दमक/दमक नगरपालिका–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा तीन दिने ग्लोबल आईएनजी हाइअर एजुकेशन एक्स्पोको आयोजना गरिएको छ । विद्यालयको आयोजना तथा इनोभेटिभ नेपाल ग्रुप (आईएनजी) काठमाडौंको प्राविधिक सहयोग एवं सहकार्यमा आइतबारदेखि शुरु भइ आज मंगलबार सम्म संचालन हुने सो एक्स्पोमा ग्लोबल एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत ११ सय विद्यार्थीहरु सहभागी रहेका छन् । एक्स्पोमा कक्षा १२ पछि विद्यार्थीहरुले आफ्नो भविष्य बनाउन कुन र कस्तो शैक्षिक क्षेत्र रोज्ने तथा आफ्नो करियरलाई कसरी सही मार्गमा लगाउने भन्ने बारेमा ज्ञान पाउने आइएनजी स्किल एकेडेमीकी सिनियर स्किल सुपरभाइजर कृपा श्रेष्ठले जानकारी गराइन् ।
एक्स्पोमा अवलोकन र सहभागिताका लागि दमक नगरभित्र र आसपासका विद्यालयका विद्यार्थीहरुलाई पनि अवसर प्रदान गरिएको र कतिपय विद्यालयहरुले सहभागिता जनाएको ग्लोबल एजुकेशनल एकेडेमीका प्रधानाध्यापक गुणराज अधिकारीले बताए । एक्पोमा ‘माई सेकेण्ड टिचर’ नामक सफ्टवेयरबाट शैक्षिक अध्ययन र प्रविधिका बारेमा कम्प्युटरको प्रयोग गरी सविस्तार जानकारी र अभ्यास गराइएको आयोजक संस्थाकी स्किल सुपरभाइजर श्रेष्ठले प्रष्ट पारिन् । यो सफ्टवेयर एकखालको अन्तरक्रियात्मक भिडियो रहेको र त्यसका माध्यमबाट शिक्षा र प्रविधिलाई मानिसको वास्तविक जीवनसंग तालमेल गरी शिक्षण सिकाई गरिने पनि उनले बताइन् । यसको प्रयोग गरेर आफ्नो अध्ययन अघि बढाएका विद्यार्थीहरुले विषयवस्तुलाई प्रष्टसंग बुझ्ने गरेको र परीक्षामा ८० प्रतिशत विद्यार्थीले डिस्टिङ्सनमा पास गरेको अनुभव रहेको उनको भनाई छ । करियर भित्र भने उद्यमशीलता, आर्टिफिसियल इन्टिलिजेन्स, गेम डेभलपर, इथिकल ह्याकिङ हुनबाट कसरी सुरक्षित गर्ने जस्ता प्राविधिक र सीपमूलक विषयहरु समेटिएको जानकारी गराइएको छ ।
यो सबैका लागि एक्स्पोमा २८ वटा कम्युटर, ८ वटा स्टल, २० वटा ल्यापटप, ठूलो स्क्रिनको टेलिभिजनको उपयोग गरिएको छ भने विद्यार्थीहरुलाई वर्कसप समेत गराइएको छ । आईएनजी ग्रुपबाट ३५ जना विज्ञ सहजकर्ता र माइ सेकेण्ड टिचरको कन्टेन्ट तयार गर्ने ५ जना विज्ञहरुले सहजीकरण गरिरहेका छन् । सन् १९९६ मा स्थापना भएको आईएनजी ग्रुपले हालसम्म देशका विभिन्न ८ प्रमुख शहरका विभिन्न माध्यमिक विद्यालय, क्याम्पस र एजुकेशनल इन्स्टिच्यूटमा एक्स्पोको आयोजना गरी १४ हजार विद्यार्थीहरुलाई लाभ पु¥याइसकेको बताइएको छ । ग्लोबल एजुकेशनल एकेडेमीका प्रअ अधिकारीले भने विद्यार्थीहरुलाई अहिले भइरहेको प्रविधिको प्रयोग, पछिल्लो समयमा यसको विकास, इथिकल ह्याकिङबाट सुरक्षा, एप विकास र उनीहरुको करियर कसरी अघि बढाउने भन्ने बारेमा अभ्यास र प्रयोग गरी जानकारी गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको बताए । ग्लोबलमा कम्युटर साइन्स विषयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वय आयुष श्रेष्ठ र गोकुल खत्रीले एक्स्पोबाट आफूहरुलाई स्नातक तह र त्यसमाथि कुन विषय पढ्ने, आफ्नो करियरलाई कतापटि लगाउने र इथिकल ह्याकिङबाट कसरी बच्ने भन्ने बारे रहेको कौतुहलता मेटिएको जानकारी गराए । विद्यालयले एक्स्पोको आयोजना गरेर आफूहरुलाई लाभान्वित तुल्याएकोमा उनीहरुले औधी खुशी प्रकट गरे ।