विराटनगर, १३ असोज –
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठवन्धनबाट कोशी प्रदेशमा अस्थिरता निम्त्याइएको आरोप लगाएका छन् ।
नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका क्रममा गर्न ओलीले गठवन्धन सरकारप्रति अनुत्तरदायि वनेको आरोप लगाउँदै कोशी प्रदेशको नामाकरण सहितको विषयमा उसैले अस्थिरता निम्त्याउने काम गरेको जिकिर गरे ।
उनले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपालले कम्यूनिस्टको बर्को ओढेर कांग्रेसको पछि लाग्ने काम गरेको टिप्पणी समेत गरे । एमालेभित्र कम्यूनिष्टको नाम लिएर बसेका विकाउ मालहरुले पार्टी फुटाएर देशमा अस्थिरता निम्त्याउने काममा संलग्न भएको उनको आरोप छ । उनले कटाक्ष गर्दै भने “बर्कोभित्र छुरा लुकाएकाहरू बसेकाहरू एमालेलाई आपत् परेको बेला मैदानमा उत्रिए र प्रहार गर्न थाले । प्रचण्ड र माधवले गरेको त्यही हो । एमालेले राम्रो काम गरेकोले नीति र नेतृत्वसँग आतंकित भएपछि अनि षड्यन्त्र सुरु भयो । कम्यूनिस्ट बनेर कम्यूनिस्ट सक्ने काम गरे ।’
दुईदुईपटक पार्टी फुटाउने काम अदालतले नभइ मूलरूपमा प्रचण्ड र माधवहरूले गरेको भन्दै कटाक्ष गरे ।
अहिले आएर कुरा बुझेका धेरै साथीहरु पार्टीमा फर्किएको प्रसंग उल्लेख गर्दै उनले थपे ‘फाटोवादी अर्थात् माओवादी पार्टी र पूँजीवादी पार्टी हो ।’ एमालेले राम्रो काम गर्दा गर्दै पनि विरोधीहरु आत्तिएर सरकार ढालेको कुरा सवै जनताले बुझेको उनको दावी थियो ।
ओलीले कोशी प्रदेशको अधिवेशनका प्रसंगमा बोल्दै उनले आफुले सो अधिवेशनमा यसलाई भोट दिनु र उसलाई नदिनु नभनेको प्रष्ट्याए । ‘मैले यस्लाई उस्लाई भन्ने कुरै हुँदैन । सकभर सर्वसहमत गर्नुहोस् । भएन नै भएपनि स्वस्थ्य प्रतिष्पर्धाबाट छान्नुहोस् भनेर चाँही भनेको छु ।’- उनले भने ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरूलगायत सहभागी छन् । त्यसअघि कार्यक्रमस्थलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत् गरिएको थियो ।
शनिबारसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ कमिटी चयन गर्नेछ । अध्यक्षमा, एमाले केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा, वर्तमान प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ अध्यक्ष बन्ने लाइनमा छन् । चारै जनाले अध्यक्षको तयारी गरिरहेका छन् । चार जनाले आकांक्षा देखाए पनि ढकाल र खतिवडा मुख्य प्रतिस्पर्धी भएको एमाले नेताहरु बताउँछन् ।