दमक । दमक नगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई निरन्तरता दिँदै लगेको छ । नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईको नेतृत्वमा सोमबार होटल व्यवसाय लक्षित अनुगमन कार्यक्रम राखिएको थियो । आम नगरबासी तथा पाहुनाहरु आएर खाने ठाउँ यस्ता होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनबाट केही सिल भएका छन भने केहीलाई चेतावनी दिइएको उपप्रमुख भट्टराईले बताईन । ईलाका प्र्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसद चापागाईं, ईलाका प्रहरी कार्यालय, उद्योग बाणीज्य संघ सहितको टोलीले गरेको अनुगमनबाट दमक–८ मा सञ्चालित पलेंटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझमा अखाद्य वस्तु भेटिए पनि रेष्टुरेन्ट सिल गरिएको उपप्रमुख भट्टराईले बताईन । सो अनुगमनबाट उक्त रेष्टुरेन्टको फ्रिजमा राखेको मासु कुहिएको, भान्साकोठा फोहर रहेको, खानेकुरामा अखाद्य रंग मिसाएको, मानव स्वास्थ्यलाई असर गर्ने चुक अमिलोको प्रयोग गरेको पाईएको थियो । कुहिएको मासु सहितका अखाद्य चिज पाईएपछि नगरउप प्रमुख भट्टराईको निर्देशनमा उक्त रेष्टुरेन्टमा सिल गरिएको हो ।
मानव स्वास्थ्यलाई असर गर्ने गरी होटल सञ्चालन गरेको पाईएकोले होटललाई तत्काल सिल गरी सञ्चालकलाई नगरपालीकामा सम्पर्क गर्न निर्देशन दिईएको नगर उप प्रमुख भट्टराईले बताईन । अब होटललाई जरिबाना तिराएर सञ्चालन गर्न दिने की पुरै बन्द गराउने भन्ने निर्णय कार्यपालिकाले गर्ने पनि भट्टराईले बताईन । नगरपालीकाले निरन्तर बजार अनुगमन गरिरहेको भन्दै उनले नियम विपरित काम गरी मानव स्वास्थ्यमा खेलबाड गर्ने कसैलाई छुट नदिने चेतावनी समेत दिईन् ।
त्यसैगरी अनुगमन टोलीले दमक ५ मा रहेको होटल स्वर्गलोक, थकाली किचन र होटल कामाक्षाको समेत अनुगमन गरेको छ । होटल स्वर्गलोकमा अखाद्य रंग मिसावट गर्ने गरेको पाईएकोले पहिलो पटक चेतावनी दिईएको थियो भने थकाली किचन र होटल कामाक्षा मापदण्ड अनुसारनै सञ्चालन गरेको पाईएको अनुगमनमा खटिनु भएका ईलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले बताए ।