मुख्य स्वास्थ्य

मदन भण्डारी अस्पतालका चिकित्सकको ज्ञापनपत्र

उर्लाबारी, १३ असोज-
सातायता कञ्चनपुर, लमजुङ र पोखराको मणिपाल लगायतका अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकहरुले ज्ञापन पत्र बुझाएका छन् ।
पाँच बुँदे मागसहित अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी लगायतको हास्ताक्षरित ज्ञापनपत्र इलाका प्रशासन कार्यालय उर्लाबारीमार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पठाइएको अस्पतालका सूचना अधिकृत निराजन पौडेलले जानकारी दिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहदा सरकार मुखदर्शक मात्र बनेको बताउदै पौडेलले सो पत्र इलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख सूर्यमान बाँनियालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
ज्ञापनपत्रमा हरेक अस्पतालमा सुरक्षाको चुनौती बढेकोले अस्पतालभित्र प्रहरी पोष्ट राखिनुपर्ने, बेलरहित जेल लागू गरिनुपर्ने, राजनीतिक दलको प्रतिनिधि भन्दै अस्पताल परिसरमा गरिने कथित अनुगमन बन्द गरिनुपर्ने उल्लेख छ । साथै जनशक्ती, भौतिक संरचना लगायतमा राज्यको कमजोरीले अस्पताल क्षेत्रमा उत्पन्न हुने समस्याको कारण स्वास्थ्यकर्मी चिकित्सकहरुले सेवाग्राहीबाट गाली खानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र यथाशीघ्र सुरक्षाको प्रत्याभूति नभई मागहरु पुरा नगरुन्जेल अस्पतालका आकस्मिकबाहेकका अन्य सेवाहरु संचालन गर्न नसकिने लगायतका मागहरु उल्लेख गरिएको छ ।
ज्ञापन पत्र हस्तान्तरण गर्ने क्रममा अस्पतालका मेसु डा. रविकुमार शाह, एनएमए मेची अञ्चल समिति सदस्य तथा गोदावारी अस्पतालका संचालक डा. सूर्यनारायण शाह, अस्पतालका फिजिसियन डा. निरज शाह, अर्थोपेडिक सर्जन डा. बोधराज शाह, एनेस्थेसियोलोजिष्ट डा. विकास अधिकारी, बाल रोग विषेशज्ञ डा. नवराज पुरी लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।
यस्तै, शुक्रबार बिहान १० बजे अस्पताल परिसरमा विभिन्न प्ले कार्डहरु प्रदर्शन गरी एक घण्टा विरोधको कार्यक्रम गरिएको थियो ।

Author

You may also like