दमक, ०१ चैत्र । बजारमा पाइने खाद्य सामग्रीमा विषादीको प्रयोग बढ्दै गइरहेका बेला प्राकृतिक रूपमा उपलब्ध खान्की स्वास्थ्यका लागि लाभदायक हुने ‘भान्सा तथा खान्कीमा सुधार’ अभियन्ताहरुले बताएका छन् ।
बुधबार दमक नगरपालिकामा आयोजित ‘भान्सा तथा खान्कीमा सुधार’ विषयक अन्तरक्रियामा बक्ताहरुले स्वस्थ खाना अहिलेको आवश्यकता भएको बताएका हुन् । दमकस्थित अरनिको सामुदायिक प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रियामा बजारमा पाइने खानेकुरा, जो हाम्रो स्वास्थ्यका लागि निकै हानीकारक हुँदै गएकाले खानपानमा विशेष ध्यान नदिँदा रोगको सिकार हुनेको संख्या बढ्दै गएकोमा बक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रमका मुख्य बक्ता साईकुमार शर्मा मास्टर सेफले मानिसले खानेकुरालाई चिन्न र खाने तरिका नजानेर दीर्घकालिन रोगसँग सामना गर्नुपरिरहेको विचार ब्यक्त गरे । उनले स्वस्थकर खाना कसरत, आवश्यक निद्रा, शारीरिक आरामको अभावले धेरैले यस्ता समस्या झेल्दै आउनुपरेको बताए । उनले भने– ‘मासु भन्दैमा राम्रो नपाकेको, छालासहितको र सन्तुलन नमिलाई खानु रोगको सिकार हुनु हो । त्यस्तै विहान उठ्ने वित्तिकै खाली पेटमा दूध हालेको चिया पनि हानिकारक छ ।’
कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिका कार्यबाहक नगरप्रमुख रेगिना भट्टराई प्रसाईंले प्राकृतिक रूपमा उपलब्ध केही खान्की स्वास्थ्यका लागि निकै लाभदायक भएपनि तिनका फाइदाबारे हामीलाई जानकारी नहुँदा विभिन्न रोगको सामना गर्नु परिरहेको बताइन् । खासगरी खानाका कारण लाग्ने शारीरिक रोग मध्ये अनावश्यक मोटोपन, दीर्घरोगहरु र क्यान्सर जस्ता समस्याले अधिकांशलाई सताउने गरेको बताइन् । उनले स्वास्थ्य सुधार गर्न अर्गानिक र स्थानीय उत्पादनलाई जोड दिनुपर्ने भन्दै वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरु जस्तैः हरियो सागसब्जी, फलफूल र रेसादार खानेकुराहरु प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले भनिन् – ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नु अगाडि नै सावधानी अपनाउनु राम्रो हुन्छ । अर्गानिक र विषादीरहित खानेकुरालाई जति प्राथमिकतामा राखेर खान सकिन्छ, त्यति नै लाभकारी हुन्छ । ’ उनले भनिन् ।
कार्यक्रममा होटल ब्यवसायी संघ कोशी प्रदेशसका अध्यक्ष राजन दंगालले पछिल्लो समय नेपाली खाना र स्थानीय उत्पादनका परिकार विदेशी पर्यटकले पनि रुचाउन थालेकाले स्थानीय उत्पादनका खाद्यहरु कोदो, फापर, सुठो, गुन्द्रुक, टिमुर लगायतका परिकारमा जोड दिनुपर्ने बताए ।
अरनिको सामुदायिक प्रतिष्ठानका अध्यक्ष तारामणि थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रतिष्ठानका सचिव विष्णु पोखरेलले सहजिकरण गरेका थिए । कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी सहित स्थानीयको उपस्थिती रहेको थियो ।