दमक । साहित्यकार तथा उपन्यासकार दुर्गा खनाल काफ्लेको उपन्यास ‘अनुराग र वियोग’ दमकमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । साहित्य कला सङ्गम दमक, झापाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण गरिएको हो ।
साहित्य कला सङ्गमकी उपाध्यक्षसमेत रहेकी काफ्लेको कृति लोकार्पण कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारी विशिष्ट अतिथि थिए । संस्थाका अध्यक्ष बिन्दु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार शिव रेग्मी प्रणत र भीम दाहालले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा साहित्यकार तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिले कृतिको सफलताको शुभकामना दिएका थिए । कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु बिरही, ऊर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डिपी शर्मा, प्रगतिवादी समालोचक प्रा. डा. बद्रीविलास पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ र डा. गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार हेम अधिकारी, दमक क्याम्पसका पूर्वक्याम्पस प्रमुख एवं साहित्य कला सङ्गमका सल्लाहकार डा. उत्तम भट्टराई, सल्लाहकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, मिक्लाचोङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरे, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी तथा नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलीप घिमिरेलगायतको उपस्थिति थियो ।
सो अवसरमा डा. खगेन्द्रप्रसाद दाहाल, मीना अधिकारी, चिरञ्जीवी काफ्ले, विवश बलिभद्र कोइराला र रोशन यात्रीलगायतले रचना वाचन गरेका थिए । सुरसुधा संगीत विद्यालयका तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गडतौलाको टोलीले स्वागत गीत तथा सांगीतिक प्रस्तुति दिएको थियो ।
साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी ‘झाँक्रीखोले’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम र तेह्रथुमलगायत जिल्लाका करिब तीन सय साहित्यकार तथा स्रष्टाको सहभागिता रहेको आयोजकले जनाएको छ ।