लेख विचार/वहस

मृत्युको मार्ग बन्दै सडक र यातायातका साधन

पछिल्ला केही वर्ष यता सडक दुर्घटनाको तथ्यांक हर्ने हो भने दुर्घटनाको ग्राफ उकालो लागिरहेको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणकालागि अनेक प्रयास गरिरहे पनि दिनहुँजसो दुर्घटना भइरहेका छन् ।

राजमार्गमा पर्ने विभिन्न स्थानमा ट्राफिक प्रहरीले जाँच गरिरहँदा पनि यातायातका साधन चालकले क्षमता भन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा गुडाउने, ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यहरु गरिरहेका हुन्छन् । राजमार्गमै त्यो गतिले दुर्घटना हुँदा ग्रामिण सडक बाटोहरूमा कस्तो अवस्थाले यातायातका साधन चलाउछन् र कति दुर्घटना हुन्छ सजिलै अनुमान लाउन सकिन्छ । यातायात सञ्चालनको अनुमतिपत्र सम्बन्धी उल्लिखित व्यवस्थाको विगतमा प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण सडक दुर्घटना वृद्धि भएको अनुसन्धानहरूले पुष्टि गरेका छन् । नक्कली अनुमतिपत्र प्रयोग गरी साधन चलाउने, अरुको अनुमतिपत्रको प्रयोग गरी चलाउने, बिना अनुमतिपत्रको यातायातका साधन चलाउने जस्ता विकृतिको अभ्यासहरू बाक्लै हुने गरेका छन् । कतिपय व्यवसायीहरुले पुराना साधनलाई समेत रङरोगन गरी बजारमा ल्याइएको पाइन्छ । जसका कारण दुर्घटनाको जोखिम बढी हुन्छ ।

दुर्घटना भनेको कुनै पनि आकस्मिक, कल्पना भन्दा बाहिरको वा नसोचेको घटना हो । यस्लाई आकस्मिक घटना वा काबु बाहिरको घटना भनिए पनि दुर्घटना हुनुका कारणहरू थुप्रै रहेका छन् । प्रदेश तथा स्थानीय स्तरबाट कच्ची, ग्राभेल र कालोपत्रे सहित ६० हजार किलोमिटर भन्दा बढी सडक निर्माण भएको देखिन्छ । सडक सँगसँगै यातायातका साधनको संख्या पनि दिनदिनै बढिरहेको छ । जसमा पनि मोटरसाइकल र स्कूटर जस्ता दुई पांग्रे साधन बढी पर्दछन् । अहिले प्रत्येक घरमा मोटरसाइकल वा स्कुटर अनिवार्य जस्तै रहेको पाइन्छ । हाम्रो भौगालिक कठिनाईका बाबजूद पनि यतिका सडक निर्माण हुनु र अझै पनि सर्वसाधारणको सडक प्रतिको मोह उच्च हुनुले विकास भनेकै सडक हो भन्ने बुझाई छ । पर्याप्त प्राविधिक अध्ययन बिना जताततै सडक निर्माण गर्नु, पुलको निर्माण हुनु, निर्माण समयमा सम्पन्न तथा गुणस्तरीय नहुनु जस्ता समस्याहरू भने पुरानै रोग हुन् । खानेपानी , विद्युत, ढल लगायतका सेवाकालागि समेत सडकको क्षेत्र प्रयोग हुने र सेवाको समेत विस्तार कार्यले सडक भत्कने वा अवरुद्ध हुने समस्या नियमित जस्तै छ । मानवीय कारणले पनि धेरै दुर्घटना हुने गरको छ । जस्तै, मदिरा सेवन गर्नु, अत्याधिक थकानमा गाडी चलाउनु, चालकको मानसिक स्वास्थ्यमा समस्या, रिसाहा स्वभाव, उत्तेजक हुनु, मोबाइल चलाउनु र अनावश्यक कुराकानी गर्दै चलाउनु आदि जस्ता कारण छन् । यातायातका साधनका चालक वा सडकका कारणले मात्र नभई सडकमा हिड्ने यात्रुहरुको कमजोरीले पनि दुर्घटना निम्त्याएको हुन्छ । जस्तै, जथाभावी बाटो काट्नु, सडकैबाट हिँड्नु, मोबाइल चलाउदै हिँड्नु जस्ता अन्य कारणहरु रहेका छन् । यातायातका साधन नियमित चेक जाँच र मर्मत नगर्नु, बाटो सुहाउँदो यातायातको साधन नहुनु दुर्घटनाका कारक तत्व हुन् । साँच्चै भन्ने हो भने हाम्रो ‘मृत्युको मार्ग’ बन्दै गइरहेको छ यातायातका साधन र सडकहरू ।

सरकारी अधिकारी र राजनीतिक नेतृत्वको हठका कारण कतिपय ठाँउमा धेरै लगानी गर्दा पनि बाटोको अवस्था सुधार भएको छैन । सहरहरूमा ट्राफिक व्यवस्थापन गर्नकालागि सहरका सडकमा अनिवार्य सडक पेटी हुन आवश्यक छ । त्यसैगरी, ट्राफिक चिन्ह, जेब्राक्रसहरु, पार्किङको व्यवस्था, अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुकालागि प्रतिक्षालय, अपांगता भएका तथा अशक्तरुको लागि ह्विलचियर, हिँड्ने पेटी र ट्राफिकहरू हुन पर्दछ । सडक बनाउनमै रमाइलो मानिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुरक्षामा प्राथमिकतामा नराखेको देखिन्छ । सरकारले राजमार्गमा ट्राफिकको लाइन र यूट्रन बनाईदिनुको साथै ठाउँठाउँमा जनचेतना दिने होर्डिङ बोर्डहरू राख्न्नुपर्दछ । दुर्घटनापछि छानविन समिति बनाएर केही दिनको चर्चापछि विर्सने प्रवृत्ति छोडेर दुर्घटना न्यूनीकरणका लागि राजनीतिक स्तरबाट बलियो प्रतिबद्धता लिनु पर्ने पर्ने देखिन्छ । दुर्घटनाले मानवीय क्षति पुयाउनुकासाथै ठूलो आर्थिक क्षति समेत भइरहेको हुन्छ । यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका/उपनगरपालिका/नगरपालिका/गाउँपालिकाहरुले आपसी समन्वय गरी यातायात प्रणालीका सिद्धान्तअनुरूप ज्ञान, सीप र व्यवस्था व्यवहारमा उतार्न र साझा प्रयासहरूबाट समस्या सामाधान गर्न सकिन्छ । सडक सुधारकलागि भनि उठाइएका यातायात करको समेत सही रुपमा सदुपयोग गरी सडक मर्मतलाई समेत अगाडि बढाउनुपर्ने आवश्यक रहेको छ । दुर्घटनालाई शून्यमा पार्न नसकेपनि न्यूनीकरणको गर्न भने सकिन्छ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । दमक, झापा

Author

You may also like