मुख्य

दमक–९ मा जग्गाको निस्सा वितरण शुरु

दमक/ झापाको दमक नगरपालिका–९ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण सुरु गरिएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालय परिसरमा कार्यक्रम गरी दमक नगर प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई सहितले वडा भित्र रहेका भूमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन् । दमक वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचार संहिताका कारण निस्सा वितरण केहि ढिलो भएको भन्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडैनै धनिपुर्जा समेत वितरण गर्ने जानकारी गराए ।
आफूहरु निर्वाचित भएर आए देखिनै पहिलो प्रथमिकतामा राखेर भूमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको उनले बताए । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले भूमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागी परेको बताइन् । उनले प्राप्त निवेदनका आधारमा छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्य समेत सुरु गर्ने प्रतिबद्धता समेत जनाइन् । वडा भित्र हाल सम्म दर्ता भएका ४०३ जना भूमिहिनलाई शनिबारदेखि निस्सा वितरण सुरु गरिएको जानकारी दिइन् । निस्सा नपाएकाहरुलाई पनि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राखेर आफूले पाउने कागजात बुझ्न आग्रह गरिन् ।

Author

You may also like