देश–समाज मुख्य समाचार स्थानीय

कोशी प्रदेशमा साढे ४ अर्ब बढीको क्षति

विराटनगर/ भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले गएको असोज ११ देखि १२ गतेको वर्षाबाट प्रदेशमा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको जनाएको छ ।
आइतबार विराटनगरस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लाका सडक, पुल तथा झोलुङ्गे पुलका संरचनामा क्षति पुगेको जानकारी दिए ।
वर्षापछि गएको पहिरो र बाढीले पहाडी जिल्लाका सडक र पुल पुलेसामा बढी क्षति भएको जनाउँदै मन्त्री राईले कुल ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँको क्षति पुगेको जानकारी दिए ।
उनले भने, ‘विपद्ले कोशी प्रदेशलाई बढी क्षति पु¥याएको छ । विशेषगरी पहाडी क्षेत्रका सडक पुलमा असर परेको छ। प्रदेश सरकारले क्षति पुगेका स्थानमा तत्काल सेवा उपलब्ध गराउन काम अघि बढाउने र पूर्ण क्षति भएको स्थानमा आवश्यक छलफल गरी काम सुरु गर्ने तयारीमा रहेका छौँ ।’
मन्त्रालयका अनुसार वर्षाबाट करिब ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । मन्त्री राईले भने, ‘आंशिक क्षति १ अर्ब २ करोड ५० लाखको भएको छ। तर बढी चाहिँ ३ अर्ब ४३ करोड बराबरको संरचनामा भने पूर्णरुपमा क्षति पुगेको छ ।’
पहाडी क्षेत्रमा रहेका १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । त्यसैगरी वर्षाका कारण २ वटा सडक पुल र ८ वटा झोलुङ्गे पुलमा भने पूर्ण क्षति पुगेको छ ।
प्रदेशमा ४१ वटा सडकमा पूर्ण रुपमा क्षति पुगेको जनाउँदै उनले ६० वटा सडकमा आंशिक क्षति पुगेको उल्लेख गरे। खोटाङमा २३ वटा सडकमा आंशिक क्षति पुगेको जनाउँदै उनले ८ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

Author

You may also like