झापा, १६ कार्तिक
जिल्लाको मेचीनगरस्थित परिवर्तन थिएटरले नाटक ‘म्लेच्छ’ मार्फत भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ ।
पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (कार्तिक १९ देखि २२) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल थिएटर फेस्टिभलमा परिवर्तनले ‘म्लेच्छ’ नाटक मञ्चन गर्ने भएको हो । आदिवासीहरूको इतिहास र वर्तमान समेटिएको नाटकको लेखन पत्रकार पर्वत पोर्तेलको र निर्देशन गणेश बस्नेतको रहेको छ ।
असम राज्य सरकारकै आयोजना हुन लागेको यस किसिमको प्रतिष्ठित नाट्य महोत्सवमा परिवर्तन थिएटर सिंगो नेपालकै प्रतिनिधित्व गरेर सहभागी बन्न लागेको थिएटरकी अध्यक्ष लीला विष्टले बताइन् ।

महोत्सवमा नेपाल, बंगलादेश र भारतको विभिन्न प्रान्तका दर्जनभन्दा बढी नाटक प्रदर्शन हुने आयोजक कमिटीका सचिव दयालकृष्ण नाथले जनाए ।
सो नाटक गत असोज २५ देखि कात्तिक ४ सम्म काँकरभिट्टामा टिकटमा मञ्चन भएको थियो ।
नाटकमा कविता नेपाल, लीला विष्ट, गणेश बस्नेत, एन्जल खड्का, अनिस बस्नेत, लोमस पौडेल, सुष्पा पोखरेल, प्रतिक्षा आचार्य, गगन क्षेत्री, संजोग राई, कविता पौडेल, नवराज पाठक, झरना खनाल, कृष्ण पौडेल, सरोज जिरेल र भावना नेउपानेको अभिनय रहेको छ ।