देश–समाज मुख्य समाचार

अविरल वर्षाको वितण्डाले पाँथचरमा आमा छोरीको निधन

झापामा एकै दिन तीनजना बेपत्ता

पाँचथरको फिदिम नगरपालिका- ४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बिहान ४ बजेतिर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिए। केही टाढा डेरा गरी बस्ने उनीहरू शुक्रबार राति साथीको घरमा सुत्न आएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएको दुवैजनाको शव निकालिसकेकोछ। पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको प्रहरीले जनाएको छ।

तीन जना बेपत्ता

खोलाले बगाउँदा झापामा एकै दिन एक बालिकासहित तीन जना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज- २ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए ।

उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका- १ का मुसे भन्ने रमेश चौधरीको छोरा ३५ वर्षीय टिकाराम चौधरी डुबेर बेपत्ता भएका छन् । शुक्रबार साँझ ७ बजे कमल १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपता भएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको छ । त्यसैगरी कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छिन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको हो । उनी अझै सम्म नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Author

You may also like