देश–समाज समाचार स्थानीय

१० वर्षे योजनासहित लागुऔषधविरुद्धको दमकको अभियानलाई प्रदेशले सहयोग गर्ने

दमक/ लागुऔषध दुव्र्यसन र आत्महत्या न्यूनीकरणका लागि दमक नगरपालिकाले चलाएको अभियानमा प्रदेश सरकारले सकेको सहयोग गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मंगलबार दमकमा शुरु भएको दोश्रो चरणको लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियानको शुभारम्भ गर्दै यस्तो सहयोगको आश्वासन दिएका हुन् । दमक लागुऔषध दुव्र्यसनको हबका रुपमा रहेको छ । सोही कारण सरोकारवाला सबैको दबाव र शहरकै दुर्नाम फैलिने भएपछि आवश्यकताका आधारमा दमक नगरपालिकाले गएको आर्थिक वर्षदेखि यस्तो अभियान थालनी गरेको हो  ।
पहिलो वर्षको अभियानमा ३० जना दुव्र्यसनीहरुलाई सुधार केन्द्रमा पठाई उपचार गरिएको दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी गराए । उनले लागुऔषधको कारोबार गर्ने ६५ जनालाई इलाका प्रहरी कार्यालय दमकमार्फत् कानुनी कारवाही गरिएको पनि आफ्नो प्रस्तुतिमा बताए । नगरपालिकाले अघिल्लो वर्ष अभियानका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरी खर्च गरेको थियो भने प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
यसपाली पनि प्रदेश सरकारले केही रकम सहयोग गर्ने र दमकमा मात्र होइन, प्रदेशका सबै पालिका र विद्यालयहरुमा यस्तो अभियान संचालन गर्ने योजना रहेको पनि मुख्यमन्त्री कार्कीले प्रष्ट पारे  । उनले दमकको अभियानमा आर्थिक, भौतिक र नैतिक सबै खालको सहयोग गर्न आफूहरु तत्पर रहेको पनि बताए । बढी प्रभावित प्रदेशका ११ जिल्लामा यस खालको अभियान शुरु गर्ने बारे आवश्यक छलफल भइरहेको तर यसका लागि सरोकारवाला सबै राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाजको ऐक्यवद्धता र सहकार्य जरुरी रहेको पनि मुख्यमन्त्री कार्कीले धारणा राखे ।
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दुव्र्यसनी मात्र नभएर लागुऔषध कारोबार गर्नेलाई पनि कारवाही नगरे अभियानले मूर्त रुप लिन नसक्ने देखिएको बताए । अभियानको सिलसिलामा नगरका सबै वडा र टोलमा पुगिएको र आगामी १० वर्षभित्र दमकलाई दुव्र्यसनमुक्त बनाउने प्रयासलाई सार्थक बनाउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने उनको भनाई थियो । अभियानका क्रममा लैंगिक हिंसा, छुवाछुत विरोधी विषय र आत्महत्या न्यूनीकरणको कुरालाई पनि समेटिएको नगर प्रमुख थापाले बताए । समारोहमा दुव्र्यसनको कुलतबाट मुक्त एक युवकलाई ११ हजार र दमक–७ का ६ वटा टोल विकास संस्थाको संयुक्त सुधार समितिलाई नगद २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरियो ।
दोश्रो अभियानका क्रममा वडा, नगरमा सरोकारवाला समितिहरु गठन, अन्तरक्रिया, सचेतना, बैठक, गोष्ठी, प्रशिक्षण, सडक नाटक प्रदर्शन, दुव्र्यसनीको पहिचान र उपचार लगायतका कार्यहरु गरिने भएको छ । यस वर्ष पनि यो कार्य जारी रहने नगरपालिका सामाजिक विकास शाखाका प्रमुख केशव प्रसाद प्रसाईले बताए । मंगलबारको शुभारम्भ समारोहमा संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बू, सामाजिक व्यक्तित्वहरु क्रमशः शेरबहादुर भट्टराई, रेवतराज (गगन) पुरी, नगरपालिका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले शुभकामना मन्तव्य र दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम नगरपालिका राजश्व शाखा प्रमुख डम्बर राज बरालले गरेका थिए । नगरपालिकाको यो अभियान यही पुस ९ देखि शुरु भएकोमा आगामी जेठ मसान्तसम्म रहने जनाइएको छ । कार्यक्रमा सांसदहरु होम बहादुर थापा र नम्वरलाल धिमाल, दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको आतिथ्यता रहेको थियो  ।

Author

You may also like