उर्लाबारी, १५ कार्तिक
मिक्लाजुङ गाउँपालिका मोरङका अध्यक्ष बबि कुमार राईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम मार्फत मिक्लाजुङ गाउँपालिकालाई सहयोग गर्न अनुरोध गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसंग भेटघाट गर्दै अध्यक्ष राईले मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने रमिते क्षेत्र भौगोलिक हिसावले निकै टाढा रहेका कारण त्यहाँका विधार्थीले निकै कष्ट भोग्नु परेको भन्दै सोही वडामा रहेको टाँडी माध्यमिक बिद्यालयलाई आवास सहितको बिद्यालयमा रुपान्तरणका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।
अध्यक्ष राईले टाँडी माविलाई आवास सहितको पर्यटन विद्यालयमा रुपान्तरण गर्नका लागि सोही अनुसारको कक्षाकोठा, प्रयोगशाला त्यस्तै करिव एक सय जना क्षमता भएको छात्रावास र बीस जना शिक्षक कर्मचारी बस्न मिल्ने भवन लगायातका पूर्वाधार निर्माण गर्न करिव साढें पाँच करोड लागत आवश्यक पर्ने जनाए ।
त्यस्तै मोरंग र झापाको दमक नगरपालिकाको सिमानामा पर्ने मावा खोलामा बर्षेनी आउने बाढीका कारण मानवीय बस्ती नै जोखीममा परेको र ठुलो जनधनको खतरा रहेको भन्दै मावा खोला व्यवस्थापन र प्राकृतिक श्रोतको सदपुयोग गर्न तटबन्ध निर्माण गर्नुपर्ने माग पनि राखे । सो को लागि समेत करिव पांच करोड राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रमबाट रकम उपलब्ध गराईदिन माग गरिएको अध्यक्ष राईले पूर्वसन्देश दैनिकलाई जानकारी दिए ।
राष्ट्रपति पौडेललाई भेट्न निवेदन सहित अध्यक्ष राईसंगै मिक्लाजुङ गाउँपालिकाका जनस्वास्थ्य अधिकृत डा सुजा पण्डित, नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस महासमिति सदस्य चिरन्जीवी थापा शितल निवास पुगेका थिए ।
त्यस्तै सोमवार नै अध्यक्ष राई र कांग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेटेर मिति २०७९ साल श्रावण ३ गते सुरक्षा समिति मोरङले सिफारिस गरेको, मधुमल्ला इलाका प्रहरी कार्यालय (ख) लाई (क) बनाउने साथै टाँडी र रमिते अस्थायी प्रहरी चौकीलाई स्थायी बनाइदिन तत्काल पहल गर्न र एउटा शव बाहनको लागि समेत सहयोग गरिदिन आग्रह गरेका थिए ।
भेटमा सभापति खतिवडाले आफुले तत्काल गृह मन्त्रालयसंग कुरा गरेर मधुमल्ला इलाका प्रहरी कार्यलयलाई (क) बनाउने र टाँडी र रमितेको अस्थायी प्रहरी चौकीलाई छिट्टै स्थायी बनाईदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।