मुख्य

ईष्टर्न स्टारको २८ औं वार्षिकोत्सव

दमक/ झापाको दमक–७ स्थित ईष्टर्न स्टार सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कूलले शनिबार विद्यालयको २८ औं वार्षिकोत्सव मनाएको छ । अप्रतियोगितात्मक र प्रतियोगितात्मक नृत्य, विज्ञान प्रदर्शनी, फुड फेष्टिबल र विभिन्न खेल तमासा गरेर सो विद्यालयले अभिभावक, विद्यार्थी, शिक्षक÷शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा अन्य अतिथिहरुलाई निमन्त्रणा गरेर सो वार्षिकोत्सव मनाएको
हो । विद्यार्थीहरुलाई अध्ययन अध्यापनका अलावा उनीहरुको व्यक्तित्व विकासका लागि विभिन्न रचनात्मक क्रियाकलाप र कार्यक्रमहरु गरी विद्यालयको शैक्षिक उन्नयन र प्रगतिका लागि आफूहरु निरन्तर लागीपरेको सो विद्यालयका प्रधानाध्यापक लछुदास (एलडी) राईले आफ्नो मन्तव्यमा बताए ।

उनले आगामी दिनमा विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक साथै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै जाने प्रतिवद्धता जाहेर गर्दै त्यसमा सबै अभिभावकहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
विद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका–७ का वडाध्यक्ष भिम पौडेलले प्रमुख अतिथिका रुपमा बोल्दै स्थापनाकालदेखि सो विद्यालयले गुणस्तरीय शिक्षा दिनुका साथै महत्वपूर्ण भौतिक र शैक्षिक उपलब्धि हासिल गरेकोमा त्यसको प्रशंसा गर्नुपर्ने बताए  । उनले विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न नगरपालिका तयार रहेको पनि बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज राईको अध्यक्षतामा भएको सो कार्यक्रममा कक्षा नर्सरीदेखि २ सम्मका विद्यार्थीहरुले अप्रतियोगितात्मक नृत्य तथा प्रतिभा प्रदर्शनी र कक्षा ५ सम्मले आधुनिक , निमाविले राष्ट्रिय तथा माध्यमिक तह सम्मका विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा आकर्षक लोकसांस्कृतिक गीतमा प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेर उपस्थित सम्पूर्णलाई मनोरञ्जन दिलाएका थिए । त्यसक्रममा कक्षा २ देखि १० सम्मको चार वटा हाउसले १२ वटा नृत्य प्रस्तुत गरेको जानकारी गराइएको छ । प्रतियोगिताको विजेता टिमलाई वार्षिक पुरस्कार वितरण कार्यक्रमका अवसरमा पुरस्कार प्रदान गरिने विद्यालयका सहायक प्रअ तथा कार्यक्रमका संचालक घनश्याम कोइरालाले जानकारी गराए । नृत्य प्रदर्शनको कार्यक्रममा विद्यालयकी भाइस क्याप्टेन तेन्जिना मगरले पनि सहजीकरण गरेकी थिइन् ।
विज्ञान प्रदर्शनी भने कक्षा ५ देखि १० र फुड फेष्टिबल कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न स्टलहरु राखी चलाएका थिए । विज्ञान प्रदर्शनीमा मानिसको डिएनए टेष्ट कसरी हुन्छ, घर तथा भवनमा विद्युतीय तार जडान, सूक्ष्मदर्शक यन्त्र माइक्रोस्कोप, टेलिस्कोप, उचाई नाप्ने मेशिन, मसिना जलप्राणीहरु, हाइड्रोलिक ब्रेक, डाइनामो, इलेक्ट्रोलाइसिस अफ वाटर, पृथ्वीको परिक्रमा चक्रका बारेमा विभिन्न स्टलहरु राखिएका थिए । सो प्रदर्शनी र फुड फेष्टिबलको कार्यक्रमका सहभागीहरुले अवलोकन गर्नुका साथै त्यहाँ विद्यार्थीले बनाएका परिकारहरुको स्वाद समेत लिएका थिए ।
कार्यक्रममा युनिक कलेजका क्याम्पस प्रमुख शान्तिराम आचार्य, ओम मेची अस्पतालकी चिकित्सक विनिता ओडारी राउत, दमक आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल शेखर कटुवाल, प्याब्सन दमकका अध्यक्ष जनार्दन मैनाली, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, विद्यालय व्यवस्थापन समितिकी सदस्य निर्मला पाठक शिवकोटी, नेपाली काँग्रेसका महासमिति सदस्य भूमि राई, क्लब हिमालयन टाइगरका उपाध्यक्ष मेघनाथ फुँयाल, अभिभावक युनिटका अध्यक्ष युवराज लिम्बू, अभिभावक समूहकी नर्वदा पाठक र ईश्वरा सिटौला, पत्रकारहरु पंकज दाहाल, विष्णु सुब्बा, विष्णु पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

Author

You may also like