दमक, १७ पुस।
विश्वेश्वर (वीपी) कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको नेपाली कांग्रेसका अगुवाहरुले बताएका छन् ।
कांग्रेसले संघीय राजधानी काठमाडौँ सहित जिल्लाका विभिन्न ठाउँमा सोमबार राखेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् । पार्टीका संस्थापक नेता वीपी लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
यसक्रममा झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस निकट नेपाल तरुण दल र नेवि संघले बुधबारेमा आयोजना गरेको वीपी विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताएका छन् । हुमागाईले बीपीको मेलमिलाप नीतिकै जगमा मुलुकमा अग्रगामी परिवतन सम्भव भएको भनाइ राखे । देशका तमाम तरुण, युवा, विद्यार्थीले बीपीको प्रजातान्त्रिक समाजवाद आत्मसाथ गरेको खण्डमा मात्र देशले चाडै समृद्धिको यात्रा तय गर्ने विचार ब्यक्त गरे ।
कार्यक्रममा कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले वीपीको योगदान र मार्गदर्शक सिद्धान्तलाई सम्झेर आपसी मेलमिलापकासाथ कांग्रेस नेता–कार्यकर्ताहरु अघि बढनु पर्नेमा जोड दिए ।
४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसर पारेर सोमबार दमकमा अन्तरक्रिया भएको छ । कांग्रेस झापा क्षेत्र नं ५ (ख) को आयोजनामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कांग्रेस नेतृ लिम्बूले कांग्रेसनै मुलुकको अभिभावक पार्टीका रुपमा रहेकाले यसको इतिहास र बिरासतलाई कायम राख्दै सबै दलहरु कांग्रेसले लिएको प्रजातन्त्रको बाटोमा हिंडनु सुखद भएको बताइन् ।
कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले मुलुकको मुल पार्टीका रुपमा कांग्रेस रहेको बताउँदै कांग्रेसले यस्ता ऐतिहासिक महत्व दिनहरुलाई बिर्सिन नहुने जिकिर गरे ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले पार्टी भित्रको आन्तरिक एकता बलियो नभएसम्म पार्टी बलियो नहुने र पार्टी बलियो नभई मुलुकलाई बलियो बनाउन नसकिने भएकाले आन्तरिक एकतामा जोड दिएका थिए ।
कांग्रेसले जनतासँग जोडिएर सेवामुलक काम गर्नुपर्ने वीपिको विचार रहेकाले वीपी विचारलाई आत्मसात गर्दै यस किसिमको कार्यक्रम गरिएको पार्टीका प्रदेश सभा क्षेत्र (ख)का कोषाध्यक्ष दिनेश अधिकारीले बताए ।
कार्यक्रमबीच दमक –९ स्थित आश्रममा संक्षिप्त कार्यक्रम गरि मेलमिलाप दिवसहित खाद्यान्न हस्तान्तरण गरिएको छ । आश्रमका बालबालिकालाई आवश्यक पर्ने एलपी ग्याँस, आलु, प्याज, फलफुल लगायतका भान्सामा उपयोगी सामग्रीहरु प्रदान गरिएको थियो ।
मेलमिलाप दिवशको सन्दर्भमा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यक्रम भएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका वीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
भारतमा निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि विपीलगायत नेताहरु देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । स्वदेश फर्किएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
तत्कालिन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।