मुख्य विचार/वहस

कता जाँदैछ २०८४ को निर्वाचन ?

के भनौ ? के सुनाऔ ? के लेखौ ? लेख्न त मन थियो तर महान नेपाली जनताले सोचे जस्तो परिवर्तन नभएकै कारणले हिजोआज यो स्वतन्त्र कलमीको दृष्टिगोचर कतातिर लैजाउ भन्ने दोधारमा छ । बिगत ०४६ सालको उलटपुलट परिवर्तन ल्याउने आन्दोलनदेखि अहिलेसम्म आइपुग्दा यो ३४ वसन्त पारगर्दासम्म आशातित परिवर्तन हुन सकेकै छैन । देशमा अनेकन घटना र काण्डहरु भएका छन् । बोल्नेवाला कोहि छैनन, बँचेखुचेका साखहरुपनि दिनप्रतिदिन अदलबदल भइरहदा यो कलमीको नीवको मसी सुकेर जाने पो हो कि भन्ने भा छ । यही भएर होला राजनीतिक समसामयिक बिषय उठानै नगरौं कि जस्तो लाग्छ तर के गर्नु हिजो लडेका, भिडेका, अङ्गभङ्ग भएका लडाकु अनि घाइते भएका श्रमजीवीहरुको आवाज बुलन्द गर्नुपर्छ भन्ने भावनाका कारण फेरि पनि आज राजनीतिक बिषयवस्तु उठान गर्दैछु । जुन सत्य र तथ्यपरक छ । मेरो यो स्वतन्त्र कलमी आवाजलाई सकारात्मक तरिकाले लिइदिनु भएर प्रत्युत्तर दिनुहुनेछ भन्ने कुरामा आशावादी छु ।
प्रसङ्ग बदलौ, पुरानो राजनीतिक विरासतसङ्गै भिजेको नेपाली राजनीति रङ्गमा घुलमिल भएको नयाँ नेपाली राजनीति र अवको मोड कतातिर जाने हो भन्नेतर्फ मेरो मस्तिष्क मोड्दैछु । हिजोका दिनमा जनताहरु नेताले जे भन्यो त्यो मान्थे, यता जानु, उता जानु, यसो गर्नु, उसो गर्नु भनेर काम लगाउदासम्म मान्थे । आज उनीहरू पोख्त भएर अहिले नेताहरूलाई सिकाउनेवाला छन्, सद्बुद्धि दिनेवाला छन् । किनकि नेपाली राजनीतिको गाँठिकुरा उनीहरूले बुझिसकेका छन् । कसैलाई सम्झाउनु बुझाउनु पर्ने अवस्था छैन अहिले । हुन सक्ला नेपाल अधिराज्यभर कति दुर्गम र पहाडी भूभागमा नबुझ्ने जनताहरु चुनावी मैदानमा दलहरु उत्रँदा रकमी भागबण्डामा परेर भोट लेनदेन होला र सोचेको जनमत सिण्डिकेट प्रणालीमा जाला तर अब जनता सचेत भएका छन् । कुन दलको बिगतको विरासत कस्तो छ र अहिले तिलस्मीमय परिवर्तन कसरी भयो त्यो सबै बुझिसकेका छन् नेपाली जनताले । हाम्रो मिसन यो हो, अबको रणनीति यो हो भन्ने नक्कली स्वर जतिपनि जनतालाई सूसूचित गरेपनि अब सुन्नेवाला छैनन् । सबै पोख्त भएका छन् । दुधको दुध, पानीको पानी छुट्ट्याउन सक्ने भएका छन् । उनीहरूले हिजो के – के देखेनन् ? के – के भोगेनन् ? बाँच्नेहरुले पक्कै पनि हिजो भोगेका पीडाबोध सुनाएकै होलान्, बुझाएकै होलान् । अहिले बुझाउनुपर्ने गाँठी कुरा के छ त ? यो कलमीको विचारमा केही पनि छैन । किनकि हिजोका पिँढीले आजका युवाहरूलाई सबै कर्तव्यबोध गराइसकेको अवस्था छ । हुन पनि हो उनीहरूलाई सिकाउनुपर्ने जरुरत नै छैन । आफैं बोध गरिसकेका छन् । हिजोआज वाक्कदिक्क भएका छन जनता । आज के – के घटना भएनन् ? कसलाई थाहा छैन ? कस कसले उन्मुक्ति पाए ? कालोलाइ को कसले सुनपानीले पखाल्यो ? यो सबै वृतान्त नेपाली जनतालाई थाहा छ । चाहे उनीहरू सिण्डिकेट प्रणालीका पुराना राजनीति दलकै चम्चे हुन् । सबैलाई जानकारी भएकै छ । लोकतान्त्रिक गणतन्त्रको सुगा रटानमा लागेर देश दोहन गर्ने सबैभन्दा ठूला दलहरुको हर्कत सबै जनताले बुझिसकेका छन् । हिजोको राजनीति विरासतका लागि दलहरुलाई सबैले बुझेरै जनमत दिएकै हो , उनीहरूले त्यो अभिमत पूरा गर्न सकेनन् । कसरी देश दोहन गरौं, ऐश आरामका साथ जिन्दगी बिताउने हो भन्ने सोच राखेकै कारण हिजोको जनमत आज ठूला दलहरुले जोगाउन सकेनन् । आज तेश्रो शक्तिका रूपमा रास्वपाको जन्म भयो । नसोचेको जनमत उसले प्राप्त गर्यो भने अहिले उनीहरू देश दौडाहामा छन् । संगठन निर्माणमा होमिएका छन् । अब आगामी दिनमा हुने मिसन – ०८४ को निर्वाचन आफ्नो हातमा पार्न खेल खेलिरहेका छन् । हुन पनि हो, अरु दलहरुले हिजो जनता जनार्दनले दिएको जनमत जोगाउन नसकेकै कारण आज जनतामा वितृष्णा जन्मियो । नेताहरुलाई जनताका समस्या भन्दापनि कसरी आफ्नो स्वार्थपूर्ति गरौं भन्ने देखियो यथार्थमा । यही भएर हिजोआज जनतालाई ब्यूझाउन उद्दत छन् । यति हुँदाहँुदै पनि विज्ञहरुको सल्लाह, सुझाव उपयोग गरी समृद्धि अभियानमा वर्तमान सरकार लागेको देखिन्न । केन्द्रदेखि गाउँसम्मका सर्वसाधारण हुङ्कार मच्चाएर हिडने, सामाजिक र आर्थिक विकासका काममा सिन्को नभाँच्ने शासकको शैलीले वाक्क बनिसकेका छन् सिधासाधा जनताहरु । अभियानको नयाँनयाँ नाम दिएर सानाठूला राजनीतिक दलका नेता जनतामाझ अझै नै आश्वासनकासाथ आफ्नो दुनो सोझ्याउन खप्पिस छन् बयोबृद्द नेताहरु । उनीहरूलाई कहिल्यै देश दुःखेन, जनजीविकाका आधारमा नाना, छाना र दानाको सुविधा उपलब्ध गराउने जिम्मेवारीबोध हुन सकेन । तस्कर, भू , जल, वन माफियाको उदण्डता उत्कर्षमा पुगेको बेला नक्कली भूटानी शरणार्थी खडा गरी देशद्रोही नेता, कर्मचारी तिनका सहयोगीले मुलुकमाथि कहिल्यै नमेटिने दाग लगाइसकेको तीतो यथार्थ सुनपानीले पनि पखाल्ने अवस्था छैन ।
यतिबेला राजनीतिक बृत्तमा मिसन ०८४ को भूत सवार भइसकेको अवस्था छ । जसलाई नेता, विश्लेषक, बुद्धिजीवीले विभिन्न दृष्टिकोणबाट हेरिरहेका छन् । धेरैले यो राजनीतिक झटारोलाइ सत्ता हत्याउने अभियानका रूपमा बुझेका छन् भने दलहरूले बहुमत ल्याएर मुलुकमा विकासको जग हाल्ने घमण्ड देखाइरहेका छन् । कोहि सिङ्गापुर बनाउने, कोहि स्वीटजरल्याण्ड बनाउने हावादारी गफ दिने मात्र भए तर काममा भने शून्य शून्यमै सिमित भए । राजनीति र अहिलेसम्मको परिस्थिति बुझेकाहरुले भने जनताको आँखामा छारो हालेर देश दोहन गर्ने, लुटने संस्कारको निरन्तरताको संज्ञा दिइरहेका छन् । हुन पनि विगतको राजनीतिक परिवेशको सिंहावलोकन गर्ने हो भने कुनै सरकारले विकासमा उल्लेख्य योगदान पुर्याएको देखिदैन । दलहरुले १/२ वर्षमा कृषि, पर्यटन, उधोगधन्दा लगायतलाई उचाइमा पुर्याउने उद्घोष गर्ने आँट नगरी राजनीतिक मिसनलाई मात्र प्राथमिकता दिएसम्म यसलाई सर्वसाधारणले लुटेरा संस्कारको निरन्तरता भनिरहने छन् । ताकि जनताले नेताहरूको दोहोरो चरित्र बुझिसकेका छन् । जसले जे भने पनि लोकतान्त्रिक गणतन्त्र आफैमा अब्बल तन्त्र हो । यसको विकल्प केही हुन सक्दैन । यसो भनिरहदा नेताले जे गर्दा नि चुप लागेर जनताहरुले सहनै पर्छ भन्ने होइन तर जनताको नजरमा शीर्ष नेताहरुनै चुकिसके उनीहरूको मनमा बास बस्न सकिरहेको छैनन् । अब यो दोष जनताको हो कि देशलाई पश्चगमनको बाटोतिर लम्काउने दलीय सिण्डिकेटे नेताको हो ? जनजनमा यो प्रश्नको उत्तर प्रष्ट छ । जनतामा निरासा छाउनु भनेको दलहरु चुक्नु हो । हिजो उठाएका मुद्दाहरु लावारिस हुनु हो । हुन पनि हो हिजो मुक्तिकामी जनताहरुले उठाएका जाती र जनजातिका जायज माग अहिलेसम्म सम्बोधन हुन नसकेकै कारणले गर्दा चौथो शक्तिको खोजिमा छन् ।
आखिर त्यो चौथो शक्ति अब को होला त ? मिसन – ०८४ मा आउने शक्ति को हो ? यही खोजीमा डुलिरहेका छन् हिजोआज, अदृश्य शक्तिहरु । अहिले अन्दाज गर्न सकिने अवस्था छैन । यदी दलहरु अबका दिनमा सच्चिएनन र अझैपनि भागबण्डामै सत्ताको झगडा गरेर नेपाली काङ्ग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरु गुटगत स्वार्थमा लागेभने अर्को शक्तिको उदय अब टाढा छैन । आजैबाट दिनगन्ती शुरु गर्ने बेला आयो ।
अब फोहोरी राजनीतिक खेल खेलेर ब्यबस्थालाई नै खराब बनाउने बयोबृद्द नेताहरुको प्रवृत्तिमा शुद्धीकरण हुन जरुरी छ । अबको लडाइँ भनेकै मिसन – ०८४ को निर्वाचनको गन्तब्य कता हुने हो ? सबलाइ अब चेतना भया ।

You may also like