मुख्य

टोपी दिवशमा सम्मान

दमक, १७ पुस।

राष्ट्रिय टोपी दिवश मनाउने क्रममा सोमबार दमक र उर्लाबारीमा पनि कार्यक्रम सम्पन्न भएको छ ।

जीवन चक्र समाज नेपालले दमकले हरेक बर्ष झै यो वर्ष पनि टोपी दिवस मनाउँदै उपस्थित सबैलाई टोपी लगाइदिएको छ । हिमालय क्लब टाइगर, लायन्स क्लब, पहिलो पाइला नेपाल सहितको सहकार्यमा दमकको डाँफेमुनाल चोकमा आयोजित कार्यक्रममा दमकका अभिभावक तथा सामाजिक एवं साँस्कृतिक व्याक्तित्व बेनु चुडाललाई सम्मानपत्र र टोपीले सम्मान समेत गरिएको छ । कार्यक्रममा बिन्दु दहाल मुकदर्शक र दुर्गा काफ्लेले टोपी सम्बन्धी कविता वाचन गरेका छन् । गणेश गौतमको अध्यक्षताको कार्यक्रममा उपस्थित ३ सय हाराहारीलाई ढाकाटोपी लगाएर नेपाली मौलिक पोशाक टोपी संरक्षणको सन्देश प्रवाह गरिएको सदस्य डा. लेखनाथ न्यौपानेले जनाए ।

मारवाडी युवा मञ्चले उर्लाबारीमा ‘नेपाली टोपी, नेपाली पहिचान’ भन्ने नाराका साथ ११ औं टोपी दिवश मनाएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख मीना खतिवडा पौडेलले सयौंको संख्यामा उपस्थित सहभागीहरुकाबीच सो कार्यक्रमको शुभारम्भ गरेका थिए । बहुसंख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार्नु अहिलेको आवश्यकता भएको उपप्रमुख खरेलले बताए । सो अवसरमा उर्लाबारी चौकबाट पञ्चेबाजा अघि लगाएर बृहत ¥यालीसहित राष्ट्रिय पोषाक तथा टोपीमा सजिएका स्थानीयवासी, विद्यार्थी, समाजका अगुवा व्यक्तित्वहरुले बजार परिक्रमा गरेका थिए । प्रभातफेरिमा राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु घन्काइएको थियो । कार्यक्रममा सहभागीलाई ढाका टोपीसमेत वितरण गरिएको अध्यक्ष विजय बाहेतीले बताए ।

You may also like