लेख विचार/वहस

लाजनीति भित्रका अपरिपक्व गठबन्धन

बिगतदेखि बर्तमानसम्मको नेपाली राजनीति फर्केर हेर्दा सबै अमेल देखिन्छ । कतैपनि राम्रो महान नेपाली जनताले कतैपनि राम्रो आभास पाउन पाएका छैनन् । सबै दलहरुलाइ मिलाउ, खाउ अनि मोज गर भन्ने मात्र देखियो अहिलेसम्म । हुन पनि हाम्रा नेताहरुले यथार्थमा यसरी नै देश दोहन गरेको देखिन्छ । नेपालमा गरिब जनतालाई आर्थिक संकट छ भन्ने आभास कोही कसैलाई छैन । नेपालको राजनीतिमा देखिएको यो अवस्थाको मार्ग चित्र हेर्नैपर्दा सबैभन्दा ठूला दलहरु नेपाली कांग्रेस , एमाले र माओवादीले यसको जिम्मा लिनैपर्छ । किनकि उनीहरू नै यो अवस्था ल्याउने राजनीतिमा जाल हानेर माछा पक्रने दल हुन् । जसले साना दलहरुलाई राजनीति सट्टेबाजीकालागि च्याँखे थापेर गठबन्धनको डोरी बाट्दैछन र सबैलाई बेर्दैछन् । आखिर गठबन्धन के का लागि र किन ? कोहीसंग छ यसको सवाल जवाफ ? छ भने अब जनता सामु दिन सक्नुपर्छ ।

मिसन – ०८४ को निर्वाचनको पर्खाइमा छैनन् अब । जनता आफै आजित भएको अवस्था विद्यमान छ, किनकि जनताले हिजो र आज बनेको गठबन्धन हो कि ठगबन्धनको सरकार हो सबै हेरिसकेका छन् । अब सायद यो अहिले बनेको नयाँ गठबन्धनको सरकार अन्तिम होला जस्तो प्रतित जनआवाजमा आएको छ । यी आवाज सुन्ने, बुझ्ने र लेख्ने यो कलमीले ऊनीहरुको आवाज लेखाइमा आओस् भन्ने जनगुनासो भएकोले यसै सन्दर्भलाई आज म उठान गर्दैछु । यसलाई सकारात्मक नजरले हेरिदिनु होला । लेख्दै गर्दा कतै गलत भएमा क्षमा माग्दछु ।

अब प्रसंगमा केन्द्रित होऔं । पुरानो गठबन्धन ब्रेक भएर नयाँ गठबन्धनको सरकारको बिषयवस्तु उठान गर्ने जमर्को गरेको छु । हाम्रो देश नेपालमा अहिलेसम्म बनेका सरकारहरु पाँच वर्ष टिक्न नसकेको देखिन्छ । पाँच वर्षको सरकार न नेपालीका लागि विपना बन्न सक्यो सक्यो, मात्र सपना मात्रै बनिरह्यो । शासन नै व्यवस्थित नभएको बेला सरकार चलाउने कुरामा होडबाजी चल्न थाल्यो, सरुवा, बढुवा, पदोन्नति अनि सरकारको प्रमुख मन्त्रालय आफूले पाउने हैकमवादी सोचले ग्रस्त बनेका हाम्रा शीर्ष नेता बिफल बन्न पुगे । नयाँ जोश, जाँगर बोकेका युवा नेतृत्व त झनै उग्र भाषाणमा केन्द्रित रहे । आज युवाहरुको बोलाइ र ठम्याइमा एकीकृत हुन नसकेका कारण नेपाली राजनीति सतहमा हिड्न भने सकेकै छैन । गत केही महिना अघि सम्पन्न कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन नगर्नै प्रस्ताव पेस गरे, जुन अनुमोदन पनि भयो । तर यो एजेण्डाले हिजो गठबन्धन दलको सत्ता साझेदार दल माओवादी केन्द्रका नेताहरुलाई अपाच्य भयो । हुन पनि हो, हिजो आफूले प्राप्त गरेको सिटको घमण्डीपनाले अन्ततः राजनीतिमा उथलपुथल ल्याइ छाड्यो यो कुरा गगन थापा र उनी निकट आलाकाँचा सभासदहरुले बुझ्न सकेनन् । अर्कोतिर गठबन्धन नटुटोस् भनेर सर्वव्यापक एकता हुनैपर्छ भनेर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हिजोसम्म साथ दिएकै थिए । अन्ततः गगन थापा इतरका नेताहरुका कारणले प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग नयाँ गठबन्धनको तालाचावी लिएर उनीहरूकै नेतृत्वमा सरकार गठन गरेरै छाडे । यतिहुँदासम्म देउवाले प्रचण्डलाई आश्वास्त पार्न खोजेकै हुन् हिजो, तर सकेनन् । तत्पश्चात माओवादी र एमालेसहितको नयाँ गठबन्धनको सरकार अहिले विद्यमान छ । माओवादी, कांग्रेस वा एमालेको बैशाखीबिना अब एक पाइला पनि चल्न सक्ने अवस्था छैन । यसमा राजनीतिक चातुर्यता छवि भएको नेतामा प्रचण्डलाई मान्न सकिन्छ । नयाँ राजनीतिक ‘प्ले कार्ड’ बाहिर फ्याँक्दा उनैको जीत भएरै छाड्यो भने उता शेरबहादुर देउवा भने हेरेको हेर्यै भए । उनलाई उनैका महामन्त्रीहरुको लबिङ्गले पुरानो गठबन्धन अन्ततः तोडियो । तोडिएसंगै अहिले माओवादी, एमाले, रास्वपा लगायत अन्य दलका पार्टीहरुको नेतृत्वमा सरकार गठन भएको छ भने बाहिरी अवलोकन र सत्ताको खरो आलोचनात्मक टीकाटिप्पणी नेपाली कांग्रेसले सदनभित्र र बाहिर गरिरहेको छ ।

राजनीतिमा आलोचना गर्नु स्वभाविक हो तर हिजो सत्ताको भागबण्डा र राजनीति तालमेलमा सरकार चलाउदा के – के काम गरियो ? के – के काम हुन सकेनन् त्यो समीक्षा नेपाली कांग्रेसले गर्नुपर्ने हो, त्यो भने गर्नै सकेन । आफ्नो पार्टी सरकारमा रहँदासम्म अनेकन काण्डमा मुछिएका आफ्ना पुराना मन्त्रीहरूलाई पार्टीबाटै निलम्बन गर्नुपर्ने हो त्योपनि गर्न सकेन । हिजो सहमति र सहकार्यका साथ अघि बढेका सहपाठी दल माओवादीलाई किन ब्रेक फेल गराउन उद्दत हुनु ? बेलैमा सत्बुद्धि देउवाको आएपनि युवा नेताहरुको माओवादीलाइ हेर्ने यथार्थ दृष्टिकोणमा परिवर्तन हुन सकेन । जतिखेर जहाँ पायो त्यही माओवादीको आलोचना गरेर ‘३२’ सिटेको उपाधि दिएर उसैलाई उछित्तो काढेकै कारणले सहकार्य भएको दल माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछानेसंग नयाँ गठबन्धन गरेर सरकार अहिले चलाइरहेका छन् । सरकार चलाएसंगै यतिबेला माओवादीलाई कसरी ब्रेक गराउँ भन्ने सोचमा नेपाली कांग्रेसको एकथरी र एमालेको एक थरी युवा नेताहरू चलखल गरिरहेका छन् । यो चलखेल र षड्यन्त्रले गर्दा नेपालको राजनीतिलाई गिद्दे दृष्टिकोण लगाउने बिदेशी ‘रअ’ का एजेण्टहरु सक्रिय देखिएको दृश्य परिदृश्यहरु हिजोआज मिडियामा बग्रेल्ती आइरहेका छन् । यो आउनु नेपाली जनताको लागि घातक छ । शान्तिको देश नेपालमा बिदेशी राष्ट्रले सुक्ष्म तरिकाले अवलोकन गर्नु राम्रो होइन यो कुरा बुझेर पनि नबुझेझंै गर्नु नेपाली जनतालाई सन्त्रासै – सन्त्रासमा जीवन बिताउनु सो सरह हो । यति बुझिरहँदासम्म नेपाली भूमिमा नौटङ्की देखाउन हाम्रो नेताहरुलाई रत्तिभर पनि लाज नभएको देखिन्छ । जनताहरुलाई पटकपटक धोका दिएर पनि फेरि अर्को संकट ल्याउन उद्दत रहनु नेताहरूकालागि हितकर होला । तर जनताहरुकालागि सबैभन्दा बढी धोका हो । सत्ता गठबन्धनलाई नयाँ र सुदृढ स्वरुप दिन ठूला कम्युनिष्ट पार्टीहरु एक ढिक्का हुने, क्रमिक रूपमा अरुलाई पनि समावेश गर्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र ओलीबीच सहमति जब हिजो भयो, तब प्रतिक्रियावादी राज्यसत्ताका मालिकहरु अब चलखेल गर्न थाले । यसमा अदृश्य शक्ति सरकार भित्रकै एक हिस्सा छ जो बाहिर देखिन चाहँदैन । भित्रभत्रै भारतीय र अमेरिकी नेताहरुसंग नेपालको राजनीति बारेमा भ्रम फैलाउछ, नेपाली भूमिमा राजनीति गर्छ, हो आज तिनैले गर्दा लामो समयसम्म कुनैपनि पार्टीले एकलौटी सरकार चलाउन सकेन । प्रत्येक पार्टीभित्र गुटबन्दी सञ्चालन भयो । यो कुरा शीर्ष नेताहरुले थाहा पाएपनि बाहिर ल्याएनन, बरु संसद खरिद – बिक्री गर्नतर्फ उद्दत भए ।

अहिले समीकरणमा बनेको सरकार निकै कमजोर छ । सरकार तरबारको धारमा छ । अब सरकारले विश्वासको मत लिनेबेलासम्म अंकगणित कुन रूपमा रहन्छ , अहिले भन्न सक्ने अवस्था छैन । अहिलेपनि एकथरी एमाले र नेपाली कांग्रेसभित्र माओवादीको पुरानो विरासत व्यूँझाउन उद्दत छन् । उनीहरू फेरिपनि जनयुद्धमा फर्काउने तीता भाषण गरिरहेका छन् । माओवादी पार्टी यो हो त्यो हो उसंग समीकरण किन गर्ने र औचित्य के हो ? भन्ने सम्मका पूर्वग्रही संकीर्ण सोच बोकेकाहरु यी दुई पार्टीमा छन् । यो हुनु भनेको अर्को दुर्घटना निम्त्याउनु हो । देशले हिजोदेखि आजसम्म कस्तो सकस भोग्नुपर्यो कसका कारणले हो ? राजावादीले हो त ? कि भारत र अमेरिकाले हो ? यो प्रश्नको सही जवाफ दिन कुनै नेता कुनै दलमै छैन । सबैलाई भागबण्डा, सरकार ढाल्ने, गठबन्धन गरेर नयाँ सरकार बनाउने । हिजो गन्हाएकालाई मन्त्री बनाउने खेलले गर्दा आजपनि नेपाली राजनीति दुर्घन्धित बन्न पुग्यो । यो चिन्ता कार्यकर्तामा छ, नेताहरुमा पटक्कै छैन । यसका निम्ति पनि प्रचण्ड नेतृत्वको सरकार आगामी मिसन – ०८४ माझ अझै ससक्त बन्न सकोस् । फेरि अर्को अदलबदल नयाँ सरकार नबनोस् । सकिन्छ भने सहमति र सहकार्य गरेर नेपाली कांग्रेस पार्टीलाई पनि सरकारमा ल्याउन सबै दलहरु जुट्न सकुन् । राजनीतिभित्रका अपरिपक्व पुराना तथा नयाँ हिजो बनेका गठबन्धनबाट बन्ने अस्थिर सरकार अन्त्य भएर परिपक्व र स्थिर सरकार बनोस् । यसैकाममा हामीले पनि बल पुर्यायौं । सबलाई चेतना भया ।

Author

You may also like