:— नरेन रिजाल —:


नेपाली हिन्दु नारीहरुको महान चाड तीज परापुर्वकाल देखि चलिआएको पर्व हो भन्ने कुरा नबुझ्ने सायद कोही छैनन् । यसको इतिहास केलाउनु भन्दा पनि वर्तमान परिवेशमा तीज पर्व, नारीहरुको भगवान प्रति रहेको आस्था प्रतिष्ठाको केन्द्र मानिने पर्व किन परिवर्तन हुदैछ ? कता जाँदैछ ? भन्ने कुरा महत्वपुर्ण लाग्छ । विगतमा यो पर्व आफ्ना चेलीवेटी, आफन्त नाता गोतालाई आफ्ना माइती पक्षका मानिसले बोलाई मिठो मसिनो परिकार बनाई खुवाउने चलनलाई दर भनिन्थ्यो र भनिन्छ पनि । त्यसको भोली पल्ट व्रतको रूपमा निराहार बस्ने, पुजा गर्ने, मठमन्दिर जाने, रमाइला भजन, गीत (आफ्ना जीवनका सुख दुःखका) गाएर मनाइने चलन थियो।
वर्तमान समयमा तीजको नाममा महिनौ अगाडि देखि भड्किलो रूपमा विभिन्न कार्यक्रम गर्ने, टोल, सहकारी, पार्टी, संघ संस्था र अनेकों समुहको नाममा वनभोज जस्तो कार्यक्रम गर्ने चलन बढ्दो छ। तीजको नाममा खाद्य, अखाद्य बस्तुको प्रयोग झन धेरै बढ्दो छ। गरगहना र कपडाको होडबाजी नै छ । एउटा कार्यक्रममा लगाएको कपडा र गहना अर्को कार्यक्रममा जाँदा फेसन बदलिए झै लगाएर जान नहुने र नयाँ गहना र साडीको प्रयोग गर्नु पर्ने बेथिती नै बसेको छ भन्दा अत्युक्ति नहोला । खाद्य बस्तुको प्रयोग झन लाज मर्दो छ। सायद लोकतन्त्रले ल्याएको समानता र स्वतन्त्रता नै यही हो । जस्तो, आफ्नो घर नचिन्ने आफ्ना मान्यजन नचिन्ने गरी नशामा देख्दा हाम्रो परम्परा, संस्कृति मुल्य–मान्यता किन परिवर्तन हुँदैछ र कता जादैछ ? भन्ने लाग्छ ।
तीज आफैमा प्रत्यक्ष र परोक्षरूपमा पनि भन्ने हो भने माता पार्वतीको विवाहपुर्व र विवाहपश्चातको त्याग र प्रेमलाई शास्त्रिय मान्यता अनुरूप मान्यता दिएको पाइन्छ । यो आफैंमा पनि पवित्र र पति परायण–को शास्वत उदाहरण पनि हो । धर्म संस्कृति र मान्यतालाई नै एउटा कानुनको रुपमा लिने र मान्ने हो भने हिन्दू समाजमा तीजलाई छट्टै महत्व र सभ्य स्थाई सम्बन्ध स्थापित गर्ने चाडको रूपमा मानिँदै आएको हो विगत पुस्ताले । व्यहि परम्परा नयाँ पुस्तामा ठूलै परिवर्तन र आधुनिकता बोकेको देख्दा यसको स्वरूप र शैलीमा कुठाराघात हुने कुरा निश्चित देख्न सकिन्छ । आधुनिकताको नाममा खुल्ला र नग्नता तपाईं हामीले हरेक चोक र गल्लीहरुमा नदेखेको होइन । हामीमा घमण्ड बढेको छ । मपाइँत्व बढेको छ । प्राकृतिकलाई भन्दा कृतिमतालाई मान्यता दिइएको छ। तीज घरमा भन्दा होटल, पार्टी प्यालेसमा बढेको छ । तीज सात्विकतामा भन्दा रक्सी र मासुमा बढेको छ । नो ब्रत,. नो तीज । हंग्री एब्डोमिन, नो गेन । वाक्यांशहरू सुन्न थालिएको छ । धैर्यता खै ? संस्कृतिले बाटो बिराएकै हो ? पवित्रताको प्रतिक चुरा, पोते, सिंदूर, साडी–चोलोको सम्मान हराउदै गएको छ । ढुंगाको भर माटो र माटोको भर ढुंगा भने झैं पति पत्नि विचको विश्वास र सम्बन्ध गुम्दै गएको छ । स्वतन्त्रताको नाममा बोइफ्रेन्ड र गर्ल फ्रेन्डले जरा गाड्न थालेको छ। पाश्चात्य संस्कृतिको विकास बढ्दो छ । आफ्नो मौलिकता, कला साहित्य, रहनसहनको उपहाँस हुँदै गएको छ । ग्रामिण परिवेशबाट बसाई सराईको कारण फोस्रो नवआधुनिकता जन्मिएको छ । देशको राजनैतिक अस्थिरता, बेरोजगार आदीबाट युवावर्गमा पलायनवाद हाबी छ । घरको बुहार्तन सहन नसकेर शहरोन्मुख हुने र स्वतन्त्र बन्ने परीपाटीले हाम्रो समाज अस्थिर र अश्लिल बन्दै गएको छ । सायद, यसको परिणाम हुन सक्छ वर्तमान तीज ।
देखावटी र विलासिताले कसैलाई पनि सुखि बनाउन सक्दैन । घाँटी हेरेर हाड निल्नु भने झै आफ्नो आयस्रोत अनुसार चल्नु, अरुको नक्कल नगर्नु, मितव्ययी हुनु नै सुखि हुनु हो । त्यसैले आदरणिय आमा, दिदी, बैनि हो हाम्रो परम्परा देखिको तीज संस्कृतिलाई एउटा ऐतिहासिक पर्व नै मानेर, वास्तविक अर्थ बुझेर, सहि र सटिक तरिकाले मान्नु, नैतिक आचरणको पालना गर्नु, शिष्ट सभ्य तरिकाले आउँदा एक सन्ततिका लागि बचाएर राख्नु तपाई हाम्रो कर्तव्य हो । यसका लागि विगत पुस्ता र भावि पुस्ताको माध्यमको रूपमा वर्तमान पुस्ताले कार्य गर्न सके, हाम्रा सबै परम्परा, संस्कृति र तिनीहरूको महत्व आउँदा पुस्ताको लागि मार्ग दर्शन बन्न सक्छन् ।
झापा–दमक

Author

You may also like