Banner समाचार स्थानीय

कार्कीको शव नबुझ्ने परिवारको अडान

दमक, १५ कार्तिक

झापा, कमल -६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएको छ । परिवारले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेको छ ।
मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले मंगलबार दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुति हुन नसकेको तथ्य आफूहरुसँग रहेको बताए । घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भट्टराई फरार हुनु शंकास्पद रहेको परिवारको बुझाई छ ।
उनीहरुले कार्कीमाथि उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भट्टराईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि दावी गरे । वडाअध्यक्ष भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र प्रहरीले कानुनी प्रकृया शुरु गरेको जानकारी आफूहरुले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको उनीहरुको आरोप छ । जाहेरीकर्ता कार्कीका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिन जाँदा जाहेरी लिन अस्वीकार गरेको भन्दै इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शननै गरेका थिए ।
कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । कार्कीको मृत्यु भए लगत्तै श्रीमतीसहित ससुरा भने फरार भएका थिए ।
दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशैं विदामा घरआएका कार्कीमाथि श्रीमती, वडाध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै कार्तिक ७ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमय मृत्युभएको हो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताइएको छ । पहिले फरार अवस्थामा रहेपछि प्रहरीले खोजी गरी नियन्त्रणमा रहेका कार्कीका श्रीमतीसहित ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय दमकले आत्महत्या दुरुत्साहन मुद्धा चलाएको छ । प्रहरीले भने वडाध्यक्षलाई घटनामा उन्मुक्ति दिन जाहेरी नै फरक बनाएर मुद्धा चलाएको कार्की परिवारको भनाई छ ।

You may also like