दमक/ झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई तीन दिने उत्प्रेरणामूलक तालिम दिइएको छ । विद्यालयको आयोजना र इस्कोन नेपालका तर्फबाट ईन्जिनियर कान्तिश शर्माको सहजीकरणमा सो तालिम दिइएको हो । विद्यार्थीहरुलाई चिन्ताबाट चिन्तनतर्फ र मनको व्यवस्थापनका विषयमा तालिम दिइएको सो विद्यालयले जानकारी गराएको छ ।
विद्यालयमा अध्यापन गराइने विज्ञान, मानविकी र होटल व्यवस्थापन गरी सबै संकायका विद्यार्थीहरुलाई बिहान साढे ६ देखि साढे ९ सम्म गरी डेढ घण्टाको सेसन बनाएर दुई सत्रमा तालिम दिइएको थियो । शुक्रबारनै सो तालिमको समापन समेत भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बस्नेतले इस्कोन नेपालका कान्तिश शर्माको टिमलाई खादा ओढाएर ससम्मान विदाई गरे । समापनअघिको अन्तिम सत्रमा सो विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारी र पूर्वसन्देश दैनिकका पत्रकार पंकज दाहालले पनि आ–आफ्ना भनाईहरु राखेका थिए । युवा विद्यार्थीहरुलाई सकारात्मक दिशामा लाग्न, सुखी जीवन कसरी जीउने, मौलिक संस्कृतिको आधुनिक प्रस्तुती व्यवहारमा कसरी गर्ने र हाम्रा पूर्वीय दर्शनका शास्त्रहरु कति वैज्ञानिक छन् भन्ने बारेमा बुझाउने चेष्टा तालिममा गरिएको सहजकर्ता तथा तालिमका प्रशिक्षक ईन्जिनियर शर्माले प्रष्ट पारे । तालिममा सहभागी विद्यार्थीहरुले राखेका जिज्ञासाका बारेमा पनि उनले जवाफ दिएका थिए । अहिलेको समयमा आवश्यकता भन्दा बढी सोचाईले मानिसलाई डिप्रेशनको शिकार बनाइरहेकाले कसरी सुखी र खुशी जीवन बाँच्ने र जीवनको सफलता के हो भन्ने बारेमा पनि विद्यार्थीहरुलाई ज्ञानवद्र्धक प्रस्तुती गरेका थिए । विद्यार्थीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएको सो विद्यालयका प्रअ अधिकारीले जानकारी गराए ।