:– गोपाल झापाली –:
दमक/ काठमाडौका विभिन्न सुकुमबासी बस्ति डोजर लगाएर खालि गरिए पछि दमकका सुकुमबासी बस्तिमा त्रास फैलिएको छ ।
सार्वजनिक जमिनमा रहेका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियान सुरु भएसँगै झापाको दमक क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुमबासीहरु त्रसित भएका हुन् । वर्षौंदेखि एउटै स्थानमा बसोबास गर्दै आएका परिवारहरू अचानक विस्थापित हुनुपर्ने सम्भावनाले उनीहरू मानसिक तनावमा परेका छन् । दमकका विभिन्न सुकुमबासी बस्तीमा पछिल्लो समय डोजर चल्ने हल्ला तीव्र भएपछि स्थानीयवासीहरू चिन्तित बनेका हुन्। उनीहरूका अनुसार कुनै स्पष्ट वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने तयारी गरिएको खबरले दैनिक जीवनमै असर पार्न थालेको छ । वर्षौंदेखि दुःख गरेर बनाएको छाप्रो र टहरो भत्काइदिएपछि कहाँ जाने ? भनेर उनीहरु आँफैलाई प्रश्न गरि रहेका छन् ।
दमक–७ की बसन्ती मल्लिकले भनिन् ‘आफ्नै मेहनतले काँसघारी फाँडेर सानो छाप्रो बनायौं । अहिले त्यही ठाउँबाट पनि हट्नुपरु¥यो भने हामी कहाँ जाने भन्ने कुनै उपाय छैन ।’ यस भन्दा अघि पनि सो बस्ति हटाउने हल्ला सुन्दा आत्तेस हुने गरेको उनले बताईन् । धेरैजसो परिवार दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने भएकाले बसोबास भई रहेको ठाउँबाट विस्थापन हुँदा रोजगारी, बालबालिकाको पढाइ र आधारभूत जीवनयापनमै संकट पर्ने उनको चिन्ता छ ।
सोहि बस्तिकी मालती मल्लिक पनि बसेको ठाउँबाट उठ्नु प¥यो भने कहाँ जाने, के गर्ने केहि भन्न नसक्ने बताउँछिन् । सरसफाइ मजदुरी गर्दै आएकी उनी भन्छिन्, ‘बसिरहेको ठाउँबाट सरकारले खेदाउने भयो भन्ने सुनिँदा सबैभन्दा बढी चिन्ता बुढाबुढी, साना केटाकेटी र बिरामीहरूको हेर्दा लाग्छ । उनीहरूलाई कहाँ लगेर राख्ने, कसरी हेरचाह गर्ने भन्ने केही थाहा छैन ।’ दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार अचानक हटाउँदा काम, उपचार र बालबालिकाको भविष्यसमेत अनिश्चित हुने उनी बताउँछिन् । ‘दिनभरि काम गरेर बेलुका छाप्रोमा फर्किने गरेका छौं, यदि त्यो पनि खोसियो भने हामी कहाँ जाने ?’ उनले चिन्ता व्यक्त गरिन् ।
मालती जस्तै धेरै परिवार अहिले सम्भावित हटाइको डरले मानसिक तनावमा छन् । वैकल्पिक बसोबासको कुनै स्पष्ट योजना नहुँदा उनीहरूको पीडा झन् बढेको छ । स्थानीयवासीहरूले बस्ती हटाउनु अघि उचित पुनस्र्थापना, सुरक्षित आवास र आधारभूत सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
त्रास जतिनै मौनता
दमकका भुमिहिन बस्तिमा त्रास मात्र फैलिएको छैन । उनीहरुमा मौनता पनि छाएको छ । दमक वडा नं. १ र ७ का अव्यवस्थित बसोबासी तथा भुमिहिनहरुको बस्तिमा पुग्दा उनीहरु धेरै जसो बोल्न पनि चाहेनन् ।
लाईनै रहेका छाप्राहरुको बस्ति । केहि बालबालिका सडकमानै खेलि रहेका, केहि ज्येष्ठ नागरिक झुरुप्प बसेर गन्थन गरि रहेका । तर नयाँ मान्छे पुग्न साथ उनीहरुले शंका मानेर निक्कै बेर हेरि रहे । बाटोको छेवैमा बसेका केहिलाई परिचय दिए पनि ‘भो यस बारेमा कुरा नगरौं’ भनेर मुन्टो बटारे । दमक १ को बस्तिका गणेश राई पनि धेरै बोल्ने पक्षमा थिएनन् । उनले भने, ‘खै बेला बेला त भिडीयोहरु देख्दैछु, सवै तिर खेद्दै छ अरे तर मलाई भन्दा पनि अरुलाई अलिक बढि थाह छ, उतै सोध्नुन ।’ आफुहरुसँग बसोबासको निस्सा रहेकाले डोजर त लाई हाल्दैन कि भन्ने पनि लागेको रहेछ उनलाई । कतै जान हतारिएको बताउँदै उनले प्रश्न गरे, ‘हामी सँग त निस्सा छ, यस्तो भकालाई पनि हटाउला र ?’
सोहि बस्तिमा घर धन्दामा रहेकी एक महिला भने यस विषयमा बोल्न चाहिनन् । ‘खै के भन्नु र, अब जे होला, त्यहि होला नि’ उनले भनिन् ‘मलाई त केहि थाह छैन है यस बारेमा ।’ दमकका यि बस्तिहरुमा मात्र नभई विभिन्न वडामा रहेका भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको बस्तिमा यस्तै प्रकारको त्रास देखिन्छ । वर्षौ दुःख गरेर कमाएको पैसाले बनाएको छाप्रो पनि सरकारले भत्कायो भने कहाँ जाने होला भनेर उनीहरु त्रसित देखिएका छन् ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस बारेमा दिएको धारणाले भने कतिपय आशावादी पनि देखिएका छन् । प्रशासनबाट अतिक्रमित क्षेत्रको बस्ति हटाउन गरिएको पत्राचार प्रति उनी असन्तुष्ट बनेका छन् । स्थानीय सरकार प्रशासनको निर्देशन मान्ने ईकाई वा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी नभई स्वायत्त जनप्रतिनिधी मूलक स्थानीय सरकार भएको उनले बताउँदै आएका छन् ।