मुख्य

सन् २०२३ पर्यटनका लागि उत्साहजनक, १० लाख बढी पर्यटक नेपाल भित्रिए

दमक, १६ पुस। नेपालका लागि सन् २०२३ पर्यटन प्रवद्र्धनका हिसावले उत्साहजनक रहेको छ । सो वर्षमा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

आइतबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पु¥याइने उल्लेख गरेको थियो । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर मात्र भित्रिएको संख्या हो यो । अन्यत्रबाट समेत सार्कदेशका पर्यटक प्रसस्तै भित्रिएका छन् ।

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

‘२०२३ को वर्ष पर्यटक आगमन उत्साहवद्र्धक रह्यो ।’ निर्देशक लामिछानेले भने ‘आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।’

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने अपेक्षा गरिएको बताए । एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी रहेको र २०८१ सालसम्म थप १५ बढी होटल थपिदै गरेको उनले जानकारी गराए । ‘सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।’– उनले थप सम्भावनाको पक्ष उल्लेख गरे ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर संख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ ।

सरकारले अर्को वर्ष विदेशी पर्यटकको संख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कोभिड–महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताए । उनले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको संख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने उल्लेख गरे । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइँदै गरेको पनि बताएका छन् ।

 सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । चालु आर्थि वर्ष २०८०÷८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ ।

भारतीय पर्यटकमा बृद्धि

सन् २०२३ मा भारतीय पर्यटकको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको संख्या यसवर्ष ९९ हजार नौ सय ८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार दुई सय ४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको संख्या सन् २०२३ मा ३६ हजार एक सय ९१ पुगेको छ । चिनियाँ पर्यटकको संख्या पनि बढ्दै गएको छ । यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ ।

     यस अवधिमा म्यानमारबाट १२ हजार छ सय ८८, श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार सात सय ९१ विदेशी पर्यटक भित्रिएका छन् ।

वर्षको अक्टोबरमा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको संख्या हालसम्मकै बढी हो ।

ठूलो खर्च भएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको उल्लेख छ । विमानलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने सरकारको योजनामा उल्लेख छ । साथै, निजगढ विमानस्थलको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको पनि जनाइएको छ ।

Author

You may also like