देश–समाज सम्पादकीय

अनुकरणीय व्यक्तित्वको छवि बनाएका कृष्णप्रसाद

पुस ८ गते सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सम्झने दिन अर्थात १०१ औं जन्मोत्सव । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताउँदै भाषण गरे । जन्मोत्सवकै अवसरमा उनले सन्त नेताकै बाटो अनुशरण गर्ने संकल्प पनि गरे । तर यस्ता भाषण र संकल्प धेरैले गर्दै आएका छन मञ्चबाट एक थोक र व्यवहारमा अर्को तरिकाले अपनाउने नेताहरुको लर्को लागेको छ । पछिल्लो नेतृत्व पंक्तिमा ठ्याक्कै दैध चरित्र अपनाउने गरिनुले उनीहरुको शाख गिरेर सम्झन योग्य नबनेका उदाहरण पनि प्रशस्त छन् ।
कुनै उच्चस्तरमा पुगिसको व्यक्तित्वको सम्झना त्यतिकै हुँदैन । उनीहरुको राष्ट्र र जनताप्रतिको योगदानले उनीहरुलाई सम्झना लायक बनाउने गर्दछ । पदीय जिम्मेवारी र मर्यादामा को कत्तिको बसेको सोही अनुसार राष्ट्रले सम्झने हो । नेपालमा प्रधानमन्त्री लामो फेहरिस्ता छ । धेरै जना आए तर थोरैले मात्र नाम कमाए । अधिकांश प्रधानमन्त्री गन्हाएका, सम्झन लायक देखिँदैनन् । यहाँ हरेक पार्टीका जस्तासुकै नेताहरुको जन्मोत्सव वा स्मरण गर्ने गरिएको छ तर त्यो सीमित समूह वा दलमा रहन्छ । राष्ट्र र जनताको लागि सकारात्मक रुपमा जीवन उत्सर्ग गरेको छ उसको आम जनताको मन र मस्तिकले सम्झने गरेको हुन्छ यस्तै एक महान व्यक्तित्व, राजनीतिज्ञ, नेता तथा पूर्व प्रधानमन्त्रीमा दरिएका छन नेपाली कांग्रेसका संस्थापक तथा सन्त नेता कृष्णप्रसाद भट्टराई । उनले जीवनमा कुनै लोभलालच, इष्र्या, वैमनस्यता नराखी उनी स्वच्छ र सन्तको छवि बनाएर नेपाली जनताको माझमा बिलाए पनि उनका ति महान विचार, योगदान र लगावलाई नेपाली जनताले सदैव स्मरण गरिरहने उच्च कोटीमा परेका छन् । विगतमा देशका लागि मरिमेटेका, जनताको मन जितेका उच्चकोटीको योगदान पु¥याएका राजा, महाराजा, नेता, सन्त महर्षिहरुलाई साझा व्यक्तित्वको रुपमा सम्झने गरिन्छ । युगौ, युगसम्म उनीहरुको त्यो छवि कायमै रहन्छ त्यही क्रममा सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई लिने गरिन्छ । उनका स्वभाव, विचार, आदर्शले नेपाली समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन लायक छ । अनुकरणीय व्यक्तित्वको छवि बनाएका कृष्णप्रसाद भट्टराईका आदर्शमय जीवनका भोगाईलाई अहिले उनकै दल र नेताहरुले लगौटी बनाइरहेका छन् ।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन, पुष्पलाल, मदन भण्डारीले देखाएको बाटो बिरिइसकेको छ । देशमा मूल्य र मान्यताको राजनीतिको जति ह्रास हुँदै जाँदा आम नेपाली उनीहरुको नाम भज्याएर खानेहरुप्रति वितृष्णा गर्ने गरेका छन् । साधारण, सभ्य, सुसंस्कृत मूल्य र मान्यताको राजनीति गर्ने राजनीतिज्ञको महत्व र महिमा के–कति हुन्छ भन्ने कुरा सन्त नेता भट्टराईको जीवनीले देखाएको छ । त्यही स्वभावबाट उनी नेपाली काँग्रेसका संस्थापक भए, सभापति भए । पहिलो संसदको सभामुख भए, प्रजातन्त्रको पुनर्वहालीपश्चात् गठित सरकारको प्रधानमन्त्री भए र त्यसपछि फेरि प्रधानमन्त्री भएर नेपाली जनताको मनमा अमिट छाप बसाएर बिदा भए ।
दिग्गज, दीर्घकालिन सोच भएका उच्चस्तरीय नेताहरुको बाटोमा पछिल्लो समयमा नेताहरु धेरै कम हिंडेका छन् । जसले त्यो बाटो समाएका छन तिनीहरु पछाडि छन तर जसले लोभ, लालच, इष्र्याका साथ देश र जनताभन्दा पारिवारिक सुखभोग, भौतिक सुख र सुविधालाई प्रश्रय दिएका छन उनीहरु उच्च स्थानमा पुगेका र जनताको मनबाट स्खलित भएका व्यक्तिमा पर्ने गरेका छन् ।
आसलाग्दो व्यक्ति जब कुनै निर्णायक स्थानमा पुग्छ, आम अनुमान विपरीत उसले अपेक्षित काम गर्न सक्दैन र ऊ त्यो पदबाट बाहिर निस्कँदा उसको साविक व्यक्तित्व यति धेरै स्खलित भइसकेको हुन्छ कि उसका परिवारका सदस्यहरूले पनि सार्वजनिक रूपमा उसको प्रतिरक्षा गर्ने हिम्मत गर्न हम्मे–हम्मे हुन्छ । नेपाली राजनीतिमा व्यक्तित्व स्खलनको यो प्रक्रियाले भावी पुस्तालाई राजनीतिप्रति घृणा उत्पन्न गराएको छ र राज्य सञ्चालन पद्धति नै विफल हुने खतरातर्फ उन्मुख हुँदैछ । राजनीतिको पछिल्लो विडम्बनायुक्त दुःखलाग्दो पाटो यहि बनेको छ । पदीय मर्यादा, आचारण, शैली, स्वच्छ, निष्पक्ष र कामको प्राथमिकता छुट्याउन नसक्दा आशा गरेका धेरै व्यक्तिहरुबाट जनता निराश बनेका छन् ।
उच्चकोटीको नैतिकता र सादगी जीवन, उच्च र दीर्घकालिन विचार सशासनका पक्षमा गरिएको योगदानबाटै उनीहरुको सम्झना हुने हो तर पछिलले समयमा देखिएका नेता, प्रधानमन्त्री, मन्त्रीसहित उच्च संवैधानिक ओहदामा बसेका व्यक्तिहरु समग्र राष्ट्रका निम्ति भन्दा पनि एउटा गुट र समूहका नोकर बनिदिँदा जनतामाथि यो व्यवस्थाप्रतिकै वितृष्णा उत्पन्न गराईदिएको छ । सत्ता र शक्तिका लागि उनीहरु सत्तादेखि सडकसम्म सहरदेखि गाउँसम्म आफै छाउने गरेका छन । चरित्र, नैतिकता, स्वच्छ र निष्पक्ष छवि कहिँ कतै कसैमा नदेखिनु नै आम नेपालको मनमा नेता, दल र व्यवस्था स्खलित हुनुको कारण बनेको हुँदा सुधारले अगाडि बढ्दा मात्र बीपी, पुष्पलाल, कृष्णप्रसाद, गणेशमान, मनमोहन झै आम नेपालको मनमा अमर बन्न सकिन्छ भन्ने हेक्का हुन जरुरी देखिन्छ ।

Author

You may also like