दमक । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्दै पहिलोपटक उपाधि उचालेको हो ।
सुदूरपश्चिमको ऐतिहासिक जितमा ओपनर जर्ज मुन्से नायक बने । उनले ६१ बलमा अविजित १२६ रनको विस्फोटक पारी खेल्दै टोलीलाई सहज जित दिलाए । उनको इनिङमा आठ चौका र १२ छक्का समावेश थिए । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाए । दुवैले पहिलो विकेटका लागि १५६ रनको अविजित साझेदारी गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३०, निरोसन डिक्वेलाले २८, डार्सी सर्टले २१ र अलि शेखले २४ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीलाई मध्यम योगफलमा रोक्न सुदूरपश्चिमका बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गरेका थिए । स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रत्नायके, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।
लक्ष्य पछ्याउने क्रममा मुन्सेले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई निरन्तर दबाबमा राखे । खेलको छैटौँ ओभरमा क्याच छुटेपछि उनले जीवनदान पाएका थिए । त्यसपछि झनै आक्रामक बनेका मुन्सेले मैदानका चारैतिर छक्का र चौकाको वर्षा गर्दै टोलीलाई उपाधिसम्म पुर्याए । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै जितलाई अझ यादगार बनाए ।
यो जितसँगै सुदूरपश्चिमले एनपीएलका अघिल्ला दुई संस्करणमा लगातार फाइनल पुगेर उपविजेतामै चित्त बुझाउनुपरेको इतिहाससमेत बदल्न सफल भएको छ । पहिलो संस्करणमा पाँच विकेट र दोस्रो संस्करणमा ६ विकेटले पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको हो ।
अर्कोतर्फ साविक विजेता लुम्बिनी लायन्स भने उपाधि रक्षा गर्न असफल भएको छ । यसपटक फाइनलसम्मको यात्रा तय गरे पनि सुदूरपश्चिमको सानदार प्रदर्शनसामु निरीह बनेको लुम्बिनी पहिलोपटक उपविजेतामा सीमित भएको छ ।
फाइनलमा १२६ रनको अविजित शतकीय इनिङ खेलेका मुन्से यस संस्करणमा शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि चितवन राइनोजका कमिल मसिरा र पोखरा एभेन्जर्सका युवराज सम्राले शतक बनाएका थिए । मुन्सेको प्रदर्शनले सुदूरपश्चिमलाई उपाधि मात्र दिलाएन, तेस्रो संस्करणको फाइनललाई एनपीएल इतिहासकै स्मरणीय खेलमध्ये एक बनाएको छ ।