दमक/निर्माण अधुरो हुँदा प्रयोग गर्न समस्या भएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकको भवन निर्माणको बाँकी कामहरु अव पूरा हुने भएका छन् । भवनको बाँकी काम सम्पन्न गर्नका लागी प्रदेश सरकारबाट रु २५ लाख रुपैयाँ र नगरपालिकाबाट रु १० लाख रुपैयाँ प्राप्त भएपछि अधुरो भवनको काम पूरा हुने भएको हो । अधुरो भवन निर्माण सम्पन्न गर्नका लागी नगरपालिकासहित भवन निर्माण समितिको टोली प्रदेश सरकारसंग बजेट मागका लागि गएको थियो । टोलीमा नगर उपप्रमुख रेगिना भट्टराई, दमक नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत यज्ञ निरौला, निर्माण समितिका सचिव चन्द्र खत्री लगायत थिए । नगरउपप्रमुख भट्टराईका अनुुसार अधुरो भवनका लागि मन्त्रालयबाट रु २५ लाख रुपैयाँ वजेट जिल्ला प्रहरी कार्यालयको खातामा आईसकेको जानकारी प्राप्त हुन आएको छ । गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघिनै प्रदेश सरकारले रकम पठाएको भए पनि समन्वयको अभावमा रकम आएको जानकारी नआएकाले नगरपालिकासहित निर्माण समितिको टोली आपैंm पुगेर उक्त बिषयका बारेमा जानकारी लिईएको नगर उपप्रमुख भट्टराईले बताईन् ।
प्रदेश सरकारबाट प्राप्त रकमका बारेमा जिल्ला प्रहरी कार्यालय संग समन्वय गरि सकिएको भन्दै उनले अव भवन निर्माणको बाँकी काम सुरु हुने जानकारी दिईन् । प्रदेश सरकारबाट प्राप्त रु २५ लाख रुपैयाँ र नगरपालिकाले बिनियोजन गरेको रु १० लाख रुपैयाँको वजेटमार्फत भवनको बाकी काम गरि भवन प्रयोगको अवस्थामा ल्याउने उनले बताईन् ।
भवन निर्माण समितिका सचिव खत्रीका अनुसार दमक ५ मा दुई वर्षदेखि निर्माणाधीन ईलाका ट्राफिक प्रहरी कार्यालयको तीन तल्ले पक्की भवन निर्माणको काम रकम अभावका कारण निर्माण कार्य अलपत्र हुन पुगेको थियो । भवनको भित्र र बाहिर फिनिसिङको काम रोकिएको कारण त्यहाँ कार्यरत ट्राफिक प्रहरीहरु जीर्ण भवनको एक कोठामै बस्नुपर्ने बाँध्यता झेल्दैआएका थिए ।