विकाशको उच्च शिखरमा पुर्याउन सद्बुद्धि प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्दछु । ॐ नम शिवाय । हरहर महादेव । जय शम्भू ।
दमक -८, झापा