अर्थ मुख्य

९० प्रतिशत गुलाफ भारतबाट आयात

दमक, ०२ फागुन । प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको अवस्था नेपालमा पनि छ । जहाँ ९० प्रतिशत गुलाफ फूल भारतबाट भित्रिने गरेको छ ।

फेब्रुअरी १४ अर्थात बुधबार ( आज) मनाउने ‘भ्यालेन्टाइन डे’ मा कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ । नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाए । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपैंयाँदेखि एक सयसम्म पर्ने उनले जानकारी दिए । अध्यक्ष तामाङका कुल मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने जानकारी दिए ।

पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ । आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ । यो दिवस देखासिकीमा बिकृत समेत बन्दै गएको भन्दै प्रेमवादी पक्षले चिन्ता समेत व्यक्त गर्न थालेको छ ।

फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ क्रमशः गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।

Author

You may also like