मुख्य

दमकको बजेट पारित हुन सकेन

दमक/ दमक नगरपालिकाको ११ औं नगर सभाको दोश्रो बैठकले सोमबार अघिल्लो बैठकमा पेश भएको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्न सकेन । नगर सभामा नेकपा एमाले तर्फबाट प्रतिनिधित्व गर्ने दमक–६ का वडा सदस्य कमल कुमार श्रेष्ठसहित २६ जना नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रममा २८ बुँदे र करसम्बन्धी विषयका ८ बुँदे फरक मत सहितको सुझाव पेश गरेको तर ति बुँदाहरु सम्बोधन नभएको भन्दै नगर सभामा अवरोध गरेपछि नगर सभा विवादित बनेको थियो  ।
नगर सभाको पहिलो बैठकमा उप–प्रमुख रेगिना भट्टराई प्रसाईले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेकी थिइन् । सो सभामा यही असार २० गतेसम्म सुझाव पेश गर्ने समयसीमा दिइएको थियो । तर सो समयभित्र पेश भएको सुझाव तथा फरक मतका कुरा सम्बोधन नगरी विस्तृत छलफल नै हुन नदिई र एक्कासी सो कार्यक्रम र बजेट पारित गर्न खोजिएकाले नगर सभा अघि बढ्न नदिइएको बताइएको छ । नगर सभामा सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले प्राप्त सुझावहरु जारी गरिएको नीति, कार्यक्रम तथा बजेटमा संशोधन सहित समेटिने बताएका थिए । तर कार्यपालिकाको बैठकनै नबसी र सोमबारनै बजेट पारित गर्न खोजिएकाले आफूहरुले सुविचारित ढंगले नीति तथा कार्यक्रम र बजेट संशोधनका लागि विरोध जनाएको दमक–६ का वडा सदस्य श्रेष्ठले प्रष्ट पारे ।
तर सभामा नगर प्रमुख थापाले श्रेष्ठले राखेका राय सुझावका कुरा हाल प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको बताएका थिए । सोमबारको बैठकमा उपप्रमुख भट्टराईले नीति तथा कार्यक्रम र बजेट पारित गर्न गरेको प्रस्तावमा सभाध्यक्ष थापाले ‘हुन्छ’ भन्ने सदस्यहरुलाई ‘हुन्छ’ भन्न र ‘हुन्न’ भन्ने सदस्यहरुलाई ‘हुन्न’ भन्दा भने ‘हुन्छ’ भन्नेको बहुमत पुगेको घोषणा गरेका थिए । तर सो पछि भने एमालेको तर्फका कतिपय वडाध्यक्ष र नगर सभा सदस्यहरुले श्रेष्ठले राखेको राय सुझाव लिखित रुपमा सम्बोधन भइ नआएसम्म बैठक चल्न नदिने भनेपछि सभाध्यक्ष थापाले नगर सभाको अर्को बैठक यही असार २९ गते बुधबारसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।
श्रेष्ठको राय सुझाव पत्रमा दमकमा चल्ने निजी सवारी साधन तथा सिटी सफारी र ट्याम्पोहरुबाट लिइने पूर्वाधार सेवा शुल्क छुट गरिनुपर्ने, नगरपालिकामा हाल कार्यरत करार र अस्थायी कर्मचारीलाई आगामी आर्थिक वर्षको मसान्तसम्म म्याद थप गर्नुपर्ने, सरकारी र गैससहरुका भवन बनाउँदा लाग्ने नक्सा पास निःशुल्क गर्नुपर्ने, दलित र विपन्नहरुलाई नगरको सेवामा राख्दा प्राथमिकता दिनुपर्ने, सार्वजनिक शौचालयहरुमा शुल्क लिन नहुने, क्यान्सर, मुटु र मिर्गौला रोगीहरुलाई नगरपालिकाका तर्फबाट प्रति व्यक्ति २५ हजार सहयोग दिनुपर्ने, विपन्न परिवारको परिचय पत्र हुनेलाई काजकिरिया खर्च वापत २० हजार दिनुपर्ने, दमक–६ स्थित पशुपति बाल विकास केन्द्रलाई नगरपालिकाको मातहतमा ल्याउनुपर्ने सुझाव दिइएको छ । सुझावमा नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा अध्ययन गर्दा शुल्क नलाग्ने गरी व्यवस्था गर्नुपर्ने माग राखिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु बहुतले बसपार्क, सिक्नेचर पुल, बुद्धको मूर्ति, मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाका लागि केन्द्र सरकारबाट बजेट कटौती भएकाले सो का लागि आवश्यक पहल गर्नुपर्ने लगायतका राय सुझावहरु सो फरक मत तथा सुझावमा उल्लेख गरिएको छ ।
दमक नगरपालिकाका नगर प्रमुख थापा राप्रपा र नगर उपप्रमुख भट्टराई नेपाली काँग्रेस पार्टीको प्रतिनिधित्व गर्छन् भने बहुमत कार्यपालिका सदस्यहरु नेकपा एमालेका रहेका छन् । त्यसकारण पनि नेकपा एमालेको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर मानिएको यस नगरपालिकामा नगर नेतृत्वलाई आफूले चाहेजसरी काम गर्न सहज नहुने देखिन्छ । सोमबारको नगर सभामा नगर प्रमुख थापाले सभासदहरुलाई पटक पटक ऐन नियमको कार्यान्वयन गर्न र नगर सभाको मर्यादा राख्न अनुरोध गरेका थिए । तर सो कुराको बेवास्ता गर्दै नगर सभा स्थगित भएको घोषणा नगर्दासम्म एमालेका सभासदहरुले होहल्ला गरिरहे ।

Author

You may also like