उर्लाबारी, १३ असोज
नेपाली विषयका शिक्षक लक्षित एकदिने शिक्षण पद्धति पाठ्यक्रम विमर्श तथा सृजनात्मक शिक्षण कार्यशाला शुक्रबार उर्लाबारीमा सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिका र ऐरावती प्रकाशन प्रालिको संयुक्त आयोजना एवं उर्लाबारी प्याब्सनको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, कवि, समालोचक तथा नेपाली पाठ्यपुस्तक लेखक प्रा. डा. देवी नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम विज्ञ तथा साहित्यकार डा. गणेश भट्टराईले कार्यशालाको सहजीकरण गरेका थिए ।
उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विषयगत शिक्षकको सहभागिता थियो । कतिपय सहभागी शिक्षकले सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षक एउटै कोठामा बसेर कार्यशालामा सहभागी हुँदा अनुभव साटासाट समेत भएको बताएका थिए ।
कार्यक्रमको संयोजन उर्लाबारी नगरपालिका शिक्षा शाखाले गरेको थियो । नगरप्रमुख गंगाप्रसाद खरेलले नेपाली विषयका शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई अध्यापन गराउन सजिलो विषय नभएको बताए । उर्लाबारी नगरपालिकाले शिक्षालाई विशेष ध्यान दिएको र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागिरहेको ले बिषयगत तालीमले नयाँ उर्जा थप्ने बिश्वास लिएको जनाए । कार्यक्रम, ऐरावती प्रकाशन का अध्यक्ष रामदेव पाण्डेको अध्यक्षता र संचारकर्मी विनोद सापकोटाले सञ्चालन गरेका थिए ।